भरतपुर । वर्षा लागेपछि धाराबाट आउने पानी केही धमिलो हुने गर्छ । यस्तो पानी खाने वा नखाने सबैलाई दोधार हुन्छ । हेर्दा सफा लागे पनि गुणस्तर कस्तो छ धेरैको मनमा शंका हुन्छ । तर यस्ता दुविधा निराकरण गर्न सकिन्छ । भरतपुरमा यो सुविधा उपलब्ध छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरमा क्षेत्रीय पानी परीक्षण प्रयोगशाला स्थापना भएको छ । डिभिजन कार्यालयका प्रमुख चक्रपाणि शर्मा भन्छन् ‘तपाइँलाई शंका लागेमा पानीको नमुना लिएर आउनुहोस् । खान मिल्ने या नमिल्ने के छ हामी परीक्षण गर्छौं ।’
क्षेत्रीय प्रयोगशालामा मध्यमाञ्चल क्षेत्रका १९ जिल्लाका खानेपानी आयोजनाका मात्रै होइन, सर्वसाधारणले ल्याउने नमुना परीक्षण गर्न पाउने सुविधा रहेको छ । सर्वसाधारणले परीक्षण गर्न आउँदा निश्चित रकम भने तिर्नुपर्ने हुन्छ ।
‘महिनाको पाँच जनासम्म आफूले प्रयोग गरेको पानी परीक्षण गर्न आउने गरेका छन्’, प्रयोगशालाका केमिस्ट रामकृष्ण खनालले भने । अस्पतालहरु पनि खानेपानी परीक्षण गर्न आउने गरेका छन् । विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघसंस्था पनि परीक्षणका लागि आउने उनले बताए ।
परीक्षणका लागि आएकामध्ये पूर्वी चितवनको बाघमारा क्षेत्रमा आर्सेनिकको समस्या देखिएको खनालले जानकारी दिए । पानीमा दिसामा हुने कोलिफर्म जस्ता किटाणुहरु छ या छैनन् भन्ने हेर्न आउने पनि धेरै नै छन् । दिसामा हुने किटाणुहरुले टाइफाइड, जण्डिस, झाडावान्ता जस्ता स्वास्थ्य समस्या आउँछ ।
‘त्यसैले दिसामा हुने किटाणुहरु छन् या छैनन् भन्ने चासो दिएर आउनेहरु पनि छन्’ केमस्ट्री खनालले भने । पानीमा हुने भौतिक, रासायनिक र जैविक अवस्था परीक्षण गरेर गुणस्तरीय छ या छैन भन्ने निक्र्यौल गरिन्छ । कुन त¤व परीक्षण गर्न खोजेको हो त्यहीअनुसारको शुल्क तिर्नु पर्ने हुन्छ ।आर्सेनिक जस्ता रासायनिक त¤व परीक्षण गरेको ३५० रुपैयाँसम्म तिर्नुपर्ने खनालले जानकारी दिए । त्यस्तै पानीमा फलाम र व्याक्टेरियाको परीक्षण गर्दा २५० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । डिभिजन कार्यालयका प्रमुख शर्मा बढीमा एक हजार रुपैयाँसम्म खर्च हुने बताउँछन् ।
परीक्षणका लागि नमुना ल्याउँदा प्रयोगशालाका प्राविधिकहरुसँग विशेष सरसल्लाह गरेर सुरक्षित तवरमा खानेपानी ल्याउनुपर्ने हुन्छ । कसरी पानी ल्याउने हो त्यो कुरा आफूहरुले सिकाउने गरेको केमिस्ट खनालले बताए । नमुना सुरक्षित तवरमा नल्याए समस्या हुने गर्छ ।
सोचे जति सर्वसाधारणहरु अझै नआएको खनालको अनुभव छ । प्रचारप्रसारमा कमी भएर पनि सर्वसाधारणले थाहा नपाएको हुन सक्ने उनले बताए । त्यसो त भर्खरभर्खर मात्रै सञ्चालनमा आएको प्रयोगशालामा जनशक्ति, उपकरण र रसायनहरुको पनि अभाव छ ।
प्रयोगशालाका लागि केमिस्ट, एसिसटेन्ट केमिस्ट, मेकानिक्स र जुनिएर मेकानिक्सको दरबन्दी रहेको छ । तर तोकिएकोदरबन्दी अनुसारको जनशक्ति भने छैन । केमिस्ट र जुनियर मेकानिकस्ले प्रयोगशालाको काम गर्दै आएका छन् ।
‘दरबन्दीअनुसारको जनशक्ति भने छैन । तर कामको चाप पनि ज्यादै नभएकाले अहिले त्यति समस्या छैन । परीक्षण गर्न आउनेहरु बढ्दै जाँदा भोलि कामको चापाचाप भयो भने अलि अफ्ठ्यारो पर्न सक्छ’, प्रयोगशालाका केमिस्ट खनालले भने ।
Discussion about this post