सूर्यचन्द्र बस्नेत/विष्णु नेपाल
काठमाडौँ । मानो रोपी मुरी उब्जाउने असार महिनाको चटारोमा चारवटा निर्वाचन क्षेत्रका भाग्यमानी जनताले सात महिनापछि पुनः आइतबार हुने उपनिर्वाचनमा आफूले मन पराएको उम्मेदवारलाई मतदान गरी संविधानसभा सदस्य चुन्दैछन् ।
गत मङ्सिर ४ मा सम्पन्न ऐतिहासिक दोस्रो संविधानसभाको निर्वाचनमा दुई÷दुई ठाउँबाट चुनाव जितेका उम्मेदवारले एक स्थान छाडेका कारण काठमाडौँ–२, चितवन–४, बर्दिया–१ र कैलाली– ६ मा उपनिर्वाचन हुन लागेको हो ।
ती क्षेत्रबाट क्रमशः माधवकुमार नेपाल, सुशील कोइराला, वामदेव गौतम र शेरबहादुर देउवा विजयी हुनुभएको थियो । उहाँहरुले सो स्थान छाडेका कारण उपनिर्वाचन हुन लागेको हो ।
‘सम्पूर्ण मतदान विद्युतीय मतदान ः सबै मत सदर मत’ भन्ने भनाइका साथ निर्वाचन आयोगले ती चारवटै निर्वाचन क्षेत्रमा विद्युतीय उपकरणद्वारा मतदान हुने व्यवस्था मिलाएको छ । आयोगसँग मौज्दात रहेका विद्युतीय उपकरणबाट विद्युतीय मतदानको व्यवस्था मिलाइएको हो । यसका लागि आयोगले निर्वाचनमा परिचालन हुने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत सबैलाई तालिम दिई तयारी पूरा गरेको जनाएको छ ।
उपनिर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, निर्वाचनका लागि खटिने कर्मचारी, केन्द्रीय अनुगमन, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा खटिने जनशक्तिमा कर्मचारी र स्वयम्सेवक गरी जम्मा तीन हजार ५२० जना खटिनेछन् ।
मतदान व्यवस्थापनका लागि सम्पूर्ण निर्वाचन सामग्रीसहित आवश्यक जनशक्ति सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको र मतदानपूर्वको सबै तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जानकारी दिनुभयो ।
उपनिर्वाचनका लागि करिब ११ करोड खर्च हुने अनुमान आयोगले गरेको छ । आयोगले दुई वर्षअघि नै दुई–दुई ठाउँबाट चुनाव लड्ने प्रावधान राख्न नहुने कानुनको मस्यौदा गरेको भए पनि सोअनुरुपको ऐन बन्न नसक्दा उपनिर्वाचनको व्यवस्थाले निरन्तरता पाएको हो ।
लोकतन्त्रमा निर्वाचनपछि हुने उपनिर्वाचनलाई राजनीतिक दलहरुको लोकप्रियता जाँच्ने कसीका रुपमा लिइने भए पनि खर्चिलो हुने कारण यसप्रकारको उपनिर्वाचनको आलोचना पनि हुँदै आएको छ ।
चारै क्षेत्रको मतदाताको कुल सङ्ख्या दुई लाख पाँच हजार ३०४ छ । त्यसमा एक लाख २८ हजार ८८७ पुरूष, एक लाख २२ हजार ४११ महिला र छ जना तेस्रोलिङ्गी छन् ।
आयोगका अनुसार यसपटक ती क्षेत्रमा थप २६ हजार मतदाता परिचयपत्र वितरण गरिएको छ । फोटोसहितको मतदाता परिचयपत्र लिएर मतदान स्थलमा जानुपर्ने आयोगले जनाएको छ । परिचयपत्र केही कारणबाट नभएमा नागरिकता अथवा आफ्नो फोटो भएको परिचय खुल्ने परिचयपत्रबाट पनि मतदान गर्न सकिने आयोगको भनाइ छ ।
उपनिर्वाचनमा सुरक्षाका लागि नेपाल प्रहरी पहिलो घेरामा र दोस्रो घेरामा सशस्त्र प्रहरी बललाई खटाइने व्यवस्था मिलाइएको छ । निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी ७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये दलका ६० र स्वतन्त्र १६ छन् । महिला नौ र पुरूष ६७ छन् भने यसपटक ८१ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । काठमाडौँ २ मा ३७, चितवन ४ मा १२, बर्दिया १ मा १२ र कैलाली ६मा १५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
