रत्ननगर । रत्ननगर–१३, जयमंगलाका महिलाहरुले आत्मनिर्भरताको लागि व्यावसायिकरुपमा अर्गानिक अचार उत्पादन गर्ने भएका छन् ।
शक्तिशाली आमा समूह र रोटरी क्लब अफ रत्ननगरले दिएको तालिम लिएका महिलाहरुले स्थानीयरुपमा अचार उत्पादन गर्ने भएका हुन् ।
तालिमकै क्रममा ठूलो परिमाणमा अचार उत्पादन गरेका महिलाहरुले अब व्यावसायिक रुपमै अर्गानिक अचार उत्पादन गर्न लागेको आमा समूहकी अध्यक्ष विरञ्जना घिमिरेले जानकारी दिइन् ।
आमा समूह र तालिम लिएका दिदीबहिनीहरुको संयुक्त लगानीमा अचार उत्पादनको काम सुरु गर्ने उनको भनाइ छ । तालिममा उत्पादन भएको अचार डिपार्टमेन्ट स्टोरमा बिक्री भइसकेको भन्दै अध्यक्ष घिमिरेले अबको केही दिनमै व्यावसायिकरुपमा अचार उत्पादन सुरु गर्ने बताइन् ।
रोट्याक्ट क्लब अफ रत्ननगर, रोट्याक्ट क्लब अफ र इन्ट्याक्ट क्लब अफ पूर्वी चितवनको सहयोगमा आयोजना गरिएको २० दिने तालिम मंगलबार समापन गरिएको छ । तालिममा सहभागी १७ जना महिलाहरुले विभिन्न स्वादका अचार बनाउन सिकेका छन् ।
‘तालिममा सहभागी दिदीबहिनीहरुले अन्तर्राष्ट्रिय बजारमा खपत हुने स्वादका अचार बनाउन सिक्नु भएको छ’, प्रशिक्षक मुना श्रेष्ठले भनिन्, ‘अब उहाँहरुले बनाएको अचारले बजार नपाएर हैरानी हुँदैन ।’
रोटरी क्लब अफ रत्ननगरले व्यावसायिक रुपमै अचार उत्पादनको तयारी गरेका महिलाहरुलाई अचार उत्पादनको लागि चाहिने मेसिन सहयोग गरेको छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले महिलाहरुले उत्पादन गरेको बस्तुको बजारीकरण र भण्डारणको लागि बिक्री केन्द्र सञ्चालनको तयारी गरिएको बताए ।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु दीपककुमार कर्माचार्य, राजेन्द्रकुमार श्रेष्ठ, महासचिव निराजन खनाल, रोटरीका असिस्टेन गर्भनर रमेश श्रेष्ठ, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष शिवराज उप्रेती, निर्वतमान अध्यक्ष विपीन पोखरेल, सहभागीको तर्फबाट शान्ति श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
आमा समूहकी अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सदस्य शारदा न्यौपानेले सञ्चालन गरेकी थिइन् ।
Discussion about this post