भरतपुर । बालन्याय प्रणालीमा सरोकारवालाको भूमिका विषयमा आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकालाई अपराधीका रुपमा चित्रण गर्ननहुने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश विनोदमोहन आचार्यले बालबालिकालाई दिइने न्याय प्रणालीमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै उनीहरुलाई दिइने कानुनी उपचार सर्वहित हुने खालको हुनुपर्ने धारणा राख्नुभयो ।
बाल न्यायसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई अबलम्बन गरी सरल तरिकाले न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो । त्यस्तै अर्का न्यायाधीश अनन्तराज डुम्रेले बालबालिकालाई अपराधीको कोटामा राख्न नहुने धारणा राख्नुभयो । उनीहरुलाई सुधारको अवसर दिनु नै न्याय गरेसरह हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बालबालिका भनेका देशका कर्णधार भएकाले कानुनी रुपमा उनीहरुको बचावट गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा चितवन जिल्ला अदालतका श्रेष्तेदार विद्याराज पौडेलले बाल न्याय प्रशासन र यसका चुनौतीहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
व्यवस्थापनमा कमी, दक्ष जनशक्तिको अभाव, सुधार संस्थाहरुको अभाव र स्पष्ट कानुनको अभावले गर्दा बाल न्याय प्रशासन चुनौतीपूर्ण रहेको पौडेलले बताउनुभयो । सो अवसरमा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post