रत्ननगर । गैंडा मुद्दामा जेल जीवन विताएर मुक्त भएका चितवनका चेपाङ समुदायको आयआर्जनको लागि आइतवार बोयर जातको बोका वितरण गरिएको छ । जेलमुक्त भएका चेपाङ र तामाङ समुदायका व्यक्ति र तीनका परिवारलाई आयआर्जन र संरक्षणमा लगाउने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाले बोयर जातको बोका वितरण गरेको हो ।
राप्ती नगरपालिका वडा नं १० स्वामीटारका ४५ घरधुरीलाई लक्षित गरेर एउटा, सोही वडाको कालिखोलाका १८ घरधुरीलाई लक्षित गरेर अर्को र कालिका ११ सैपामको ४० घरधुरीलाई लक्षित गरी एउटा गरी तीन वटा बोको वितरण गरिएको कोषका रेन्जर ऋषिराम सुवेदीले जानकारी दिए ।
आयआर्जनका लागि गरिएको बाख्रापालनलाई अझ प्रभावकारी बनाएर आम्दानीको श्रोत बढाउन लमजुङबाट बोयर जोतको बोका ल्याएर प्रदान गरिएको सुवेदीले बताए । राप्तीको कालिका सामुदायिक वनमा आयोजित कार्यक्रममा कोषका रेन्जर सुवेदी, वनका अध्यक्ष माधव गिरी र कार्यपालिका सदस्य होमबहादुर विश्वकर्माले बोका हस्तान्तरण गरेका थिए । कोषले कालिका सामुदायिक वनसंगको सहकार्यमा जेलमुक्त भएका चेपाङ र तामाङहरुलाई आयआर्जनको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसअघि जेलमुक्त भएका ८५ जना युवायुवतीलाई राहात वितरण तथा संरक्षणमा लाग्न अभिप्रेरित गर्न अन्तक्र्रिया कार्यक्रम गरिएको थियो ।
Discussion about this post