रत्ननगर । हात्तीको स्याहार सुसार, रेखदेख र पालनपोषणमा खटिएका माहुते, फनित र पछुवालाई प्राविधिक ज्ञान दिलाउन प्रशिक्षण कार्यक्रम गरिएको छ ।
हात्तीको स्वास्थ्य अवस्था र सफारीलाई प्रभावकारी बनाउन हात्तीमा लाग्ने रोग, हात्तीको स्याहार सुुसारमा दिनुपर्ने ध्यान तथा वन तथा वन्यजन्तु संरक्षणमा माहुतेले खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
बाघमारा मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा माहुते, फनित र पछुवाले हात्तीको स्याहार सुसारमा गर्दै आएको परम्परागत शैलीलाई परिर्वतन गर्न अवलम्बन गर्नुपर्ने कामहरुको विषयमा सहजीकरण गरिएको छ ।
दुई दिनसम्म चल्ने सो कार्यक्रममा माहुतेलाई वन्यजन्तुको पहिचान र जानकारी, हात्ती सफारी र वन्यजन्तुको संरक्षण, घाइते जनावरको उद्धार, माहुतेले पर्यटकलाई गर्ने व्यवहारको विषयमा माहुतेहरुलाई प्रशिक्षण दिइएको वनका सचिव कृष्ण भट्टले जानकारी दिए ।
त्यसैगरी हात्तीको स्वास्थ्य अवस्थामा माउतेलाई जिम्मेवार बनाउन स्याहार सुसार, हात्तीमा लाग्ने रोग र प्राथमिक उपचारको विषयमा प्रशिक्षण दिइएको छ । रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष राजन भट्टको अध्यक्षतामा भएको कार्यक्रममा चितवन निकुञ्जका सौराहा सेक्टर प्रमुख प्रकाश उप्रेतीले चितवनको पर्यटन हात्ती सफारीमा निर्भर रहेकाले सफारीलाई व्यवस्थित गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले सफारीमा हात्तीलाई पर्ने कार्यभार कम गर्दै लगेको भन्दै हात्तीको स्वास्थ्यलाई मध्यनगर गरी आहार तथा औषधि उपचारमा ध्यान दिएको बताए । सौराहामा सफारीमा प्रयोग हुने हात्तीको संख्या विस्तारै घट्दै गएको भन्दै उनले चितवनको पर्यटनलाई जोगाउन हात्ती संरक्षण अनिवार्य सर्त भएको बताए ।
बाघमारा वनका अध्यक्ष जीतु तामाङले माहुते, फनित र पछुवाले गर्दै आएको परम्परागत कामलाई प्राविधिक ज्ञान दिएर प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम गरिएको बताए । हात्ती सफारी,वन्यजन्तुको पहिचान र स्वास्थ्य सुरक्षाका विषयमा माहुते, फनित र पछुवालाई पोख्त बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि विज्ञसहित कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा सौराहामा निजी स्तरमा सञ्चालित हात्तीमा काम गर्ने ७० जना माहुते,फनित र पछुवाको सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने सो कार्यक्रममा निकुञ्जका वन्यजन्तु प्राविधिक किरण रिजाल,वनका वन तथा संरक्षण शिक्षा उपसमितिका संयोजक प्रकाश चापागाईंले सहजीकरण गरेका छन् । उद्घाटन कार्यक्रम बाघमारा वनका अध्यक्ष तामाङको अध्यक्षतामा भएको थियो ।
Discussion about this post