-मधुसूदन दवाडी
अहिले यतिबेला सहरी क्षेत्रहरुमा हे¥यो भने विद्यार्थी तथा अभिभावकहरु कलेजको खोजीमा भौँतारिँदै हिँडिरहेको देखिन्छ । कुन विषय कहाँ, कसरी पढ्ने भन्ने विषयमा धेरैजसो विद्यार्थीहरु अन्यौलमा देखिन्छन् । विद्यालय शिक्षालाई पूरा गरेर उच्चशिक्षाका लागि विषय छनोट गर्ने मह¤वपूर्ण समय प्रवेशिका परीक्षापछिको समय नै हो । प्रवेशिका परीक्षामा जति प्रतिशत ल्याए पनि विद्यार्थीहरुको भविष्यलाई सफल वा असफल बनाउनमा क्याम्पस तहको पढाइमा नै निर्भर रहन्छ । कतिपय विद्यार्थीहरु क्याम्पस जीवनमा राम्रो वातावरण पाउँदा सफल बनेका र नराम्रो वातावरणमा जीवन नै बर्बाद गरेका प्रशस्त उदाहरणहरु छन् ।
यस वर्ष प्रवेशिका परीक्षामा १ लाख ७३ हजार ४३६ विद्यार्थीहरु नियमित उत्तीर्ण भएका छन् र अहिले उनीहरु राम्रो क्याम्पसको छनोट गर्दैछन् । प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि छानिएको विषय र क्याम्पसको पढाइले नै उसको भविष्य निर्धारण गर्ने भएकाले विद्यार्थीले उच्चशिक्षाको विषय छान्दा विशेष सावधानी अपनाउन जरूरी छ । यसका लागि विद्यार्थीको रूचि र क्षमतालाई मुख्य केन्द्रमा राख्नुपर्दछ । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ विद्यार्थीको इच्छा तथा तत्परता छ भने उसले जुनकुनै विषयमा सफलता प्राप्त गर्न सक्छ । परिवारको करकाप वा दबाबमा छानिएको विषय पढेर विद्यार्थी असफल हुने सम्भावना बढी हुन्छ । अभिभावकको दबाबमा पढ्दा पढ्न नसकेर आत्महत्या गरेका घटनाहरु पनि हाम्रो समाजमा देखिन्छन् । बिनाक्षमता वा रूचि अभिभावकको करले मात्र विषय छनोट गर्दा विद्यार्थीहरुको मनोबल कमजोर बनेर विद्यार्थीहरुको भविष्य वल्लो घाट न पल्लो तीर बन्ने गरेका प्रशस्त उदाहरणहरु हाम्रो समाजमा छन् । बीचमा पढाइ छाड्नु तथा विषय बदल्नु त्यसकै उदाहरणहरु हुन्, जसले समय र सम्पत्तिको नष्ट मात्र गर्दछ ।
क्याम्पसको छनोट गर्दा परिवारको आर्थिक क्षमतालाई पनि ध्यान दिनुपर्दछ । विद्यार्थीले घरखेत नै धरौटी राखेर पढ्नुपर्ने अवस्था आयो भने त्यसले परिवारमा झनै कठिनाइ निम्त्याउँछ । त्यसैले, विद्यार्थीहरुले महँगो क्याम्पसहरु छनोट गरेर अभिभावकमा आर्थिक भार थोपर्नुभन्दा त्यही विषय सस्तो क्याम्पसमा अध्ययन गर्नेतर्फ ध्यान दिनुपर्दछ । विद्यार्थीको पढाइ सफल बनाउनेमा विद्यार्थीको मेहनत गर्ने बानी तथा अनुशासनमा पनि भर पर्दछ । त्यसैले, महँगो क्याम्पस पढ्दैमा विद्यार्थी शतप्रतिशत सफल भइहाल्छ भन्ने कुनै ग्यारेन्टी देखिँदैन ।
अभिभावक तथा विद्यार्थीले उच्चशिक्षा छान्दा अरुका छोराछोरीले पढेको विषय भनेर छान्नुभन्दा पनि समसामयिक तथा अहिलेको श्रमबजारमा बिक्ने प्रकारका विषयहरु छान्नुपर्दछ । साथमा, क्याम्पसको कुशल व्यवस्थापन र अनुशासित वातावरण पनि मह¤वपूर्ण हुन्छ । प्रवेशिकामा उच्च अंक ल्याउँदैमा त्यो विद्यार्थीले विज्ञान पढेर डाक्टर वा इन्जिनियर नै बन्नुपर्छ भन्ने हाम्रो समाजको पुरानो मान्यतामा पनि परिवर्तन आउन आवश्यक छ । पेसाले वा विषयले मात्र मानिसलाई ठूलो वा सानो भनेर तुलना गर्न सकिँदैन । हरेक पेसा वा व्यवसाय आफैँमा त्यत्तिकै मह¤वपूर्ण र मुल्यवान् हुन्छ भन्ने सोचको विकास गर्नु अहिलेको मुख्य आवश्यकता देखिन्छ ।
