भरतपुर । नेकपा (प्रचण्ड–माधव पक्ष) केन्द्रले चितवन जिल्लाको नेतृत्व यथावतै राखेको छ । पार्टीको केन्द्रीय सचिवालयले चितवनको अध्यक्षमा यमबहादुर परियार ‘इन्द्रजीत’ र सचिवमा कृष्णभक्त पोख्रेललाई पुरानै जिम्मेवारीमा यथावत राखेको हो । पार्टी दुई समूहमा विभाजन हुनुअघि पनि अध्यक्षमा परियार र सचिवमा पोख्रेल नै थिए ।
त्यस्तै भरतपुर महानगरको नगर कमिटीको अध्यक्षमा रामजीप्रसाद सापकोटा र सचिवमा ईश्वर सापकोटा ‘सुमन’लाई चयन गरेको छ । महानगरमा भने अध्यक्ष फेरबदल भएको हो । यसअघि रामप्रसाद न्यौपाने अध्यक्ष थिए । उनी ओली पक्षतर्फ रहेका कारण सो पदमा सापकोटालाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।
प्रचण्ड–माधव पक्षले चितवनलगायत ६५ जिल्ला र तीनवटा महानगरको नेतृत्व चयन गरेको हो । पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरुमा प्रचण्ड र माधवबीच ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकीकरण गर्ने मापदण्ड तयार पारिएको छ ।
Discussion about this post