–होमनाथ सापकोटा
सौराहा । चितवनको पर्यटकीय नगरी सौराहा वरपरका ठाउँमा रोनाल्डो नामको जंगली हात्तीले आतंक मच्चाएको छ ।
विगत तीन महिनादेखि निकुञ्जबाट बस्तीमा प्रवेश गरेर हात्तीले अन्नबाली नष्ट गर्ने र घरमै पुगेर क्षति पु¥याउने गरेको छ । बेलुका सात नबज्दै गाउँमा जंगली हात्ती आउन थालेपछि स्थानीय त्रासमा रहेका छन् । अहिलेसम्म हात्तीबाट मानवीय क्षति नभए पनि किसानहरुको अन्नबाली नष्ट गरेको छ । दैनिकजसो गाउँ छिर्ने हात्ती कति खेर घरमा आएर मानवीय क्षति गर्ने हो कि भन्ने स्थानीयलाई चिन्ता परेको छ । हात्ती आउने डरले यहाँका बासिन्दाहरु रातभर जाग्राम बस्न बाध्य छन् ।
हात्तीले एक दर्जनभन्दा बढी किसानको चैते धान र रोप्नलाई तयार भएको धानको बीउ नष्ट गरेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागार्इंले जानकारी दिनुभयो । हात्तीले पटकपटक होटलमा आक्रमणसमेत गरेको छ ।
झण्डै एक महिनाअघि सौराहाका राजु रिजालको प्लाई एण्ड ग्लास हाउसमा आक्रमण गरी ५० हजारभन्दा बढी मूल्यको सीसा फुटाएको थियो । रातिको समयमा कसैले थाहा नपाउने गरी आउने हात्तीले घर भत्काउने र घर बाहिर राखिएको सामानमा क्षति पु¥याएर जाने गरेको स्थानीय राजु रिजालले जानकारी दिनुभयो ।
जंगली हात्तीका कारण स्वदेशी तथा विदेशी पर्यटकहरु पनि त्रसित हुने गरेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष चापागार्इंले बताउनुभयो । सौराहामा पर्यटकहरु राति अबेरसम्म सडकमा ओहोरदोहोर गर्ने कामसमेत रोकिएको अध्यक्ष चापागार्इंले जानकारी दिनुभयो । हात्ती सौराहा क्षेत्रमा आउन थालेपछि यहाँको पर्यटन व्यवसायमा असर गरेको पर्यटन व्यवसायी गोपिचन्द्र सापकोटाले बताउनुभयो ।
हात्तीले सौराहाको दक्षिण भेगतर्फ निकुञ्जको प्रवेशद्वार नजिकका स्थानीयलाई बढी दुःख दिने गरेको उहाँले बताउनुभयो । रोनाल्डो हात्ती सहवासको लागि उपयुक्त भाले हात्ती हो । बछौलीमा रहेको सरकारी हात्तीसार र सौराहामा निजी रुपमा पालिएका पोथी हात्तीको खोजीमा रोनाल्डो हात्ती गाउँ पस्ने गरेको बताइन्छ ।
यतिमात्र होइन मीठो आहाराको खोजीमा रोनाल्डो हात्ती गाउँ पस्ने गरेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष चापागार्इंले बताउनुभयो । ‘सहवास र आहाराको खोजीमा रोनाल्डो गाउँमा आएको हो’ उहाँले भन्नुभयो ‘त्यसको असर यहाँका गाउँले र पर्यटन व्यवसायमा परेको छ ।’
तीन महिनादेखि हात्ती मानव बस्तीमा प्रवेश गरेर आतंक मच्चाउँदा पनि निकुञ्जले नियन्त्रणको प्रयास नगरेको भन्दै स्थानीय आक्रोसित बनेका छन् । ‘कतिखेर मन्छेलाई आक्रमण गरेर क्षति पु¥याउँछ भन्ने हामीलाई त्रास छ’ मृगकुञ्जका अध्यक्ष चापागाईंले भन्नुभयो, ‘यो कुरा निकुञ्जलाई जानकारी हुँदा पनि चुप लागेर बसेको छ ।’
निरन्तर हात्ती गाउँमा आउन थालेपछि स्थानीयले नियन्त्रणको लागि काम सुरू गर्न निकुञ्जलाई लिखित आग्रहसमेत गरेका छन् । वन्यजन्तु गाउँमा पस्न नदिन सात वर्षअघि लगाइएको विद्युतीय तारबारको प्रभावकारिता घट्दै गएपछि गैंडा, हात्ती, बँदेललगायतका वन्यजन्तुहरु गाउँमा आउन थालेका छन् ।
Discussion about this post