रामपुर । चितवनको रामपुरमा राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम सुरू भएको ५७ वर्ष पूरा भएको छ । यस अवधिमा राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले ३६ वटा मकैको जात सिफारिस गरेको छ । जसमा २९ वटा मकैको जात खुला सेचित हुन् भने ७ वटा मकैको जात हाइब्रिड छन् । गौरव हाइब्रिड मकैको जात चल्तीमा छैन ।
‘अहिलेसम्म राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले ३६ वटा मकैको जात सिफारिस गरिसकेको छ’ अनुसन्धान कार्यक्रमका संयोजक केशवबाबु कोइरालाले भने, ‘थप चारवटा हाइब्रिड मकैका जात सिफारिस गर्ने अन्तिम तयारी छ ।’ उनका अनुसार हाल मकैको २ वटा हाइब्रिड जात सूचीकृत भइसकेको छ । एउटा मकैको जात अनुसन्धान गरी अन्तिम रुप दिन १० वर्षसम्म लाग्छ ।
यसअघि नै राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले सिफारिस भएका केही मकैका जातलाई सूचीबाट हटाइसकेको छ । मकालु २, जानकी मकै, सर्लाही सेतो, हेटौँडा कम्पोजिट, ककनी पहेँलो, रामपुर पहेँलो, रामपुर १ र रामपुर २ लाई सूचीबाट हटाइएको संयोजक कोइरालाले बताए ।
उनका अनुसार १०/१२ वर्षसम्म एउटै जातको मकै लगाउँदा उत्पादनमा कमी आउने भएपछि किसान नयाँ जातमा आकर्षित हुने गरेका छन् । केही किसानले भने अहिले पनि पुरानै जातका मकै लगाउँदै आएका छन् ।
‘हाइब्रिड जातको मकै लगाउनुपर्छ, बल्ल उत्पादन बढ्छ, रैथाने मकैको जातले उत्पादन बढाउन सक्दैन’ कोइरालाले भने, ‘नेपालमा सबैभन्दा बढी लोकप्रिय मकैको जात रामपुर हाइब्रिड १० हो ।’ विभिन्न कम्पनीहरुले यो जातको मकैको बीउ वार्षिक १८० टनभन्दा बढी उत्पादन गरिरहेका छन् ।
उत्पादन कम भए पनि रामपुर कम्पोजिट, मनकामना ३, अरूण २, देउतीलगायत जातका मकै अझै किसानले लगाउँदै आएका छन् ।
संयोजक कोइरालाले भने, ‘मकैको उत्पादकत्व बढाउन हाइब्रिड जातको विकल्प छैन ।’ उनले आयातीत हाइब्रिड मकैको जातमा मात्र भर पर्न नहुने बताए । उनले भने, ‘कतिपय किसानले आयातीत बीउ लगाउँदा मकैको बोटमा खोयामात्र रहेको छ, मकै नफलेपछि कम्पनीले क्षतिपूर्ति पनि दिएको छ ।’ उनले आफ्नै हाइब्रिड जातमा विश्वास गर्न जोड दिए ।
नेपालभर मकैको जात सिफारिस गरेर किसानलाई सहयोग पु¥याउने काम रामपुर अनुसन्धान कार्यक्रमबाट मात्र हुन्छ । ‘नेपालभर मकैको जात सिफारिस गर्ने यही एउटा मात्र ठाउँ हो,’ उनले भने, ‘त्यसैले सबैतिरको हावापानीमा उपयुक्त हुने जात विकास गरेर नयाँ मकैकौ जात निकाल्ने काम भइरहेको छ ।’
मकैबाली कार्यक्रम सिफारिस गरिने जातको प्रजनन र मूल बीउको स्रोत केन्द्रको रुपमा रहने गरेको छ । उन्नत बीउ भने किसानले निजी बीउ कम्पनीहरुबाट पाउनेछन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले यसको ट्यागिङ र प्याकिङको काम गर्छ । त्यस्तै कृषि विकास कार्यालयले यसको प्रवद्र्धन गर्ने सघाउ पु¥याउँछ ।
चितवन पोल्टी क्षेत्रको राजधानी मानिन्छ । जिल्लामा दैनिक १० टनभन्दा बढी मकै दानाको लागि खपत हुन्छ । तर, उत्पादन नगन्य छ ।
चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ । वैशाख–जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ । यसलाई वर्षे मकै भनिन्छ । चितवनमा यो मकै नौ हजार ८०० हेक्टरभन्दा बढीमा खेती गरिन्छ । यस्तै असोज कार्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार ६०० हेक्टरभन्दा बढीमा खेती हुन्छ । यो मकै फागुन चैतमा पाक्छ ।
माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार ६०० हेक्टरमा खेती हुने गर्छ । यो मकै जेठ असारमा पाक्छ । चितवनमा वार्षिक एक लाख मेट्रिक टनभन्दा बढी मकै उत्पादन हुने गर्छ । चितवनमा बीउकै लागि भनेर ३०० हेक्टरमा मकैखेती गरिन्छ ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका अनुसार नेपालमा ९ लाख ५६ हेक्टरमा मकै उत्पादन हुन्छ । मकैको उत्पादकत्व प्रतिहेक्टर २.८४ मेट्रिक टन रहेको छ । कुखुराको दानाको लागि नेपालमा वार्षिक ५ लाख मेट्रिक टन मकै चाहिन्छ । दानाको लागि चाहिने मकैको मागमा २५ प्रतिशत उत्पादन पनि नेपालमा छैन ।
Discussion about this post