भरतपुर । एचआईभी र एड्स न्यूनीकरणका लागि सरोकारवाला निकायहरुलाई थप प्रभावकारी बनाउन नारायणगढमा सोमबार तीन दिने समीक्षा गोष्ठी सुरू भएको छ । मध्यमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लाका स्रोत व्यक्तिहरुका बीच सो गोष्ठी सुरू भएको हो ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले गोष्ठीको आयोजना गरेको हो । गोष्ठीमा मध्यमाञ्चल क्षेत्रका १९ जिल्लाका ५७ जना सहभागी छन् । गोष्ठीमा एचआईभीको कार्यक्रममा भएका समस्या र समाधानको बारेमा स्पष्ट पारिने आयोजकले जनाएको छ ।
जिल्लास्तरमा भएका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि अनुगमन मूल्याङ्कनको समीक्षा हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका तथ्याङ्क अधिकृत वीरबहादुर रावलले बताउनुभयो । गोष्ठीमा सहभागी जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालयका स्रोत व्यक्तिहरुले आपसका अनुभव साटासाट गरी त्यसबाट नयाँ रणनीति तयार गर्ने छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केयरसिं गोदारको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत रामहरि न्यौपाने, चितवन सक्रिय समूहकी कार्यकारी निर्देशक दीक्षा रिमाल, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र बडुवाल, नेपाल प्रेस युनियन चितवनका सचिव अनिल ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Discussion about this post