चितवन । जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो ।
एड्स हेल्थ फाउन्डेसनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बिमा गरिएको हो । फाउन्डेसन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बिमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका सङ्क्रमित रहेका छन् ।
स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बिमा गरेका हुन् । सङ्क्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । बिमा गरिएका परिवारमा एकभन्दा बढीसमेत सङ्क्रमित रहेको सापकोटाले बताए ।
जिल्लामा अहिले एक हजार ९२६ सङ्क्रमित छन् । तीमध्ये १४७ बालबालिका हुन् । फाउन्डेसनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुषसहित ९६७ रहेका छन् । सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स सङ्क्रमण भेटिएको छ ।
थपिएका व्यक्तिमध्ये चार बच्चा रहेका छन् । आठ हजार ७६२ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित थपिएको फाउन्डेसनका स्रोत व्यक्ति डा युवानिधि बसौलाले जानकारी दिए ।
बसौलाका अनुसार सन् २०२० मा सङ्क्रमितमध्ये १५ को मृत्यु भएको छ । मृत्यु हुनेमा एक कोरोना सङ्क्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन् । रासस
Discussion about this post