धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं–१ स्थित विभिन्न गाउँबस्तीमा लगाइएको प्रतिबन्धित अफिमखेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको जरूङ, सिमटार र ज्यावालगायतका स्थानमा अन्दाजी ३ सय ५० रोपनी जग्गामा लगाएको अफिमखेती शनिबार गाउँमै पुगेर प्रहरी टोलीले फँडानी गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अफिम फँडानीका लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काको कमान्डमा इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज खड्कासहितको ३५ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
धादिङमा हरेक वर्ष प्रहरीले गाउँगाउँमै पुगेर गाँजा र अफिम नष्ट गर्दै आए पनि प्रतिबन्धित लागूऔषध गाँजा र चरेसको ओसारपसार तथा बिक्रीवितरणमा कमी आउन सकेको छैन । हरेक महिनाजसो प्रहरीले लागूऔषध चरेस ओसारपसारमा संलग्न भएकाहरुलाई पक्राउ गर्दै आइरहेको छ ।
Discussion about this post