मधुसूदन दवाडी
आज समाज जति आधुनिक र सुविधा सम्पन्न बन्दै छ, त्यत्ति नै मानिसका नैतिक मूल्य र मान्यताहरु हराउँदै गएका छन् । समाजमा हिंसा, द्वन्द्व, अशान्ति, झैझगडा, अपराध पनि बढ्दै गएको देखिन्छ । धन, सम्पत्ति र पैसाले सम्पन्न भएको मानिसमा पनि निराशा, दुःख देखिन्छ । सम्पूर्ण सामाजिक तथा व्यक्तिगत समस्याको सम्पूर्ण कारण व्यक्ति स्वयं नै हो । व्यक्तिले जीवन जिउने कला नजान्दा र विभिन्न मानसिक तनावमा फस्दा नै समाजमा विभिन्न विकृति तथा विसंगतिहरु उत्पन्न हुन्छन् । स्वयं व्यक्तिकै कारणले रिस, राग, ईष्र्या, कलह उत्पन्न हुन्छ, जसको नियन्त्रण हुन नसके व्यक्ति आफूलाई भुमरीमा त पार्छ–पार्छ, व्यक्तिकै कारणले समाजका सबै मानिसले पनि पीडा भोग्नुपर्दछ ।
कसरी जीवनमा हरेक दिन उत्पन्न हुने नकारात्मक गुणहरुलाई अन्त्य गरेर सधैँ सकारात्मक गुणहरुको विकास गर्ने भनेर आचार्य लक्ष्मण भण्डारीले “हामी हाँसे संसार हाँस्छ” भन्ने पुस्तक पाठकहरुका माझमा ल्याएका छन् । किताबको शीर्षकबाट पनि पुस्तकका बारेमा केही जान्न सकिन्छ, जसले मानिसलाई सधैँ खुशी रहन र संसारलाई नै खुशी बनाउन अभिप्रेरित गर्दछ । मानिस जस्तो छ, उसले त्यही गुण अन्य व्यक्तिहरुलाई वितरण गर्दछ । सधैँ सुखी र सन्तुष्ट रहने व्यक्तिले नै अन्य मानिसहरुलाई पनि सुख र सन्तोष नै बाँड्छ । यस्तो विषय व्यक्तिको मुस्कान वा हाँसोसँग सम्बन्धित रहन्छ ।
प्रत्येक व्यक्ति खुशी रहन सकेमात्र नै संसार खुशी रहन्छ । प्रत्येक व्यक्तिको जीवनमा हाँसो वा सुख ढोल बजाएर आउँदैन । हरेक क्षण वा हरेक पल घट्ने सानातिना वस्तु वा कार्यबाट आनन्द लिन सक्नुपर्दछ । हाँसो वा आनन्द कसरी आउँछ व्यक्तिको जीवनमा भनेर लक्ष्मण भण्डारीले विभिन्न सन्दर्भ तथा उदाहरणहरु प्रयोग गरेका छन् ।
प्रकृति नै गुरू र ईश्वर हो भन्दै आचार्य भण्डारीले प्राकृतिक सम्पदालाई मानिसको जीवनमा आउने आरोह तथा अवरोहसँग तुलना गरेका छन् । प्रकृतिका हरेक सम्पदाहरुले मानिसलाई हरेक दिन केही न केही शिक्षा दिइरहेको हुन्छ, तर हामी ती विषयको गाम्भीर्यतालाई विचार नै पु¥याएका हुँदैनौ । बगैँचाका फूलहरु, हिमाल, नदी, चराचुरूङ्गी, जनावर आदि सबैबाट मानिसले केही न केही शिक्षा तथा प्रेरणा लिन सक्छ ।
हामीले फेर्ने श्वास, खाने पानीदेखि हामीले खाने अन्न सबै प्रकृतिकै उपज हुन्, जसले गर्दा एउटा मानिस र प्रकृतिको बीचमा अन्योन्याश्रित सम्बन्ध रहन्छ । फूलको दर्शनले सधैँ मानिसलाई मुस्कान र आनन्द प्राप्त गर्न सिकाउँछ । हरेक फूल मरूभूमि र अक्करे भीरहरुमा पनि मजासँग फुलेको हुन्छ । चाहे असिना परोस् वा आँधीहुरी, सबै बाधा र व्यवधानहरु फूलले सहन्छ । सधैँ बगिरहने नदीले भने जीवनको गतिशीलतालाई प्रस्ट पार्दछ । चराचुरूङ्गीहरुको दर्शनले स्वतन्त्र र निर्भय जीवनलाई संकेत गर्दछ । उनीहरु भोलि के खाने भनेर कहिल्यै चिन्ता गर्देनन् । प्रकृतिमा पनि आफ्नै प्रकारको अलिखित नियम छ, तर प्राकृतिक सम्पदाहरु कहिल्यै नियमको उल्लंघन गर्दैनन् । मानिसको जीवन माटोबाट सुरू भएर माटामै बिलाउँछ । इन्द्रिय तृप्तिको इच्छामा एक्लो जीवन बाँच्ने रहर गर्दा व्यक्ति सबैबाट बहिष्कृत हुन पुग्दछ ।
