भरतपुर । नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष शेखर गोल्छाले यस संस्थालाई देशभर नै विस्तार गर्दै लैजाने बताउनुभएको छ ।
सोमबार चितवनमा भएको अटोमोबाइलसम्बद्ध कर्मचारीहरुसँगको छलफलमा बोल्दै अध्यक्ष गोल्छाले आफूहरु राजधानी केन्द्रित हुन नचाहेको धारणा राख्नुभयो । देशभर छरिएर रहेका अटोमोबाइल व्यवसायीलाई समेटेर अघि बढ्ने अभियान स्वरुप नै कार्यसमितिसहित चितवनमा छलफल आयोजना गरिएको उहाँको भनाइ थियो ।
देशका विभिन्न सहरमा अटो बजार स्थापना गर्ने काममा आफूहरुको नैतिक समर्थन रहने पनि अध्यक्ष गोल्छाले बताउनुभयो । राजस्व र रोजगारी दिने सवालमा आफूहरुको व्यवसाय अग्रणी रहे पनि राज्यले विभिन्न बहाना बनाएर बेवास्ता गर्ने गरेको नाडाका निवर्तमान अध्यक्ष सौरभ ज्योतिले बताउनुभयो ।
‘हामीलाई हेर्ने सरकारको दृष्टिकोण संकुचित छ, ज्योतिले भन्नुभयो । छलफल कार्यक्रममा झापा, मोरङ, मकवानपुर, पोखरा, तनहुँ, चितवनलगायतका जिल्लाका अटोमोबाइल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अटोमोबाइल एसोसिएसन हेटौंडाका अध्यक्ष नारायण कँडेलले नाडालाई महासंघको रुपमा विस्तार गरिनुपर्ने बताउनुभयो । चितवन अटोमोबाइल एसोसिएसनको आयोजनामा भएको छलफल कार्यक्रम चितवन अध्यक्ष बालकृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post