नवलपरासी । मध्यवर्ती उपभोक्ता समितिमा माझी, मुसहर समुदायको अर्थपूर्ण सहभागिता गराउनका लागि मध्यवर्ती निर्देशिका र विधान नै परिवर्तन गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।
शुक्रबार माझी, मुसहर, बोटे कल्याण सेवा समिति नवलपरासीले कावासोतीमा आयोजना गरेको मध्यवर्ती उपभोक्ता समितिमा माझी, मुसहर, बोटे समुदायको अर्थपूर्ण सहभागिता विषयक कार्यक्रममा बोल्नेहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागीहरुले मध्यवर्तीको निर्देशिका र विधान नै गलत भएको भन्दै मध्यवर्तीमा आश्रित मुख्य समुदाय माझी, मुहसर, बोटे समुदायलाई मध्यवर्ती उपभोक्ता समितिको पदाधिकारीमा सहभागी अनिवार्य गराउनुपर्ने र त्यसका लागि निर्देशिका र विधान नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।
राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष एवम् प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको कार्यक्रममा त्यसका लागि सबैले आ–आफ्नो तहबाट आवाज उठाउनुपर्नेमा एक मत देखिएका थिए ।
कार्यक्रममा पत्रकार रामकुमार श्रेष्ठले प्रतिवेदन पेश गर्दै नवलपरासीभित्र रहेको ८ वटा मध्यवर्तीमा १६ जना कर्मचारी रहेकोमा १ जनामात्रै बोटे समुदायको कर्मचारी रहेको त्यसमा पनि वन हेरालुको रुपमा रहेको जानकारी गराएका थिए ।
त्यसैगरी प्रतिवेदनमा ८ वटा मध्यवर्ती उपभोक्ता समितिको प्रत्येक समितिमा १३ जनाको कार्यसमिति रहनेमा त्रिवेणी सुस्ता मध्यवर्ती उपभोक्ता समितिमा माझी, मुसहर, बोटे समुदायबाट एक जना पनि प्रतिनिधि नरहेको र अन्य सातवटा समुदायमा एकएक जना सदस्यमा मात्र प्रतिनिधि सहभागी रहेको उल्लेख गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले निर्देशिका नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी नेकपा एमाले नवलपरासीका उपाध्यक्ष एवम् पूर्व सभासद् रोशनबहादुर गाहा माझी, मुसहर बोटेलगायतका अल्पसंख्यक समुदायलाई स्थानीय निकायदेखि राज्यको निर्णायक तहसम्म अर्थपूर्ण सहभागिता गराउनका लागि राज्यले ठोस योजना ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी नवलपरासीका जिल्ला सदस्य डासीराम बस्याल माइकल, जनमुक्ति पार्टीका पार्वती गुरुङ, नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष वीरेन्द्र पराजुली, अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रेमशंकर मर्दनिया, सिसवार मध्यवर्ती उपभोक्ताको उपाध्यक्ष नारायण सिंह पंगेनी, लामीचौर मध्यवर्ती उपभोक्ता समितिका उपाध्यक्ष बासुदेव पौडेल, नन्दभाउजू उपभोक्ता समिति झिनकराम महतो, तमु छोँज धिँ नवलपरासीका अध्यक्ष रुद्रबहादुर गुरुङले पनि कार्यक्रममा मन्तव्य राखेका थिए ।
स्वागत दिपक बोटेको स्वागत र रमा बोटेको सञ्चालनमा भएको कार्यक्रम माझी मुसहर बोटे कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर बोटेको अध्यक्षतामा भएको थियो ।
Discussion about this post