माडी । बाढीले बगाएर माडीमा एक जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढीले बगाएर माडीको बगौडा–८ ब्रह्मपुरीकी ६० वर्षीया इशारा विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । प्रहरीका अनुसार विकलाई दिउँसो बाँदरमुढे खोला तर्ने क्रममा एक्कासि बढेको बाढीले बगाएको थियो ।
माडीमा अहिले पनि वर्षा र बाढीको प्रकोप जारी नै रहेको स्थानीयले जनाएका छन् । स्थानीयवासी त्रासमा छन् । बाढीले विभिन्न गाउँ डुबानमा पारेको थियो भने दर्जनाँै घर भत्काएको थियो ।
माडीमा गएको भीषण बाढीका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न थालिएको छ । शनिबार बिहान माडीका विभिन्न गाउँ बाढीका कारण डुबानमा परेका थिए । बाढी केही घटेकाले बिहानदेखि क्षतिको विवरण सङ्कलन गर्न जिल्लाबाट विपद् व्यवस्थापनको टोली माडी पुगी काम थालेको जिल्ला विकास समितिका स्रोतव्यक्ति बलराम लुइँटेलले बताउनुभयो ।
बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न गएको जिल्ला विपद् व्यवस्थापनको टोलीले पनि वर्षाका कारण क्षतिको विवरण संकलन गर्न गाह्रो भएको जनाएको छ । पानी पर्न सुरू भएकाले समस्या उत्पन्न भएको विवरण सङ्कलनमा जुटेका विपद् व्यवस्थापन टोलीले जनाएको छ । पानी पर्न थालेपछि बाढी आउने त्रासमा डुबानग्रस्त क्षेत्रका स्थानीय भयभित बनेका छन् ।
माडीको रिउ नदीको बाढी अमिलिया र गर्दी क्षेत्रका बस्तीमा पस्दा अमिलियाका स्थानीय विस्थापित भएका लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार माडीका विभिन्न क्षेत्रका क्षतिको प्रारम्भिक अनुमानमा करिब ३०० घर बाढीले प्रभावित भएको छ ।
भर्खरै निर्माण भएका पक्की सडकसमेत बाढीले क्षति पु¥याएकाले आवतजावतमा कठिनाइ उत्पन्न भएको स्थानीय कृष्ण अधिकारीले बताउनुभयो ।
त्यस्तै मगुई, घाँघर, पतरेलगायतका स्थानीय खोलाबाट बाढी बस्ती छिर्दा दर्जनौँ घर डुबानमा परेको छ । मगुई खोलामा आएको बाढीले नजिकै रहेका पौहारी, सिधुवा, पिपरिया गाउँसमेत डुबानमा परेको गर्दीका गाविस सचिव नगेन्द्र सुवेदीले बताउनुभयो ।
बाढीबाट प्रभावित स्थानीयसँग जिल्लाबाट गएको टोलीले विवरण सङ्कलन गरेपछि राहत तथा थप उद्धार कार्यको प्रक्रिया सुरू हुने उहाँले जानकारी दिनुभयो । केही दिनयताको निरन्तर वर्षाका कारण बाढी माडीका गाउँ छिरेको अनुमान स्थानीयले गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले माडीलाई बाढीको उच्च जोखिम क्षेत्रमा राखेको छ । निकुञ्जले घेरिएको माडीमा चार गाविस छन् ।
Discussion about this post