भरतपुर । पत्रकार तथा आख्यानकार बसन्त पराजुलीले पाएको चिसाप राजकृष्ण कँडेल स्मृति साहित्य पुरस्कारको राशि महिला हिंसा नियन्त्रणका क्षेत्रमा क्रियाशील आदर्श गृहलाई उपलब्ध गराएका छन् । गृहमा शनिबार कार्यक्रम आयोजना गरी पराजुलीले अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितमार्फत् सो रकम गृहकी संरक्षक मीना खरेललाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै पत्रकार पराजुलीले महिला हिंसाको अवस्था केन्द्रित गर्दै लेखिएको कुमाता कथासंग्रहले पाएको पुरस्कार राशि महिला हिंसाकै क्षेत्रमा सहयोग गर्ने आफ्नो मन भएकाले सो सहयोग गरिएको बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पण्डितले सामाजिक क्षेत्र त्यसमा पनि हिंसापीडित महिलाहरुका क्षेत्रमा सबैले तनमन र धनले सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै चितवन साहित्य परिषद्का सचिव बालकृष्ण थपलियाले सामाजिक क्षेत्रमा पिछडिएर रहेका समुदायको रक्षाका लागि नागरिकहरुको सहयोग आवश्यक हुने बताए ।
कार्यक्रममा अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले कपडा सिलाउन प्रयोगमा आउने ५० थान लेस र सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले केही थान साहित्यिक किताब पनि गृहलाई उपलब्ध गराएका थिए ।
कार्यक्रममा सबैलाई धन्यवाद दिँदै गृहकी संरक्षक खरेलले महिला हिंसा नियन्त्रणका क्षेत्रमा पत्रकार र साहित्यकारहरुको सधैँ निगरानी हुनुपर्ने बताइन् । कथासंग्रह कुमाताका लागि चितवन साहित्य परिषद्ले नगद राशिसहितको पुरस्कार झन्डै दुई महिनाअघि पराजुलीलाई उपलब्ध गराएको थियो ।
Discussion about this post