भरतपुर । चितवनमा देखा परेको केराको रोगका सम्बन्धमा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले अनुसन्धान सुरू गरेको छ । नार्कका दुईजना कृषि वैज्ञानिक चितवन आएर नमुना संकलन गरी चितवन काठमाडौं फर्केका छन् ।
नार्कबाट अघिल्लो हप्ता वैज्ञानिकहरु श्रृंखला मानन्धर र विमला पन्त चितवन आएर केरामा देखा परेका रोगहरुको अनुसन्धानका लागि नमुना संकलन गरेका थिए । नमुना परीक्षणपछि एक महिनाभित्र रोगहरुको बारेमा जानकारी प्राप्त हुने उनीहरुले जानकारी दिए ।
‘नमुना लगेपछि परीक्षणमा केही समय लाग्छ । लगभग एक महिनापछि यहाँको समस्या के हो हामी निक्र्यौल गर्न सक्षम हुनेछौं’, कृषि वैज्ञानिक विमला पन्तको भनाइ छ । चितवनमा रत्ननगर, खैरहनी, पदमपुर र जगतपुर तथा भरतपुर नगरपालिकाको ठिमुरामा केराखेती मौलाएको छ ।
‘तर हावा हुरीपछि केराखेतीलाई विभिन्न खालको रोगको प्रकोपले पनि सताएको छ । हावाले नौ करोड रुपैयाँ बराबरको नोक्सान गरेको छ । रोगले पनि नोक्सान गर्छ’, चितवन केरा व्यवसायी संघका अध्यक्ष यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ले भन्नुभयोे ।
केरामा ब्याक्टेरिया, भाइरस र ढुसीका कारण रोगहरु लाग्ने गरेको कृषि वैज्ञानिक श्रृंखला मानन्धरले जानकारी दिनुभयो । ब्याक्टेरिया र ढुसीका कारण केराको गुभो कुहिने समस्या आउँछ । फलमा पनि समस्या देखिने गर्छ ।
ब्याक्टेरियाका कारण गुभो कुहिँदा गन्हाए पनि ढुसीका कारण कुहिने गुभो गनाउँदैन । गुभो कुहिएमा सामान्य हावाहुरीले पनि ढल्ने गर्छ । गुभो लागेपछि फल नलाग्ने र फल लागे पनि नफष्टाउने कृषि वैज्ञानिक मानन्धरको भनाइ छ ।
भाइरसले पातमा आक्रमण गर्छ । फल पनि नलाग्ने हुन्छ । लागेमा पनि कम लाग्ने माननन्धरले जानकारी दिनुभयो । रोगका कारण भएको नोक्सान कम गर्न भरपर्दो उपचार विधि दिन किसानहरुले माग गर्दै आएका थिए । कृषि वैज्ञानिकहरुले त्यसैका लागि अनुसन्धान सुरू गरेका हुन् ।
‘रोगको कारण पत्ता लाग्नेछ । कुन ठाउँमा के समस्या छ पहिचान हुनेछ । त्यसपछि उपचारका विधिहरु बताउन सक्ने छौं । हाम्रो अनुसन्धान त्यसैका लागि हो’, कृषि वैज्ञानिक पन्तले जानकारी दिनुभयो । प्रयोगशालामा चार हप्तासम्म परीक्षण चल्ने उहाँले बताउनुभयो ।
चितवनमा विसं २०५० सालपछि केराखेती फष्टाउन थालेको हो । जिल्लामा चार सय किसान व्यावसायिक केराखेतीमा संलग्न छन् । १६ सय बिघामा केराखेती हुने गरेको चितवन केरा व्यवसायी समितिले जानकारी दिएको छ ।
कुल उत्पादन २५ हजार टन रहेको संघका अध्यक्ष सुवेदीले बताउनुभयो । केरा बिक्रीबाट जिल्लामा करिब ३७ करोड रुपैयाँ बराबर आम्दानी हुने उहाँले जानकारी दिनुभयो । त्यसैले रोग नियन्त्रणमा सरकार गम्भीर होस् भन्ने उहाँको अपिल छ ।
Discussion about this post