रामपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले यसै शैक्षिक सत्रबाट जैविक प्रविधि (बायो टेक्नोलोजी) विषयको पढाइ सुरू गर्ने भएको छ ।
कृषि, पशु विज्ञान, पशु चिकित्सा र वन विज्ञानअन्तर्गत रहेर बायो टेक्नोलोजी विषयमा स्नातकोत्तर र विद्यावारिधिको पढाइ सुरू गर्न लागेको विश्वविद्यालयका कृषि सङ्कायका डिन प्राध्यापक डिल्लीराम बरालले बताउनुभयो ।
यस वर्षको मङ्सिर महिनाबाट पढाइ सुरू हुने उहाँले बताउनुभयो । स्नातकोत्तरमा १० जना र विद्यावारिधिमा दुई जनालाई पढाउने विश्व विद्यालयको लक्ष्य रहेको छ ।
नेपालमा पहिलो पटक सुरू गर्न लागिएको यस विषय अध्ययन पछि कृषि र पशुका उन्नत जातको विकास र रोगको पहिचानका लागि अनुवंशिक तहमा अनुसन्धान गर्न सकिने छ ।
बायो टेक्नोलोजी विषयमा जापानमा विद्यावारिधि गर्नुभएका सोही विश्वविद्यालयका रजिस्टार डा. सूर्यकान्त घिमिरे बायो टेक्नोलोजीको पढाइबाट कृषिमा आधुनिकीकरण गर्न कोसेढुङा सावित हुने बताउनुहुन्छ । सो विश्वविद्यालयले स्नातकोत्तरमा एग्री बिजनेस म्यानेजमेन्ट, स्नातक तहमा एग्री इन्जिनियरिङ र कृषि स्नातकमा बागवानी विषयको पाठ्यक्रमको तयारीसमेत अन्तिम चरणमा पु¥याएको रजिस्टार घिमिरेले बताउनुभयो ।
विश्वविद्यालयले हाल कृषि र वन विज्ञानमा स्नातक तह तथा पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञानमा विभिएस्सी एन्ड एएच र मत्स्य विज्ञानको अध्यापन गराउँदै आएको छ ।
त्यसैगरी, स्नातकोत्तर तहमा आठ वटाभन्दा बढी विषयमा तीनवटै सङ्कायमा पढाइ भइरहेको छ । विभिन्न विषयमा विद्यावारिधिको पढाइ पनि हुँदै आएको विश्वविद्यालयले जनाएको छ । कृषि स्नातकमा विद्यार्थीको आकर्षण बढेपछि कोटा थप गर्ने तयारीमा विश्वविद्यालय लागेको छ । कृषि सङ्कायका डिन बरालका अनुसार १६५ जना अध्यापन गराइँदै आएकामा यस वर्ष त्यसलाई बढाएर २०० पु¥याउने तयारी भइरहेको छ । रासस
Discussion about this post