शिक्षा क्षेत्रमा देखिएको बढ्दो व्यापारीकरण तथा निजीकरणका कारणले पनि उच्चशिक्षाका लागि क्याम्पसको छनोटमा अभिभावक तथा विद्यार्थीहरु अन्यौलमा देखिन्छन् । देशमा प्रमुख सहरका चोकचोकमा हरेक वर्ष नयाँनयाँ क्याम्पसहरु खुलेका छन् । समग्र शैक्षिक क्षेत्रको गुणात्मक विकासभन्दा पनि संख्यात्मक विकास बढी हुन गएको छ । नेपालमा पछिल्लो तथ्यांकअनुसार जम्मा उच्चमाविहरुको संख्या ३५९६ रहेको छ, जसमा सामुदायिक उच्च माध्यमिक विद्यालयहरु २६४८, निजी ६५३ र जिरो प्लस टु १५९ तथा क्याम्पसहरु १३६ छन् । यस्ता उच्च माध्यमिक विद्यालय तथा क्याम्पसहरु ग्रामीण भेगमा भन्दा पनि सहरी भागमा नै बढी देखिन्छन् । त्यसैले, अहिले सहरका क्याम्पस तथा उच्च माध्यमिक विद्यालयहरुमा विद्यार्थीहरु तानातान गर्ने होड नै चलेको छ । सामुदयिक क्याम्पस तथा उच्च माध्यमिक विद्यालयभन्दा पनि नाफा कमाउने उद्देश्यले खुलेका निजी उच्च माध्यमिक विद्यालयहरुमा यस प्रकारको अस्वस्थ प्रतिस्पर्धा धेरै देखिन्छ ।
अहिले देशभरका राष्ट्रिय तथा स्थानीय मिडियाहरु सबैमा क्याम्पसहरुको विज्ञापन प्रशस्त मात्रामा प्रकाशित तथा प्रसारित भइरहेका छन् । धेरैजसो क्याम्पसका विज्ञापनहरु टेलिभिजनमा हेर्दा पाँचतारे होटलको जस्तो सुविधासम्पन्न भौतिक सुविधाहरु देखिन्छ । अत्याधुनिक कोठाहरु, लाइब्रेरी, लिफ्टदेखि लिएर प्रत्येक कोठामा सिसीटिभीसम्म राखेको पाइन्छ । तर, उच्चशिक्षाको अध्ययनमा क्याम्पसको भौतिक सुविधाले मात्र ठूलो भूमिका खेल्न सक्दैन । उच्च भौतिक सुविधाको विज्ञापन गर्नु त विद्यार्थीहरुलाई लोभ्याउने रणनीति मात्र हो । राम्रोसँग विषयवस्तुलाई बुझेका दक्ष प्राध्यापकहरुको अभावमा भौतिक सुविधाले मात्र विद्यार्थीहरुले शिक्षामा राम्रो उपलब्धि हासिल गर्न सक्दैनन् ।
कतिपय क्याम्पसहरुले विज्ञापनमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापकहरुको नाम राखेर विज्ञापन गर्ने गरेका छन् । तर, विज्ञापन गरिएका प्रध्यापक वर्षमा एकपल्ट पनि फर्केर क्याम्पस आएको देखिँदैन । कति जना त विदेश गएका हुन्छन्, तर नेपालका क्याम्पसहरुले नामको प्रचारप्रसार गरेर कमाइरहेका छन् । कयौँ निजी क्याम्पसमा पूर्णकालीन प्राध्यापकहरु भन्दा पनि हेल्मेट प्राध्यापकहरुको बाहुल्यता देखिन्छ । ऊ ४५ मिनेटको कक्षा पनि हतारहतार पढाएर अर्काे क्याम्पसतिर दौडन हतार हुन्छ र पिरियडको हिसाबले पैसा दिने भएकाले क्याम्पसले पनि छिटोभन्दा छिटो कोर्ष सक्नका लागि यस्ता हेल्मेट प्राध्यापकहरुलाई दबाब दिने गर्दछन् । कयौँ क्याम्पसमा त हरेक महिनाजसो प्राध्यापकहरु बदलिने भएकाले विद्यार्थीहरुलाई प्राध्यापकको नामसम्म याद हुँदैन । यस्तो अवस्थामा विद्यार्थीहरु र प्राध्यापकको बीचमा दोहोरो अन्तक्र्रिया र छलफल त सम्भव नै छैन । विद्यार्थीहरुका जिज्ञासाहरु राख्न सक्ने र प्राध्यापकहरुसँग दोहोरो अन्तक्र्रिया गर्ने वातावरणको निर्माण नभएसम्म सिकाइ प्रक्रियामा प्रभावकारिता आउन सक्दैन ।
