सूचना प्रविधिको विकासले संसार एकै छानोमुनिको घरजस्तै भएको वर्तमान दुनियाँ अनि बढ्दो ग्लोबलाइजेसनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टामा चिठीपत्र बाँधिदिएर लैजा चरी हावासरी भनेर आसेभरोसे अवस्थामा पक्कै बस्नु परेको छैन । श्रीमती गर्भवती भएको खबरसहितको चिठी ससुराली पठाएको ज्वाइँले छोरी जन्मेर कक्षा ३ मा पढ्दा मावली घर जाँदा त्यो पत्र त्यही दिन पुगेको जस्तो हुलाकको विलम्ब सेवा पनि अबको पुस्तालाई केवल एकादेशको कथाजस्तै लागिसकेको छ । हिजोजसरी सूचना गुमराहमा बस्नुपर्ने अवस्थामा छैनौँ हामी आजका दिनमा । २००७ सालमा मुलुकमा प्रजातन्त्र आएको कुरा हुम्लाका जनताले २००८ सालको अन्त्यतिर सुनेका थिए रे ! प्रवेशिका परीक्षाको नतिजा हेर्न हिजो केवल एकमात्र सरकारी समाचारपत्र थियो, नतिजा आएको एक साताभन्दा पछि सदरमुकाम पुगेर गएर पत्रिका ल्याएपछिमात्रै जानकारी पाइन्थ्यो । धेरै पनि भएकै छैन, केही वर्षकै अन्तरालमा सञ्चार जगत्ले हाम्रो देशमा यति छिटो पाइला चालिरहेको छ कि यसले अन्य धेरै पूर्वाधारका सूचकाङ्कलाई समेत पछि पार्दै आफूलाई अब्बल साबित गरेको छ । हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त यसले यति चाँडो आफ्नो प्रभाव विस्तार गरेको छ भने झन् विकसित मुलुकहरुमा सूचना प्रविधिको विकास कसरी भइरहेको होला हामी सहजै अनुमान लगाउन सक्छौँ । आज यहाँ प्रस्तुत गर्न लागिएको विषय भनेको युट्युब मिडिया अनि यसले समाजमा फैलाइरहेको विकृतिसँग सम्बन्धित छ ।
केही दिनअगाडिदेखि मैले यस विषयमा लेख लेख्न धेरै रिसर्च गरेँ, अनि के यो ट्रेन्ड नेपालमा मात्र हो त ? भनेर बुझ्दै जाँदा यसले सारा विश्वभरि नै ‘बेतुक’को खबरलाई चाँडो फैलाउँदै भाइरल बनाउने प्रवृत्ति रहेको पाइयो । जुन कुराको नियमन गर्न धेरै मुलुकहरुले प्रभावकारी संयन्त्र नै बनाएर परिचालन गरिसकेको र यस्ता किसिमका अफवाह फैलाउने काम गर्ने सबै सामाजिक सञ्जालहरुलाई कारबाही गर्ने गरेको पाइयो । वास्तविक सूचनालाई अनावश्यक रङ लगाई अनेकौँ फूलबुट्टा भरेर कुन शब्द र शीर्षकले तुरून्तै कौतुहलता देखाउँछन् त्यो शीर्षक लेखी भित्र बेतुकको समाचार सामग्री राख्ने मुलुकमा सायद हाम्रो नाम अग्रपङ्क्तिमै आउँछ होला ! के यी अफवाहकै निमित्त मात्र यस्ता सामाजिक सञ्जालको प्रार्दुभाव भएको हो त ? यी र यस्ता विषयमा कलम चलाउनुअघि यसको इतिहास अध्ययन गर्नु आवश्यक भएको हुँदा मैले बुझेसम्म देहायअनुसारका लागि यस्ता केही तीन मह¤वपूर्ण सञ्जालको विकास भएको पाइयो :
इन्टरनेट
टिम बरनर्स लीद्वारा सन् १९६० को दशकमा अमेरिकाको रक्षा विभागको अनुसन्धान गर्नका लागि विकास गरिएको थियो इन्टरनेट । अहिले यसको प्रयोगकर्ता तीन अर्बभन्दा माथि रहेका छन् । सुरूवात ताका ‘अरपनेट’ नामकरण गरिएको यसको नाम पछि मात्र ‘इन्टरनेट’ भएको हो । यसलाई पछि अक्सफोर्ड विश्वविद्यालयले विस्तार गरेको थियो । सूचना आदानप्रदानका लागि छिटोछरितो बनाउन यसको सुरूवात भएको मानिन्छ ।
