भरतपुर । शिक्षक अभिभावक र विद्यार्थीबीचको त्रिपक्षीय समन्वयले मात्र विद्यालय शिक्षा सुधार्न सकिने शैक्षिक क्षेत्रमा लागेकाहरुले बताएका छन् । सरकारी विद्यालयको शिक्षा कसरी सुधार्न सकिन्छ भन्ने विषयमा सिनर्जी एफएमको जनबहसमा कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो निचोड निकालेका हुन् ।
सरकारी विद्यालयमा सरकारले वार्षिक ४० अर्ब रुपैयाँ लगानी गर्ने गरेपछि एसएलसी नतिजा बर्सेनि खस्कँदो छ । विद्यालयमा हुने चरम राजनीति र अभिभावक स्वयम् पनि सचेत नहुँदा यस्तो नतिजा आएको केही सहभागीले आरोप लगाए ।
विद्यालय व्यवस्थापन समिति गठनमा होस् या शिक्षक नियुक्तिको विषयमा विभिन्न बहानामा विद्यालयमा राजनीति हावी हुँदा शैक्षिक स्तर खस्केको सहभागीको भनाइ थियो । कार्यक्रममा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले सरकारी विद्यालयको शिक्षा उकास्नका लागि अभिभावक सचेतनाका कार्यक्रमदेखि राम्रो गर्ने शिक्षक र विद्यालयलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गरिएको बताउनुभयो ।
शिक्षक आफैँ पनि जिम्मेवार नभई विद्यालय शिक्षालाई सुधार गर्न नसक्ने उहाँको भनाइ थियो । शिक्षकका हक हितका नाममा, शिक्षक आफैँले राजनीति गर्दैमा समय बिताउँदा चुनौती बढेको बताउनुभयो ।
यस्तै नेपाल शिक्षक युनियन चिनवनका अध्यक्ष हरिप्रसाद आचार्यले शिक्षकको मात्र मेहनतले शैक्षिक सुधार सम्भव नभएको भन्दै सबै निकायबाट वातावरण मिलाइदिनुपर्ने बताउनुभयो । विद्यालयको शैक्षिकस्तर बढाउनका लागि आफूहरु गम्भीर भएको उहाँको भनाइ थियो ।
यस्तै निजी विद्यालय सञ्चालकहरुको संस्था प्याव्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले विद्यालयमा राजनीति नगरी पढाइमा मात्र ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । लगानी सरकारी स्तरबाट पर्याप्त भएकाले हाम्रा नभई राम्रा शिक्षक चयन गरेर पढाउन उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा यस वर्षका एसएलसी परीक्षामा शतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल सरस्वती मावि जगतपुर र सिद्धार्थ मावि जगतपुरका शिक्षकहरुले आफूहरुको सहयोग, विद्यार्थीको मेहनत र लगनशीलता तथा अभिभावकको सकारात्मक सुझावका कारण विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सकेका बताएका थिए ।
Discussion about this post