नेपालमा महिला तथा बालिकाहरुको बलात्कार तथा बलात्कारपछि हत्या र आत्महत्याका घटनाहरु दिनानुदिन बढ्दै गैरहेका छन् । विसं २०५३ देखि ०७७ सम्मको २४ वर्षको सार्वजनिक भएको तथ्याङ्कलाई आधार मानेर हेर्ने हो भने देशभरि १४ हजार ६३८ जना महिला तथा बालिकाहरु बलात्कृत भएको पाइन्छ । नेपालमा प्रत्येक वर्ष करिब २० प्रतिशतका दरले बलात्कारका घटनाहरु बढिरहेको देखिनु ठूलो चिन्ताको विषय बनिरहेको छ । २०७६ चैतदेखि २०७७ असोजसम्मको तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने पनि ती सात महिनामा नेपालमा दैनिक सात जना महिला तथा बालिकाहरु बलात्कृत हुने गरेको देखिन्छ । कोरोना महामारीको बन्दाबन्दी रहेको अवस्थामा समेत १२२१ वटा बलात्कारका घटना नेपाल प्रहरीमा दर्ता रहेको देखिनुले समाजमा आपराधीकरणको वृद्धि कुन हदसम्म भैरहेको छ भन्ने कुरालाई पुष्टि गर्छ ।
माथि उल्लेखित तथ्याङ्कहरुले नेपालमा बलात्कारका कारण महिला मानवअधिकार हननको डरलाग्दो तस्बिर अगाडि ल्याएको छ । कोभिड–१९ को महामारीमा समेत बलात्कारका घटनाहरु एकपछिअर्को रुप र स्वरुप लिएर बाहिर आइरहेका देखिन्छन् । बन्दाबन्दीको समय अरुबेलाको जस्तो सामान्य समय पक्कै होइन । कोरोनाकालमा भइरहेका एकपछिअर्को बलात्कारका घटनाहरुको प्रकृति हेर्दा महिला तथा बालिकाहरुलाई कोरोनाबाट सृजित असुरक्षाभन्दा पनि ठूलो असुरक्षा बलात्कारीबाट नै देखियो । बाहिर आवतजावत पूरै बन्द रहेको अवस्थामा घरभित्रै थुनिएर बस्नुपर्दासमेत समाजमा बलात्कारका घटना घटेको नदेखिनु निकै विडम्बनापूर्ण स्थिति हो । बलात्कारजन्य अपराध यसरी देशमा बढिरहनुले देशको कानुन व्यवस्थालाई नै धज्जी उडाइरहेको छ । घटनाप्रतिको जवाफदेहिता, नैतिकताको खडेरी र सामाजिक मूल्यमान्यतामा आएको ठूलो ह्रासले आगामी दिनहरु उज्याला छन् भन्ने कतै सङ्केत गर्दैन ।
कतिपय बलात्कारका घटनाहरु घट्नुमा आफन्त र चिनजानकै मान्छेहरु संलग्न रहनुले त स्थितिलाई थप जटिलमात्रै बनाएको छैन अझ भयावहसमेत बनाउँदै लगेको छ भन्दा अन्यथा हुँदैन । आफ्नै हजुरबा, बुबा, काका, दाजुभाइ, मामालगायत छिमेकीसम्मबाट बलात्कारका घटना घटाइनुले महिलाहरुले हरेक पुरूषलाई बलात्कारी सम्झिनुपर्ने अवस्था बनेको छ, जुन समाजका लागि निकै घातक छ भन्नैपर्छ । बलात्कारका घटनाले पारिवारिकरुपमा नाता सम्बन्धमा विचलनमात्रै आउने नभई मानव सभ्यताप्रति नकारात्मक सोच र चिन्तन बढाउने निश्चित छ । बलात्कारका घटना पुष्टि हुँदासमेत आपसी समझदारीमा टुङ्ग्याउन खोज्दै मिलापत्र गर्नुले त बलात्कारलाई थप बढवा दिइरहेकै छ । प्रत्यक्ष देखिएका समस्याहरु तुरून्तै समाधान गर्न नखोज्नु र त्यसलाई पर्याप्त ढाकछोप गरेर लुकाउनु पनि एकप्रकारको अपराध नै हो । सजायको भागीदार त्यस्ता अपराधीहरु पनि हुन् । बलात्कारजस्तो जघन्य अपराधको जति निन्दा गरे पनि कम हुन्छ । यस्ता क्रियाकलाप यसरी बढ्दै गएको खण्डमा देशमा शान्ति सुरक्षा, अमनचयन र मानवअधिकारको अवस्था सुदृढ हुन सक्दैन भन्ने कुराप्रति राज्य बेखबर हुनुहुँदैन ।
Discussion about this post