भरतपुर । चितवनमा स्काउटका संस्थापक तीर्थराज न्यौपानेको पुस्तक ‘हीरक आरोहणमा तीर्थराज न्यौपाने’ पुस्तकको विमोचन भएको छ ।
हिमालय खबर अनलाइन पत्रिकाले प्रकाशन गरेको पुस्तक चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो ।
जीवनको पाँच दशक स्काउटको सेवा समय खर्चिएका न्यौपानेले ७५औँ वसन्तसँगै पहिलो कृति सार्वजनिक गरेका हुन् । जीवनको आरोह–अवरोह पार गर्ने क्रममा देखेभोगेका विषयवस्तुलाई आत्मकथामार्फत पुस्तकको रुप दिने प्रयास गरिएको उनले बताए ।
प्रकाशक हिमालय खबरका प्रधानसम्पादक विजय घिमिरेले न्यौपानेको आत्मकथा भावी सन्ततीको लागि मह¤वपूर्ण दस्तावेज सावित हुने बताए । ७५ वर्षको उमेरमा पनि पुस्तक प्रकाशन गरेर समाजमा लेखकको रुपमा आफूलाई परिचित गराउने प्रयासमा लाग्नुले नयाँ पुस्तालाई समेत प्रेरणाको स्रोत बन्ने उनको भनाइ छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्काउट र शैक्षिक क्षेत्रमा मह¤वपूर्ण योगदान दिएर पनि पुस्तक प्रकाशन गरेर आफ्नो परिचयलाई थप फराकिलो बनाउन सफल भएको बताए । ‘स्काउटमार्फत समाजमा उदाहरणीय पात्रको रुपमा स्थापित भइसके पनि पुस्तक लेखनीबाट लेखकको रुपमा परिचय थपिएको छ,’ उनले भने, ‘यसले समाजमा सकारात्मक प्रभाव पार्छ ।’
चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष केदारनाथ खनालले पुस्तकमा नयाँ विषयवस्तु नभए पनि न्यौपानेको संघर्ष र इमान्दारितालाई नयाँ शैलीमा बुझ्न सकिने बताए । पुस्तक प्रकाशन गर्नु आफैँमा चुनौतीपूर्ण विषय भएर पनि नयाँ पिढीको लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ छ ।
शिक्षाविद् रमाकान्त सापकोटाले नेपाली समाजमा पठन संस्कृतिको विकास हुँदै गएकोले लेखनीको क्षेत्र पनि फराकिलो बन्दै गएको बताए । हरेक मानिसले जीवनमा आफ्नै कुरालाई लिएरै भए पनि एउटा पुस्तक लेख्नुपर्ने उनको सुझाव छ । पुराना कवि गोविन्दराज विनोदीले लेखक न्यौपानेको जीवनीसँग सम्बन्धित कविता सुनाएका थिए ।
समारोहमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसांसद् एवं न्यौपानेका सहपाठी जगन्नाथ पौडेल, स्काउट चितवनमा पूर्वआयुक्त भवानीप्रसाद पौडेल, भीष्मप्रसाद न्यौपाने, शिक्षा मन्त्रालयका पूर्व सल्लाहकार रमाकान्त सापकोटा, जिल्ला शिक्षा अधिकारी भीमलाल सुवेदी शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लेखक न्यौपानेले पुस्तक प्रकाशनका लागि सहयोग गर्ने, लेखरचनामार्फत् शुभेच्छा प्रकट गर्ने सबै शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रम सञ्चालक रामहरि न्यौपानेले पुस्तक न्यौपाने बन्धुहरुको यही नै ऐतिहासिक दस्तावेज रहेको भन्दै शुभकामना व्यक्त गरे ।
Discussion about this post