शुक्रनगर । शुक्रनगर गाविस वडा नं. ७ बस्ने सीता काफ्लेका श्रीमान् छ वर्षदेखि विदेशमा छन् । श्रीमान्ले कमाएर पठाएको (रेमिट्यान्स) पैसा धेरै त खर्च हुन्छ । जोगिएको केही रकम कहाँ र कसरी राख्ने उनलाई मेसो थिएन ।
‘दुःखले कमाएको पैसा राम्रो बैंकमा राखेमा मात्रै ढुक्क हुँदो रहेछ’, बुधबार सीताले भनिन् । विदेशबाट आएको पैसा कम खर्च गरेर बचेको रकम राम्रो बैंकमा खाता खोलेर राख्ने उनले निधो गरेकी छन् । बैंकमा अहिलेसम्म उनको खाता छैन ।
जगतपुर गाविसकी धनु कँवरे विदेशबाट आउने पैसाको मात्रै भर नपर्ने त्यहाँबाट आएको पैसा बचाएर आफैले केही व्यवसाय सुरू गर्ने सोच बनाएकी छन् । ‘अबदेखि म आम्दानी खर्चको विवरण राख्छु । अनावश्यक खर्च कटौती गर्छु’ धनुले भनिन् ।
सीता र धनुलाई त्यसै यो ज्ञान आएको भने होइन । उनीहरुले शुक्रनगरमा पाँच दिनसम्म वित्तीय साक्षरतासम्बन्धी तालिम लिएका हुन् । सो तालिम बुधबार मात्रै सकिएको हो । तालिम सकिएसँगै उनीहरु नयाँ ढंगले अगाडि बढ्न तयार भएका हुन् ।
‘नेपालमा आएको रेमिट्यान्स अनुत्पादक क्षेत्रमा खर्च गर्ने परिपाटी छ । विदेशमा ज्यान हत्केलामा राखेर गरेको कमाइ सदुपयोग हुनु पर्छ । त्यसैले हामीले रेमिट्यान्सको सदुपयोगमा लागि वित्तीय साक्षरता सुरू गरेका हौं’, तालिम आयोजक संस्था पौरखी नेपालकी केन्द्रीय अध्यक्ष मञ्जु गुरुङले भनिन् ।
शुक्रनगरमा आयोजित तालिममा शुक्रनगर र जगतपुर गाविसका १०३ जना सहभागी भएका थिए । वैदेशिक रोजगारमा गएका व्यक्तिको परिवारलाई तालिममा सहभागी गराइएको गुरुङले बताइन् । सहभागीमा चार जनाबाहेक सबै महिला थिए ।
पौरखीले तीन वर्षदेखि वैदेशिक रोजगारमा संलग्नहरुको उद्धार र उपकारका लागि काम गर्दै आएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको संस्थाको १४ जिल्लामा शाखा कार्यालय रहेको छ । यसअघि १२ सय जनालाई उद्यमशीलता तालिम दिएको गुरुङले बताइन् ।
वित्तीय साक्षरतासम्बन्धी तालिम चितवनमा नै पहिलो पटक आयोजना भएको हो । ‘रेमिट्यान्स आम्दानीको एक स्रोत हो तर यो दिगो स्रोत भने होइन’, तालिमका प्रशिक्षक कल्पना गिरीले भनिन् । त्यसैले अत्यावश्यक कुरामा बाहेक अन्यत्र खर्च गर्न रोकेर लक्ष्यसहितको बचत गर्न सिक्नु पर्ने र त्यस्तो बचत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताइन् ।
रेमिट्यान्स आएपछि सुरुमा ऋण तिर्ने, त्यसपछि घर परिवारको लागि खर्च गर्ने र घर जग्गा किन्न प्रयोग गर्ने परिपाटी देखिएको पौरखीका अध्यक्ष गुरुङले बताइन् । यसमा अत्यावश्यक बाहेक अन्य कुरामा खर्च गर्न रोक्ने परिपाटी बसाल्नु आवश्यक रहेको उनको भनाइ छ ।
‘रेमिट्यान्स ल्याउने सुरक्षित माध्यम, रेमिट्यान्सको सदुपयोग र बचत सुरक्षित गर्ने तरिकाहरुका बारेमा हामी जानकारी दिने गर्दछौं । रेमिट्यान्स भरपर्दो वित्तीय संस्थाहरुमा मात्रै सुरक्षित रहन सक्छ । त्यो पनि सिकाउँछौं’, प्रशिक्षक गिरीले भनिन् ।
वित्तीय साक्षरताका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) मार्फत नेपाल सरकारलाई आर्थिक सहयोग प्राप्त भएको र पौरखीले कार्यक्रम गरेको अध्यक्ष गुरुङले जानकारी दिइन् ।
Discussion about this post