धादिङ । १६ देखि ६० वर्ष उमेर समूहभित्रका सबै व्यक्ति साक्षर भएको भन्दै धादिङ जिल्लालाई देशकै चौथो पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षामन्त्री चित्रलेखा यादवले मन्त्रालयको आफ्नै कार्यकक्षबाट स्काइपमा भिडियो कलमार्फत सम्बोधन गर्दै धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।
नेपाल सरकारले सन २००२ मा सबैका लागि शिक्षा कार्यक्रममार्फत सन २०१५ भित्रमा मुलुकलाई पूर्ण साक्षर बनाउने अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता जनाएका कारण देशभरी साक्षर अभियान सञ्चालन गरी अहिलेको उपलव्धि प्राप्त हुन सकेको मन्त्री यादवले बताउनुभयो ।
सन् २०१५ सम्म नेपाललाई साक्षर बनाउने सरकारी लक्ष्यलाई सहयोग गर्न धादिङ जिल्लालाई साक्षर जिल्लाको रुपमा घोषणा गर्न सकिएको मन्त्री यादवको भनाइ थियो । जिल्लालाई साक्षर घोषणा गर्नुअघि नीकलण्ठ नगरपालिकासहित ४६ गाविसमा साक्षरता कक्षा सञ्चालन गरि ती सबैलाई साक्षर घोषणा गरिएको थियो ।
साक्षर नेपाल अभियानअन्तर्गत यो वर्ष धादिङ जिल्लामा करिब ४४ हजार निरक्षरलाई साक्षर बनाइएको भएपनि अझै केही निरक्षर रहेको हुन सक्ने भएकाले अबको दिनमा ती सबैलाई साक्षर बनाइने जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताउनु भएको छ । जिल्लाका ९८.४ प्रतिशत व्यक्तिहरु साक्षर रहेको शिक्षा कार्यालयले जनाएको छ ।
शिक्षा मन्त्री यादव कार्यक्रममा अनुपस्थित रहेपछि धादिङ क्षेत्र नम्बर २ का सभासद् गुरूप्रसाद बुर्लाकोटीले शिक्षा मन्त्रीको प्रतिनिधिको रुपमा साक्षर जिल्ला घोषणाको शिलालेखको अनावरण गर्नुभएको थियो । यसैगरी सोही कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले पूर्ण साक्षर घोषणा हुन सफल भएकोमा धादिङ जिल्लालाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।
अभियानबाट छुटेकालाई फागुनबाट कक्षा ९ र १० का विद्यार्थीले घर–घरमै गएर पढाउने र उनीहरुलाई साक्षर बनाउने लक्ष्य सरकारले लिएको छ । निमित्त स्थानीय विकास अधिकारी निर्मल दर्शन आचार्यको अध्यक्षतामा भएको साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सभासद्हरु गुरुप्रसाद बुर्लाकोटी, परशुराम तामाङ र दिलमान पाख्रिनका साथै अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेल, जिल्लाका विभिन्न दलका प्रतिनिधि, पेसागत शिक्षक संघ संगठनका प्रतिनिधिलगायतले सम्बोधन गरेका थिए ।
नीलकण्ठ उच्च माविको प्राङ्गणमा आयोजना गरिएको साक्षरता घोषणा कार्यक्रम सुरू हुनुअघि विभिन्न विद्यालयबाट आएका विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा सदरमुकाम धादिङबेसीको पुछारबजार पुल्चोकबाट झाँकीसहितको ¥याली निकालिएको थियो ।
Discussion about this post