जुटपानी । जुटपानी गाविसलाई यही असार १३ गते साक्षर गाविस घोषणा गरिँदै छ । गाविसभित्र रहेका अधिकांश निरक्षरलाई साक्षर बनाई साक्षर घोषणा गर्न लागिएको हो ।
तीन महिना अघिदेखि सञ्चालित साक्षरता कक्षा प्रभावकारी भएपछि निर्धारित समयमै गाविसलाई साक्षर घोषणा गर्न लागिएको गाविस सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साक्षर गाविस घोषणाको पूर्वसन्ध्यामा मंगलबार जुटपानीमा स्थानीय सहयोगी कार्यकर्ता र निरीक्षकहरुको भेला गरिएको छ । भेलाले मञ्च व्यवस्थापन समिति, प्रचारप्रसार समितिलगायतका विभिन्न पाँच वटा उपसमिति गठन गरेको छ । गाविसभित्र सञ्चालित ८७ वटा साक्षरता कक्षामा १६ सय २५ जनालाई साक्षर बनाई गाविसलाई साक्षर घोषणा गर्न लागिएको पिठुवा स्रोत केन्द्रका स्रोत व्यक्ति रामकृष्ण लम्सालले जानकारी दिनुभयो ।
गाविसको ९७ दशमलव ६९ प्रतिशत नागरिक साक्षर भएको उहाँले बताउनुभयो । कार्यक्रममा कालिका सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष निराजन गौली, स्थानीय निरीक्षक शिशिर सिंखडा, सहयोगी कार्यकर्ता कौशिला न्यौपाने, सरस्वती दाहाललगायतले बोल्नु भएको थियो ।
Discussion about this post