फेसबुक
युवा विद्यार्थी जुकरवर्कले सन् २००५ मा आफ्ना हराएका प्रियजन भेट्न सकिन्छ कि भन्ने हेतुले स्थापना गरेका एक गुगल इन्जिनले अत्यन्तै छोटो समयमै यति लोकप्रियता हासिल ग¥यो कि आज विश्वको १ दशमलब ७ बिलियन जनसंख्याले यो सेवाको प्रयोग गरिरहेको पाइएको छ । सन् २००७ मा यसको व्यापक सम्भावना देखेर विश्वको ठूलो औद्योगिक घराना माइक्रोसफ्टले यो सञ्जाल आफैँले खरिद गरी यसका संस्थापकलाई नै प्रमुख बनाएर सेवा प्रवाह गर्न लागेपछि भने ती युवा विद्यार्थीले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । यानि कि यसले यति चाँडै छलाङ मारेर एक कोशेढुङ्गा नै साबित गरिदियो । सामाजिक सञ्जालमध्ये सबैभन्दा लोकप्रिय यो सञ्जाल बनाउने विद्यार्थी हिजो कलेज फी तिर्न पार्ट टाइम काम गर्ने गरेकोमा अहिले फोब्र्स म्यागजिनका अनुसार उनी विश्वकै केही धनी व्यक्तिभित्र परेका छन् ।
युट्युब
सन् २००५ मै चेड हर्ली, स्टिब चेन अनि जावेद कारिम नामक एप्पल कम्पनीका दिग्गज आइटी इन्जिनियरहरुको संयुक्त पहलकदमीमा यसको सुरूवात अथवा आविष्कार भएको मानिन्छ । फेब्रुअरी १४ यानि कि प्रणय दिवसका दिन डेटिङ साइटका लागि बनाइएको यस साइटले पनि स्थापनाको छोटो समयमै आफ्नो विकासमा फेसबुकले झैँ छलाङ नै मारेको छ । स्थापनाकै १८ महिनापश्चात् गुगलजस्तो प्रसिद्ध इन्जिनले यो खरिद गरेपश्चात् यसले दिन दुई गुणा रात चौगुणा व्यापकता पाएको हो । एक सर्वेअनुसार हाल युट्युबमा दैनिक सरदर एक करोड भिडियो अपलोड हुने गर्दछ भने हाल यसको प्रयोगकर्ता डेढ अरबभन्दा माथि रहेका छन् ।
तर, तत्कालीन समय र कार्यका लागि स्थापना भएका यस्ता सञ्जालहरुमध्ये हाम्रो मुलुकमा आइपुग्दा युट्युब मिडियाहरुले पस्कने अतिरञ्जनासहितको बेतुके खबरले जगहँसाइ भइरहेको छ । के भन्दाचाहिँ धेरैभन्दा धेरैले त्यो हेर्छन्, अनि आफ्नो भ्यूज र सब्स्क्राइब बढ्छ, त्यस्तै त्यस्तै ‘पाङ न पुच्छर’का शीर्षक राखेर अतिरञ्जनासहित खबर सम्प्रेषण गरिरहँदा विपद्को बेलामा जनताहरु थप अन्योलमा हुने र झन् डर तथा चिन्ता थपिने गर्दछ । यस्ता भ्रामक खबरले जनमानसमा पार्ने प्रभाव आँकलन नै नगरी अनावश्यक कुरालाई बढाइचढाइ गर्ने प्रवृत्तिले त्यसै त चिन्ता र डरको अवस्थामा बसेका सर्वसाधारणहरुमा थप चिन्ता बढाउने काम यिनै कुपात्रहरुले गरिरहेका छन् ।
