भरतपुर। उपप्रधानमन्त्री ईश्वर पोखरेलले ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्तिले पार्टी फुटेको बताएका छन् । केपी ओली पक्षको प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कुन्ठा, इष्याको कारणले पनि पार्टी फुटमा सघाउ पुगको बताए । पत्रकार भेटघाटमा उनले भने, ‘हामी सर्वोच्चको फैसला मान्छौँ, सर्वोच्चले जे फैसला गरे पनि त्यसलाई स्वीकार नगर्ने को होला र ?’ सर्वोच्चको जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन ।’
उनले वैशाख १७ मा पहिलो चरणको र २७ मा दोस्रो चरणको चुनाव हुने बताए । उपप्रधानमन्त्री पोखरेलले भने, ‘ताजा जनादेशमा जाने भन्ने कुरा कसरी असंवैधानिक हुन्छ ?’ जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने उनको दावी थियो ।
ताजा जनादेशमा जानुमै सबैको हित हुने भन्दै उनले भने, ‘नेपाली जनताले इच्छाएको पार्टी र प्रतिनिधिलाई विजयी बनाउने अवसर नै चुनाव हो, मलाई लाग्छ, हेर्दै जानुहोला, सबै चुनावमा आउँछन् । जसले जे भने पनि आखिर सबै चुनावमा जानुको विकल्प छैन ।
केपी ओलीले नेतृत्व गरेको केपी ओलीले नै सूर्य चिन्ह पाउने उनको दावी थियो । उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेकपाले सूर्य चिन्ह नपाएर अरु कसले पाउँछ ?
पत्रकार सम्मेलनमा उनले पार्टी फुटेकोमा दुःख प्रकट गरेका थिए । उनले भनेका छन्, ‘यो दुखद घटना हो, नेपाली जनता सबै दुःखी छन् । हामीले चाहेर यो स्थिति आएको होइन, दुर्भाग्य हो ।’
Discussion about this post