सौराहा । बर्ड एजुकेशन सोसाइटी सौराहाले प्रकाशन गरेको ‘चितवनका चराहरुको सूची’ शनिबार सार्वजनिक गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर र वरिष्ठ चराविद् डा.हेमसागर बरालले सो सूची समेटिएको पुस्तकको संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
पुस्तकमा चितवनमा चरा प्रजातिको संख्यामा वृद्धि भएको जनाइएको छ । यसअघि ५६९ प्रजातिका चरा पाइने चितवनमा अब संख्या बढेर ६१५ पुगेको छ । नेपालमा भने ८७२ प्रजातिका चरा छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा गणना गर्दा चितवनमा चराको प्रजाति अघिल्लो वर्ष ५६९ रहेको र एक वर्षको अन्तरालमा महाभारत क्षेत्रमा समेत गरिएको गणनामा चराको प्रजाति बढेको बर्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्ष बासु विडारीले जानकारी दिनुभयो ।
पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ चराविद् डा. हेमसागर बराल, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष नारायण भट्टराई, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका प्रशासकीय अधिकृत रामकुमार अर्याल, पूर्व वार्डेन रामप्रित यादव, बछौली गाविस सचिव तेजेन्द्रनाथ लामिछाने, वासु ढुङ्गानालगायतले बोल्नुभएको थियो । कार्यक्रम बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष बासु विडारीको अध्यक्षतामा भएको थियो ।
Discussion about this post