भरतपुर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य रघुजी पन्तले पार्टीको आगामी महाधिवेशनबाट माधवकुमार नेपाल नै अध्यक्ष हुने दावी गर्नुभएको छ ।
आइतबार भरतपुरमा भएको पत्रकार भेटघाटमा नेता पन्तले सहमति वा चुनाव जे भएपनि वरिष्ठ नेता नेपालको विकल्प नभएको बताउनुभएको हो । देशभर गरिएको प्रारम्भिक अनुमानमा नेपाल पक्षधरहरु ७५ प्रतिशतको हाराहारीमा रहेको नेता पन्तले बताउनुभयो ।
पार्टीको भविष्य कस्तो हुने भन्ने कुरा नेता नेपालको नेतृत्वमा भरपर्छ, उहाँले भन्नुभयो । महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा लगभग सहमति बनी सकेको र त्यो प्रतिवेदनको नेतृत्व पनि नेता नेपालले गरेको भन्दै पन्तले जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा जोड दिनुभयो ।
वैचारिक, राजनैतिक र सैद्धान्तिक नेतृत्व नेपालले लिएको उहाँको भनाइ छ । अबको अध्यक्षले नेकपा एमाले पार्टीको मात्र नेतृत्व नगरी समग्र देशको नेतृत्व गर्नुपर्ने हुनाले यसका लागि नेता नेपालमात्र योग्य रहेको दावी गर्नुभयो । केपी ओलीसँग प्रतिस्पर्धा गर्नुपरेमा पनि नेता नेपाल नै नेतृत्वमा आउने उहाँको भनाइ थियो ।
Discussion about this post