बसन्त पराजुली
भरतपुर । घरभित्रबाट निस्कने कुहिने फोहोरको व्यवस्थापन हुन नसक्दा भरतपुर नगर क्षेत्रभित्र फोहोर व्यवस्थापन चुनौती बन्दै छ । कुहाएर कम्पोष्ट मल बनाउन सकिने फोहोरको व्यवस्थापनमा नगरपालिकाको ठोस कार्यक्रम देखिँदैन भने नगरवासीमा पनि यसका बारेमा खासै चेतना जागेको पाइँदैन ।
‘घरभित्रबाट निस्कने कुहिनेखालका फोहोर व्यवस्थापन अहिलेको चुनौति हो’, फोहोर व्यवस्थापनमा नमुना बन्नुभएकी भरतपुरकी तुलसा ज्ञवालीले भन्नुभयो, ‘घरभित्रको फोहोर व्यवस्थापन हुन नसकेपछि अहिले यो समस्या झन्झटिलो बन्दै छ ।’ यस्ताखाले फोहोर व्यवस्थापनमा नगरपालिका र स्थानीय बासिन्दाहरुको पनि खासै पहल हुन नसकेको उहाँले बताउनुभयो ।
‘घरभित्रको फोहोर कमसेकम घरमै व्यवस्थापन गर्न सकिने गरी ठोस कार्यक्रम आउनुपर्ने उहाँको सुझाव छ । ‘कमसेकम नगर क्षेत्रमा हरेक घर कम्पोष्ट रिङ राखेर फोहोरबाट जैविक मल बनाउने कार्य थालनी हुनुपर्छ’, उहाँको थप कथन थियो, ‘सके घरघरमै गरौं, नभए टोलटोलमा भएपनि जैविक मल बनाउने कार्य सुरु गर्ने हो भने अहिले निस्किएको फोहोर समस्या नभई आम्दानी गर्न सक्ने माध्यम बन्ने छ ।’
भरतपुर नगर क्षेत्रभित्र २५ टन फोहोर दैनिक निस्कने गरेको छ । जसमध्ये ६८ प्रतिशत फोहोर कुहिने खालका हुन् । जसबाट जैविक वा प्राङ्गरिक मल उत्पादन गर्न सकिन्छ । ‘फलफूल, तरकारी, भातजस्ता कुहिने बस्तुको फोहोर पनि अहिले सडकमा आइरहेको छ’, भरतपुर नगरपालिकाका इन्जिनियर विराट घिमिरे भन्नुहुन्छ, ‘घरभित्रको फोहोर घरमै व्यवस्थित गराउनुपर्छ भन्ने मान्यता नगरपालिकाको हो ।’
‘जसले फोहोर निकाल्छ उसैले व्यवस्थापन गर्नु प¥यो नि’, उहाँको थप भनाइ थियो, ‘अहिलेजस्तो फोहोर पनि खुला रुपमा सडकमा ल्याइँदा समस्या हो ।’ सबैखाले फोहोर मिसाएर सडकमा आउँदा पनि फोहोर व्यवस्थापनमा जटिलता थपिएको उहाँको अनुभव छ । कुहिने, पुनर्प्रयोगमा ल्याउन सकिने र नष्ट नै गर्न नसकिने फोहोर अहिले मिसिएर सडकमा आएका छन् ।
नगरपालिकाले हालै निकालेको एक तथ्याङ्कअनुसार अहिले सडकमा आएको फोहोरमध्ये ६८ प्रतिशत जैविक (कुहिने) फोहोर, ८ प्रतिशत प्लाष्टिक, ५ प्रतिशत कागज, ५ प्रतिशत नै कपडा, दुईदुई प्रतिशत धातु, काठ, छाला र चारचार प्रतिशत सिसा र अन्य रहेका छन् ।
फोहोर व्यवस्थापनमा चुनौति भए पनि नगरपालिकाले पहल नै नगरेको भन्ने नभएको भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो । ‘हामीले घरभित्रबाट निस्किएका फोहोरलाई कुहाएर कम्पोष्ट मल बनाउनुपर्छ भनेर लागेका छौं’, उहाँले भन्नुभयो, ‘अहिले पनि नगरपालिकाभित्र घरघरमै फोहोर कम्पोष्ट बनाउनुपर्छ भनेर विशेष कार्यक्रम नै लागू गरिएको छ ।’
उहाँका अनुसार अहिले नगरपालिकाले स्थानीय विकास मन्त्रालयको फोहोर व्यवस्थापन केन्द्रसँग मिलेर कम्पोष्ट चेम्बर (फोहोर गलाउने स्थान) बनाउन लागिएको छ । यसै वर्षबाट सुरू भएको यो कार्यक्रमअन्तर्गत नगरपालिकाले पाँच र केन्द्रबाट पाँच लाख रुपैयाँ बजेट खर्च भएको छ । यो बजेटले नगरपालिकाभित्र यो वर्ष एक हजार पाँच सय कम्पोट चेम्बर बनाएको पनि उहाँले जानकारी दिनुभयो ।
‘अब तीन वर्षभित्र घरघरमा कम्पोष्ट चेम्बर राखिने छ’, कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो, ‘अब हरेक वर्ष पाँच सय घरमा यो चेम्बर बनाउने लक्ष्य छ ।’ नगरपालिकाभित्र ३६ हजार घरधुरी छन् । हरेक वर्षको पाँच सयका दरले चेम्बर बनाउँदा नगरपालिकाको लक्ष्य पूरा हुने देखिँदैन ।
तुलसी ज्ञवाली भन्नुहुन्छ, ‘अब नगरपालिकाले नै हरेक घरघरमा दुईदुईवटा सिमेन्टको रिङ वितरण गरेर कम्पोष्ट मल बनाउन प्रयास ग¥यो भने घरभित्रको फोहोर घरमै जैविक मल बन्ने छ । अनि अहिलेको फोहोर पनि समस्या टर्ने छ ।’
Discussion about this post