भरतपुर । निर्माणाधीन भरतपुर सिटी हल र गोन्द्राङ–पुलचोक सडक विस्तारको शिलान्यास गर्न प्रधानमन्त्री केपी ओली चितवन आउने भएका छन् । केन्द्रीय सरकारको बजेटमा निर्माण भइरहेको दुई आयोजनाको शिलान्यास गर्न ओली माघ १७ गते चितवन आउने भएका हुन् ।
शिलान्यासपछि ओलीले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन ओली समूहले जनाएको छ । ओलीले नेकपाको आगामी कार्य योजना र समसामयिक विषयमा स्पष्ट धारणा राख्ने नेकपा ओली समूहकी केन्द्रिय कमिटी सदस्य पार्वती रावलले बताइन् ।
ओलीसँगै गृहमन्त्री राम बहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ र शहरी विकास मन्त्री प्रभु शाह चितवन आउने कार्यक्रम छ । एक अर्ब १२ करोड रुपैयाँ लागतमा गोन्द्राङ–पुलचोक ६ लेनको सडक दुई बर्ष चार महिनाभित्र सम्पन्न गर्ने सम्झौता छ ।
त्यस्तै, ८७ करोड ८८ लाख रुपैयाँ लागतमा २७ महिनाभित्र सिटी हल निर्माण गर्ने लक्ष्य छ ।
Discussion about this post