चनौली । नेपाल रेडक्रस चनौली उपशाखाको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराको साथ भरतपुर–२०, चनौली बजारमा साधारण सभा सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका उपसभापति रत्नप्रसाद सापकोटा प्रमुख आतिथ्यता रहेको सभामा उनले नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको सक्रियतामा सञ्चालन हुन लागेको इमर्जेन्सी क्लिनिक भवनका लागि र नयाँ एम्बुलेन्स खरिदका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सभामा नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सचिव ओमप्रसाद लामिछानेले वार्षिक प्रतिवेदन र उपसभापति महेन्द्र गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा १५ जना अतिविपन्नलाई कम्मल तथा भाँडा वितरण गरिएको थियो । साथै संस्थाका यशस्कर सदस्यहरु र आजीवन ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति लक्ष्मीकान्त दवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चनौली उपशाखाका पूर्वसभापति बाबुराम श्रेष्ठ, भरतपुर–१८ का वडा सदस्य जीतबहादुर तामाङ, पूर्वअध्यक्षहरु एकनारायण पौडेल र डिल्लीराम डवाडी, विश्वराज अर्याल, रञ्जना शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Discussion about this post