पछिल्लो जनगणनालाई आधार मान्ने हो भने नेपालभर १ सय २३ वटा भाषाहरु प्रचलनमा रहेर बोलिएका पाइन्छन् । नेपाली भाषालाई अधिकांश नेपालीहरुले आफ्नो राष्ट्रभाषासँगसँगै मातृभाषाको रुपमा प्रयोगमा ल्याएका छन् भने नेपाली भाषापछि क्रमशः मैथिली, भोजपुरी, थारु, तामाङ, नेवारी भाषा मातृभाषाको रुपमा रहेको तथ्याङ्कले देखाउँछ । विभिन्न जातजाति तथा समुदायहरुले बोल्ने मातृभाषा आज लोपोन्मुख भाषाको सूचीमा रहन पुगेको छ । मातृभाषाको संरक्षणका लागि भए गरेका जति पनि कोसिसहरु छन् ती पर्याप्त हुन सकिरहेका छैनन् । पाठ्यक्रम नै बनाएर अध्ययन र अध्यापनरुपी अभियानलाई अगाडि बनाउन नसक्दा मातृभाषाहरु दिनानुदिन लोप हुँदै गैरहेका छन्, जुन ठूलो चिन्ताको विषयसमेत बनिरहेको छ ।
हरेक वर्ष फेब्रुअरी २१ का दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाइँदै आइएको पाइन्छ । सन् १९९९ नोभेम्बर १७ का दिनमा युनेस्कोले पनि यस दिनलाई मह¤वपूर्ण दिनका रुपमा मान्यता दिएको थियो । त्यसपछि सन् २००० मा संयुक्त राष्ट्रसंघले समेत उक्त दिनलाई मातृभाषा दिवसका रुपमा मनाउने घोषणा गरेपछि विश्वभर नै मातृभाषाको संरक्षण र संवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु अभियानका रुपमा अघि बढ्दै आएको पाइन्छ । भाषिक जागरणका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा समेत मनाइएको परिप्रेक्ष्यमा हेर्दा हाम्रा मातृभाषाहरुको सामथ्र्यप्रति हामी आज पनि विश्वस्त हुन नसकिरहेको अवस्था विद्यमान छ । विश्वका विभिन्न भाषा तथा संस्कृतिहरुको विविधतालाई स्वागत तथा स्वीकार गरेर बहुभाषा र बहुसंस्कृतिलाई स्थापित गर्ने अभियानस्वरुप हाम्रा मातृभाषाहरुको संरक्षण गर्न सकियो भने त्यो ठूलै उपलब्धिमूलक कार्य हुन जाने कुरामा शङ्का छैन ।
मानिसको सभ्यता र संस्कृतिको परिचायकको रुपमा विद्यमान रहेको मातृभाषाबिना देशको सांस्कृतिक स्वरुपबारेमा सोच्नसम्म सकिँदैन । मातृभाषालाई अल्पसंख्यक समुदायहरुको आत्माको आवाजको स्वरुपमा समेत लिइएको पाइन्छ, जुन खतरामा पर्दै जानुले देशको गौरव र गरिमालाई सङ्कटमा समेत पार्ने निश्चित छ । मातृभाषासँग राष्ट्रियता प्रत्यक्षरुपमा जोडिएको हुन्छ भने देशप्रेमका लागि मातृभाषाहरुको भूमिका अहं हुन्छ । नेपालमा ६० को दशकयता भाषिक जागरणले गति लिएको देखिए पनि त्यो प्रभावकारी हुन नसकेको यथार्थ छ । विभिन्न जाति तथा समुदायहरु आफ्नो भाषा तथा भेषभूषाको रक्षा र सुरक्षाप्रति जागरूक हुनु त सकारात्मक हो, तर राज्यस्तरबाट त्यसले सक्दो बढवा नपाउँदा हरेक भाषिक अभियानहरु आजभोलि शिथिल हुँदै गैरहेका छन् । मातृभाषा संरक्षणका निम्ति भाषिक सम्मेलन तथा गोष्ठीहरु आयोजना नभएका होइनन् भएका छन्, तर नेपालका लोपोन्मुख भाषाहरुको संरक्षणको सवाल आज पनि जल्दोबल्दो विषयका रुपमा उठ्ने गरेको छ । कुनै पनि जातजातिले बोल्ने मातृभाषा लोप हुँदै गएको खण्डमा समग्र भाषा, संस्कृति र संस्कारमै खतरा आउन सक्ने कुराप्रति सम्बन्धित निकायले ध्यान दिन ढिलो भैसकेको छ ।
Discussion about this post