यसो बाहिरतिरका विदेशी मिडियाहरु हे¥यो, जहाँ कति चाखलाग्दा समाचारहरु आइरहेका हुन्छन् । विश्वका मिडियाहरुले आज नासाका वैज्ञानिकहरुले यो पत्ता लगाए, विश्व बजारमा आज यति अंकले कारोबार भयो, इरान र उत्तर कोरियाले संयुक्तरुपमा सैन्य अभ्यास गर्ने घोषणा, एप्पल कम्पनीले माइक्रोसफ्टसँग मिलेर यति रकम समाजसेवाका लागि विनियोजनलगायतका खबर पस्किरहेको बेला तर हाम्रा बिचरा मिडियाहरुचाहिँ एसबाट नाम आउनेले मीठो खाना पकाउँछन् रे, सुपादेउराली मन्दिर जहाँ लाइक गर्दिनासाथ नसोचेको कुरा पूरा हुने गर्छ, भूमिसुधारमन्त्रीद्वारा स्याङ्जा पुगेर कर्मचारीहरुलाई निर्देशन : काम राम्रोसँग गर्नूलगायतका कुरामा आफ्नो अमूल्य समय बर्बाद बनाउँदैछन् । तेह्रथुमको सामूहिक हत्या प्रकरणमा मूलधारका मिडियाभन्दा अगाडि तिनै कुपात्रहरु पुगेछन् र त्यहाँको वातावरणमा लाइभ दिँदै एकले सो दुर्घटनामा बाँच्न सफल सानी बच्चीलाई सोधेको प्रश्न देख्दा जोकोहीले पनि भाटो निकालेर बजाउन मन लाग्ने थियो । सबैभन्दा पहिला कसलाई काट्यो, अनि रगत कतिजति आयो, तिम्रो मनमा त्यो देख्दा कस्तो फिल भयो ? तिमी अहिले त्यो मान्छेलाई भेट्यौ भने के गर्छौ ? जस्ता एकदमै संवेदनहीन प्रश्न सोधेको हुँदा त्यस्तालाई खबर सम्प्रेषण गर्ने अधिकार कसले दियो ? २०७२ सालको भूकम्प जाँदा, सबै जनता डर र चिन्तामा बसिरहेका बेला यिनीहरुचाहिँ अझै ९ रेक्टरको भूकम्प जान्छ भनेर नासाले भन्यो रे, एकछिनपछि आउँछ रे, यति बजे आउँछ रे, उति बजे आउँछ रे, यस्ता अनेक–अनेक डर देखाइदिएर आफ्नो भ्यूज बढाउन खोज्ने तोरीलाहुरे प्रवृत्तिबाहेक अरु केही बाँकी देखिन्न ।
विषय केही पाउँदैनन् अनि कहिले जोगी, कहिले भोगी, कहिले ढोँगी, कहिले रोगीलाई मिडियामा स्थान दिएर आफ्नो गुजारा चलाउने परिपाटी जारी राख्छन् । खबरको शीर्षक देख्दा पनि झर्को लागेर आउने हुन्छन् । उदाहरणका लागि शिल्पा रूँदारूँदा साउन–भदौको बर्खाको पानीभन्दा धेरै आँसु झ¥यो, दयाहाङ राईलाई सन्तान प्राप्ति, के जन्मियो हेर्नुहोस्, वरिष्ठ विश्लेषक पुण्य गौतमले गरे एक खुलासा ः यो सरकार जनताको हितमा छ, अन्तर्वार्तामै सुरेन्द्र केसी यसरी भक्कानिए, धुर्मुस–सुन्तलीकै सामुन्ने सुबोध गौतमले पिसाब उम्कने गरी यसरी हँसाए, वरिष्ठ नारी अधिकारवादी नेत्री सावित्री सुवेदीले भनिन् : आफ्नो रजस्वलाको रगतले मन्दिरको भित्ता पोत्न मन छ, सासू–बुहारीको झगडामा हेर्नुहोस् बुहारीको एक मुठी कपाल भुत्ल्याएर सासूले भनिन् : अझै रिस मरेको छैन, हनिमुनपछि नायिका रिचा शर्मा पहिलोपटक मिडियामा : भनिन् मज्जा आयो, अध्यक्ष प्रचण्डले बिहान–बिहान इक्सरसाइज गर्न साइकल चलाउँछन्, आम्मामा गगन थापाको अहिलेसम्मको डरलाग्दो खुलासा : कम्युनिस्ट सरकारले जनहितमा काम गर्न सकेन, फलानो नेताले सार्वजनिक मिडियामा भने– देशको विकास गर्नुपर्छ आदि इत्यादि । एक राम्रै भ्यूज भएको युट्युब मिडियावालाको ५ आना जग्गा रहेछ दहचोकमा, अनि त्यो बिक्री भएको रहेनछ । कुनै विषयवस्तु नपाएपछि त्यो बेच्नलाई उनले त्यो जग्गासम्म जाने लाइभ प्रसारण गर्दै अहिले लगानी गरेर छोड्यो भने यो जग्गाले ४–५ सालपछि यत्ति धेरै फाइदा दिन्छ कि भन्दै अनेक–अनेक बर्बराउँदै थिए ।