उच्चशिक्षा अध्ययनमा प्राध्यापकको विषयवस्तुप्रतिको ज्ञान तथा प्राध्यापन गर्ने कलामा पनि भर पर्दछ । विश्वको प्रशिद्ध विश्वविद्यालयमा उच्चशिक्षा हासिल गरेका कयौँ प्राध्यापकहरु पनि विषयवस्तु विद्यार्थीलाई बुझाउन नसक्दा प्राध्यापन पेसाबाट हात धुनु परेका कयौँ उदाहरणहरु छन् । सधैँ एउटै नोट मात्र दोहो¥याउने तथा सधैँ एकै प्रकारको पाढ्यपुस्तकमा आधारित रहेर मात्र विद्यार्थीहरुको अध्ययन गर्ने तथा विषयवस्तुलाई विश्लेषण गर्ने क्षमतामा प्रभावकारिता आउन सक्दैन । अहिले विद्यार्थीहरुको सिकाइ प्रक्रियामा विश्लेषणात्मक क्षमता हराउँदै गएको छ । हाम्रो पठनपाठन शैलीमा परिवर्तन ल्याएर प्राध्यापकहरु धेरैभन्दा धेरै अध्ययनशील र विषयवस्तुमा अपडेट नभएसम्म उसले विद्यार्थीहरुलाई राम्रोसँग बुझाउन सक्दैन । विद्यार्थीमा तार्किकता तथा विश्लेषण गर्ने क्षमताको अभाव रहेसम्म त उसले आर्जन गरेको ज्ञानलाई व्यवहारमा उपयोग गर्न पनि सक्दैन ।
अहिले विद्यार्थीहरुमा पाढ्यपुस्तक वा गेसपेपर कण्ठ गरेर परीक्षामा धेरैभन्दा धेरै अंक प्राप्त गर्ने उद्देश्य राख्नभन्दा पनि विद्यार्थीहरुमा सिर्जनशील सोच, समस्या समाधान गर्ने सीप, सामाजिक तथा भावनात्मक विकासको परीक्षण गर्ने कलाको विकास गर्न आवश्यक देखिन्छ । व्यक्तित्वको विकास तथा बोल्ने, मानिसहरुसँग व्यवहार गर्ने क्षमता तथा सीपले नै मानिसले सजिलै रोजगारी प्राप्त गर्न सक्छ । क्याम्पस तथा उच्च माध्यमिक तहमा पढ्ने विद्यार्थीहरुलाई नैतिक शिक्षाको पनि त्यत्तिकै जरूरी पर्दछ । विभिन्न संकायमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुमा समाजमा घुलमिल हुने तथा मानिसहरुसँग बोल्ने कलामा कमी रहेको देखिन्छ, जसको अभावले गर्दा अहिले विद्यार्थीमा अनुशासनमा गिरावट आएको देखिन्छ ।
प्राध्यापकहरुको क्षमता तथा विद्यालयको शैक्षिक वातावरण एकातिर छ भने अर्काेतिर नेपालको उच्चशिक्षामा देखिएको पुरानो पाठ्यक्रम र पुरानो परीक्षा लिने परम्परामा पनि परिवर्तन आउन सकेको छैन । प्रश्नपत्र पुरानै ढाँचाको छ भने रिजल्ट आउन पनि ढिलाइ हुने गरेको छ । वर्षभरि विद्यार्थीले पढेको ज्ञानलाई तीन घन्टाको लेखाइमा मूल्यांकन गरेर उसको सफलता र असफलता मापन गर्नुपर्ने शैक्षिक क्षेत्रको बाध्यता रहेको छ । अहिले सरकारले अहिलेको आर्थिक वर्षमा वार्षिक बजेटको झण्डै १६ प्रतिशत लगानी गरेको भए पनि शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन भने आउšन सकेको छैन । सरकारले उच्च माध्यमिक विधालयहरु तथा क्याम्पसहरुको अनुगमन तथा निरिक्षण गर्ने प्रक्रिया निकै कमजोर रहेको छ । देशको कुन क्षेत्रमा कस्तो प्रकारको जनशक्ति आवश्यक पर्दछ भन्ने तथ्यांक शिक्षा मन्त्रालय देखि कुनै पनि निकायसँग छैन त्यसकारण शैक्षिक संस्था र श्रम बजारको वीचमा कुनै तालमेल हुन नसक्दा वर्षेनी नेपालका क्याम्पसहरुले शैक्षिक वेरोजगारहरु उत्पादन गरिरहेका छन् । उच्च शिक्षा तथा रोजगारीको खोजीमा नेपालको करोडौ डलर हरेक वर्ष विदेशिने गरेको छ । अहिले जुनकुनै विषय पढ्दा पनि देशभित्र रोजगारीको ग्यारेन्टी हुन सकेको
छैन । त्यसैले क्याम्पसहरुले गर्ने विज्ञापनकै आधारमा अभिभावकहरु मख्ख पर्नुपर्ने तथा छोराछोरीको भविष्य सुनिश्चित हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । जुनकुनै विषय अध्ययन गर्दा पनि विधार्थीको भविष्य उज्वल बनाउनको लागि क्याम्पसको शैक्षिक वातावरण,विधार्थीहरुको मेहनत तथा अभिभावकको लगानी मुख्य रुपमा जिम्मेवार छ । विस्कुट तथा चाउचाउको विज्ञापन गरेजस्तो क्याम्पसको विज्ञापन गरेर विधार्थी तथा अभिभावकलाई फसाउने अहिलेको शैक्षिक क्षेत्रको आम प्रवृत्तिलाई भने सबैले निरुत्साहित गर्नुपर्दछ ।
Discussion about this post