आयुक्त इला शर्माले उपनिर्वाचनलाई भव्य रुपमा सम्पन्न गर्न सबै मतदाताहरुलाई मतदानमा सहभागी हुन आह्वान् गर्दै मौन अवधिमा निर्वाचनलाई प्रभाव पर्ने गरी कुनै पनि किसिमको प्रचार नगर्न अनुरोध गर्नुभयो ।
चार क्षेत्रमा १३७ मतदान स्थल र ३२४ मतदान केन्द्र छन् । काठमाडौँ–२ मा ३९ मतदान स्थल र ९० मतदान केन्द्र, चितवन–४ मा ३१ मतदान स्थल र ८१ मतदान केन्द्र, बर्दिया–१ मा ३७ मतदान स्थल र ७८ मतदान केन्द्र साथै कैलाली–६ मा ३० मतदान स्थल र ७५ मतदान केन्द्र छन् ।
उपनिर्वाचन हुने चार क्षेत्रमा आयोगले मतदान केन्द्रमा कर्मचारी खटाउँदा उपलब्ध भएसम्म ५० प्रतिशत महिला कर्मचारी खटाउने र समावेशी सिद्धान्तलाई ध्यान दिने नीति लिइएको निर्वाचन आयुक्त शर्माले जानकारी दिनुभयो ।
आयोगले निर्वाचन स्थलमा सम्पूर्ण सामग्री पुगेको, फोटोसहितको मतदाता परिचयपत्र वितरण भइरहेको, सुरक्षा व्यवस्था सुदृढ गराइएको र तथा आवश्यक मतदान स्थलको प्रबन्धको तयारी पूरा भएको जनाएको छ ।
आयोगले मतदान कार्यपश्चात् विद्युतीय मतदान उपकरण तोकिएको मतगणना स्थलमा आइसकेपछि मतगणनाको कार्य सुरू गर्ने र छिटोभन्दा छिटो मतपरिणाम आउने जनाएको छ । मतगणनाको परिणाम असार ९ गते बिहानसम्म आउने गरी तयारी गरिएको प्रमुख आयुक्त उप्रेतीले बताउनुभयो ।
मङ्सिर ४ मा सम्पन्न संविधान सभा निर्वाचमा पर्यवेक्षण गरी आयोगमा प्रतिवेदन बुझाएका पर्यवेक्षक सस्थालाई मात्र उपनिर्वाचनमा पर्यवेक्षणको अनुमति दिइएको छ ।
उपनिर्वाचनमा ११ राष्ट्रिय संस्थाका आठ सय पर्यवेक्षक खटिने छन् । पर्यवेक्षक संस्थाले चारवटै निर्वाचन क्षेत्रमा पर्यवेक्षक खटाउनु पर्ने र मतदान कार्य सम्पन्न भएको ४५ दिनभित्र आयोगमा प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था छ ।
काठमाडौँ २ को चुनावी विश्लेषण
विसं २०४६ को प्रजातन्त्र स्थापनापछि सबैभन्दा बढी मतदान गर्ने भाग्यमानी मतदाता काठमाडौँ क्षेत्र नम्बर २ का नै हुन् । आज हुने उपनिर्वाचनसम्ममा आइपुग्दा आठपटक यहाँका मतदाताले मतदान गर्ने सौभाग्य प्राप्त गर्दैछन् ।
विसं २०४८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी तत्कालीन नेकपा (एमाले) का मदन भण्डारी विजयी हुनुभएपछि यस क्षेत्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यान खिच्दै सधैँ चर्चामा रहँदै आएको छ ।
२०५१ को मध्यावधि संसदीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीलाई यसै क्षेत्रका जनताले विजयी गराएका थिए । गणतन्त्र स्थापना भएपछि विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा (माओवादी) का उम्मेदवार झक्कुप्रसाद सुवेदीले नेकपा (एमाले) महासचिव माधवकुमार नेपाललाई पराजित गराएपछि यो निर्वाचन क्षेत्र फेरि एक पटक चर्चामा आयो ।
गत मङ्सिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल यस क्षेत्रबाट विजयी हुनुभयो । उहाँले उक्त स्थान छाडेपछि आठौँपटक यहाँका जनताले मतदान गर्ने शौभाग्य पाएका हुन् ।
यसपटकको निर्वाचनमा कांग्रेसका दीपक कुँइकेल, नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ र एकीकृत नेकपा (माओवादी) का लीलामणि पोखरेलबीचमा नै मुख्य प्रतिस्पर्धा रहने देखिन्छ ।
उपनिर्वाचन भएकाले यो पटकको चुनावी प्रचार अभियानमा आमनिर्वाचनमा जस्तो खासै रौनक नदेखिएको चर्चा चले पनि अन्ततः चारै क्षेत्रका मतदाताहरु भने मतदानको व्यग्र प्रतीक्षामा देखिएका छन् । उपनिर्वाचनका लागि चारै क्षेत्रका जिल्लामा सरकारले बिदासमेत दिएको छ । रासस
Discussion about this post