केही समयअघिमात्रै टेकु, नर्भिक अनि वीरगन्जमा कोरोनाले नेपालीको मृत्यु भन्ने खबर बिनास्रोत, बिनासत्य, बिनाप्रमाणका भरमा प्रसारण भयो । अनि, स्याल हुइँयाले बुझ्दै नबुझी युट्युबेकै पछि लागेर हाम्रा केही मूलधारका मिडियाकर्मीले पनि ब्रेकिङ न्यूज नै बनाए, तर जुन असत्य साबित भयो र उनीहरुले एक प्रेस वक्तव्य नै जारी गर्नुप¥यो । यस्ता भ्रामक र दुःख दिने खालका खबर प्रकाशन गर्नेलाई भरपर्दो कानुनी कारबाही गर्न सकिएन भने यी तोरीलाहुरेहरुको मनोबल झन् बढेर जान्छ र कालान्तरमा यिनीहरुले आफू हिट कसरी हुन सकिन्छ, केवल त्योमात्रै गरेर जनमानसमा झन् अन्योलता छर्छन् ।
के माथिका कुनै खबर शीर्षकमा कुनै दम, वजन अनि तुक छ होला र ? कसले भने वरिष्ठ त्यस्ता स्वाँठहरुलाई ? अनि नेताले देश विकास गर्नुपर्छ भन्दा त्यो पनि न्यूजको शीर्षक बन्छ होला र ? यसो सम्झँदा लाग्छ, धिक्कार हाम्रा मिडिया अनि झन् धिक्कार त्यस्ता पीतपत्रकारिताका मसिहाहरुलाई, जसलाई अरु कसैको कुनै पर्वाह छैन । यो सबै देख्दा र सुन्दा यसका आविष्कारकहरु पनि हाम्रा देशमा आए भने ‘धिक्कार ! हामीले के यत्तिका लागि नै हो त यत्रो दुःख गरेर यसको आविष्कार गरेको ? भनेर ओठ लेपार्दा हुन् ।
यहाँ मैले बुझ्न नसकिरहेको कुराचाहिँ के हो भने यी युट्युबेहरुलाई समाचार प्रकाशन र प्रसारण गर्न अनुमति कसले दियो ? यदि बिनाअनुमति उनीहरुले जथाभावी बेलगाम बर्बराउँदै हिड्छन भने त्यो गैरकानुनी काम भइरहँदा राज्यले किन कठालो समाएर तह लगाउन नसकेको होला ? केही पहिला मात्र नेपाल सरकारले जारी गर्न लागेको मिडिया विधेयकले यी र यस्ता मिडिया पोर्टलहरुलाई नियमन गर्ने कुरा उल्लेख भएको थियो, जुन संसद्बाट पारित हुनुअगाडि मूलधारका मिडिया अनि राम्रा पत्रकारहरु समेतले विरोध जनाएका कारण स्थगन भयो । जहाँ सबै कुरा राम्रा नभएको भए पनि यस्ता युट्युबेहरुलाई तह लगाउने खालका केही धारा अत्यन्तै सराहनीय थियो, तर विडम्बना त्यो पास हुन पाएन ।
युट्युबको काम केवल सीमाभित्र बसेर मनोरञ्जनात्मक सामग्रीहरु पस्कने हो । यिनीहरुले पत्रकारिता गर्ने होइन, अनि सामाजिक सञ्जालले पनि आफ्नो परिधि नाघ्न भएन । भ्रामक खबर सम्प्रेषण गर्ने च्यानलहरुको प्रकाशन÷प्रसारण तुरून्तै बन्द गरिदिनुपर्छ र त्यस्ता खबर दिने एड्मिनहरुलाई कारबाहीको दायरामा ल्याउन कानुन द्रुतमार्गबाट बनाएर भए पनि यस्ता गलत कामलाई निरूत्साहित गरिहल्नुपर्छ । अन्यथा, यस्ता युट्युबेहरुले समाजमा झन् आतङ्क सिर्जना गर्दछन् भने विपद्को समयमा झन् पीडामाथि पीडा थपिदिने काम गरिरहेका हुन्छन् ।
tilakghimire3362@gmail.com
Discussion about this post