रत्ननगर । विद्यालयबाहिर रहेका बालबालिका र किशोर किशोरीहरुलाई लक्षित गरी रत्ननगरमा खैल्दै सिक्ने केन्द्र र घुम्ती सिकाइ थलो कार्यक्रम सञ्चालन गरिने भएको छ । समुन्नत नेपाल नामक संस्थाले रत्ननगर नगरपालिका र युनिसेफ नेपालसँगको सहकार्यमा सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।
विद्यालयबाहिर रहेका बालबालिका र किशोर किशोरीलाई शिक्षाको पहुँचमा ल्याउन सो कार्यक्रम रत्ननगरमा सुरू गर्न लागिएको समुन्नत नेपालका वरिष्ठ प्रशिक्षक युवराज लौडारीले जानकारी दिनुभयो । कार्यक्रमको विषयमा सोमबार रत्ननगर नगरपालिकामा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।
४ दशमलव ७ प्रतिशत बालबालिका विद्यालयबाहिर र ४४ प्रतिशत किशोरीहरु विद्यालय गएर बीचैमा छाड्ने गरेका छन् । उनीहरुलाई शिक्षासँगै अवसर प्रदान गर्न केन्द्र सञ्चालनमा ल्याउन लागेको लौडारीले बताउनुभयो ।
रत्ननगरमा ४÷४ वटा केन्द्र र घुम्ती सिकाइ थलो संचालन गरिने उनले बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले बालश्रम न्यूनीकरणको काम चासोको विषय बनेकाले नयाँ कार्यक्रमले थप टेवा पुग्ने बताउनुभयो ।
नगरका राजनीतिक दलका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको कार्यक्रम रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
Discussion about this post