धर्मको नाममा घरबार छाडेर गेरू वस्त्र धारण गर्ने साधुसन्तहरुलाई लेखकले समस्याहरुसँग नभागी जुध्न आग्रह गरेका छन् । माटो, पानी र हिमालजस्तै आचार्य भण्डारीले सूर्य र चन्द्रमालाई ऊर्जाका रुपमा मानवजीवनको गति र विश्रामसँग तुलना गरेका छन् । हरेक ऋतुहरुले जीवनको गतिशीलतालाई बुझाउँछ, जसबाट हामीले जीवनमा आउने परिवर्तन र गतिशीलताको शिक्षा लिन सकिन्छ । लेखकले यी निबन्धहरुमा हरेक प्राकृतिक श्रोतहरुलाई मानवजीवनसँग तुलना गर्दै प्रकृतिमा देखिने हरेक सूक्ष्म परिवर्तनको महान् अर्थ लगाएका छन्, जुन मानिसको जीवनका लागि पे्ररणादायक बन्दछन् ।
यो पुस्तक पढेपछि आमसर्व–साधारण पाठकमा पनि आजकै दिनबाट केही गर्ने ऊर्जा वा शक्ति प्राप्त हुन्छ । जीवनका हरेक पाइलामा आउने निराशाका बीचमा आशा, असफलताका बीचमा सफलता, दुःखका बीचमा सुख, अँध्यारोका बीचमा उज्यालो देख्न थाल्छ, पाठकले । पुस्तकले प्रकृति र समग्र पृथ्वीलाई माया गर्न सिकाएको छ । हामीले टेक्ने माटो, हामीले खाने पानी तथा हामीले फेर्ने श्वासमा पनि अद्भुत शक्तिको अनुभव गर्न सकिन्छ । त्यसका लागि हामीले बाहिरीभन्दा पनि भित्री ज्ञानका आँखा खोल्न सक्नुपर्दछ । खप्तड स्वामीको विचार–विज्ञानलाई जीवनमा प्रेरणाको स्रोत मान्ने लेखकले भोजन र मानिसमा उत्पन्न हुने विचारबीचको सम्बन्धलाई पुस्तकमा उल्लेख गरेका छन् । जस्तो भोजन मानिसले सेवन गर्दछ, सोहीअनुसार मानिसको विचारको निर्माण हुन्छ । हामीले मांसाहारी र शाकाहारी जनावरका गुण तथा स्वभावलाई हेरेर पनि ती विषयहरु निर्धारण गर्न सक्दछौँ ।
विषयवस्तुका आधारमा ‘हामी हाँसे संसार हाँस्छ’ पुस्तकभित्र ३० वटा निबन्धहरु संगृहीत छन्, जसलाई हामी सैद्धान्तिक रुपमा प्रबन्ध भन्न सक्छौँ । पुस्तकको भाषा र शब्द बनोट एकदमै सरल छ, जोकोही साक्षर मानिसले सजिलै बुझ्न सक्छ । किताबमा प्रयोग गरिएका कतिपय कथा तथा नैतिक दृष्टान्तहरु कहाँबाट लिइएको हो भनेर स्रोत भने खुलाइएको छैन, जसका कारण पुस्तकको संरचना प्राज्ञिक कारणले भने कमजोर देखिन्छ, यद्यपि पुस्तकको विषयवस्तु तथा सन्देश भने निकै शक्तिशाली हुन पुगेको छ ।
वि.सं २०३४ साल असार २९ गते भानुजयन्तीका दिनमा अमलटारी नवलपरासीमा जन्मिएका आचार्य लक्ष्मण भण्डारीले आफ्नो विद्यालय तहको शिक्षा देवघाटमा रहेको सीताराम संस्कृत स्कुलबाट सुरू गरेका हुन् । पोखराबाट शास्त्री गर्दै काठमाडौँको वाल्मिकी क्याम्पसबाट आचार्य र त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरेका भण्डारीको यो पाँचौँ कृति हो ।
शैक्षिक पृष्ठभूमिमा भण्डारीले पूर्वीय दर्शनको आधार मानिएको संस्कृत साहित्य र पश्चिमा दर्शनमा आधारित अंग्रेजी साहित्यको बराबर अध्ययन गरेकाले उनको सृजनामा दुवै क्षेत्रका सन्दर्भहरु पढ्न पाइन्छ । वि.सं २०६७ सालमा ‘अनमोल दृष्टान्त’ नामको पुस्तकबाट सकारात्मक सोचको विकास गर्ने अभियानमा लागेका लेखक विगत चार वर्षमा आफ्नो लेखनशैली र शिल्पलाई निकै परिपक्व बनाउन सफल भएका छन् । उनको ऊर्जावान, प्राज्ञिक जीवनमा अझ ऊर्जा थप्नका लागि पनि हरेक पाठकहरुको सल्लाह र सुझावको सधैँ खाँचो पर्दछ ।
जीवन–दर्शन, प्रकृतिप्रेमलाई मन नपराउने अलि हल्का खालका पाठकलाई भने यो पुस्तक त्यति रूचिकर नलाग्न सक्छ । काठमाडौँबाहिरको सहर भरतपुरमा बसेर निरन्तर दार्शनिक खोज तथा अध्ययनमा लाग्ने भण्डारीको गतिशील यात्रालाई भने जोकोहीले सलाम गर्नु नै पर्दछ । दर्शनको विधामा कलम चलाउने नेपालका धेरै कम लेखकहरुमध्ये एक सशक्त र अग्रज प्रतिभाहरुमा यिनलाई गन्न सकिन्छ ।
विधा ः निबन्ध÷प्रबन्ध
लेखक ः आचार्य लक्ष्मण भण्डारी
प्रकाशक ः विद्यार्थी पुस्तक भण्डार
मूल्य ः रू. १७५÷–
Discussion about this post