दिपेन्द्र अधिकारी
भरतपुर । एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएसँगै प्लस टु कलेजहरु अहिले नयाँ भर्ना आह्वान गरिरहेका छन् । चितवनमा रहेका प्लस टु कलेजहरुले प्रवेश परीक्षाको दिन पनि तोकिसकेका छन् ।
देशमै नाम कहिलिएका निजी र सामुदायिक प्लस टुहरु अहिले राम्रो विद्यार्थीको पर्खाइमा छन् । विद्यार्थी राम्रो हुनाले प्लस टुको नतिजा पनि राम्रो हुने भन्दै सकेसम्म उत्कृष्ट अंक हासिल गरेका विद्यार्थीहरु आफ्नो प्लस टुमा भर्ना गर्न गराउन संचालकहरु मेहेनतका साथ लागिरहेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गत चितवनमा १२ वटा निजी प्लस टुले अहिले फाराम वितरण गरी प्रवेश परीक्षा लिने काम गरिरहेका छन् ।
यहाँ नै उत्पादन भएका विद्यार्थी र गोरखा, लम्जुङ, गुल्मी, नवलपरासी, तनहुँलगायतका जिल्लाबाट पनि यहाँ विद्यार्थीहरु गुणस्तरीय उच्च शिक्षा लिन आउने गर्दछन् ।
भरतपुरमा रहेको अर्किड साइन्स कलेज २ पटकसम्म नेपालकै बोर्ड फस्ट ओगट्न सफल कलेज हो । त्यस्तै उक्त कलेज २ पटकसम्म बोर्ड सेकेण्ड भएको थियो । कलेजले त्यसयता पनि वार्षिक रुपमा आफ्नो नतिजा जिल्लामा उत्कृष्ट ल्याउन सकेपनि केन्द्रमा भने उपस्थिति जनाउन सकेन ।
जिल्लास्तरमा १५ पटकसम्म पहिलो भएको कलेजको इतिहास छ । विसं २०५४ सालमा स्थापना गरिएको यस कलेजले हालसम्म दर्जनांै डाक्टर, इन्जिनियर उत्पादन गरिसकेको छ । डाक्टरहरु सुरेन्द्र न्यौपाने, कमल गुरुङ, प्रकाश अधिकारी यहाँका उत्पादन हुन् ।
त्यस्तै भारत, पाकिस्तानमा पनि छात्रवृत्तिमा डाक्टर पढिरहेका विद्यार्थी रहेको कलेजका पूर्व सहायक प्रिन्सीपल राजाराम आचार्यले बताए । कलेजले विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । कलजेमा व्यवस्थित कक्षा कोठा, प्रयोगशाला रहेको उनले बताए ।
भरतपुर बाइपासरोडमा प्रेरणा उमावि रहेको छ । केही वर्षअघि स्थापना भई छोटो समयमै उत्कृष्ट नतिजा दिन सफल यस कलेजमा भर्ना हुनका लागि विद्यार्थीको चाप नै हुन्छ । अनुभवी शिक्षकहरु भएकाले छोटो समयमै आफूहरुले गुणस्तरीय शिक्षा प्रदान गरेर उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रिन्सिपल दिपेन्द्र ढकालले बताए । हालसम्म ४ व्याच निस्किएकोमा २ पटक जिल्ला प्रथम भएको ढकालले दावी गरे । कक्षा ११ मा ९५ र १२ मा ९६ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको उनले बताए ।
भरतपुरमा रहेको गुरुकुल कलेजमा चितवनमै पहिलोपटक ‘ए’ लेभल संचालनमा छ । गत वर्षमात्रै ३ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । ‘ए’ लेभलप्रति विद्यार्थीको आकर्षण बढेको बेला कलेजले चितवनमै यस्तो शिक्षा दिएको हो । प्लस टुतर्फको नतिजमा यस कलेज अन्य कलेजको तुलनामा अगाडि देखिन्छ ।
त्यस्तै भरतपुरमा रहेको अरोमा कलेज पनि छोटो समयमै उत्कृष्ट नतिजा दिई चर्चित हुन सफल कलेज हो । विसं २०७० को नतिजामा कक्षा ११ मा जिल्ला प्रथम र छात्रातर्फ पनि जिल्ला प्रथम भएको कलेज प्रशासनले जनाएको छ । कलेजमा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेण्ट र कम्प्युटर विज्ञान विषय पढाइ हुँदै आएको छ ।
त्यस्तै रत्ननगरमा रहेको न्यू क्यापिटल कलेज पनि जिल्लामा उत्कृष्ट रहेको छ । उमाविबाट लिइएको वार्षिक परीक्षामा २०६९ र २०७० मा व्यवस्थापन संकायतर्फ जिल्ला पहिलो भएको कलेजको दावी छ । पूर्वी चितवनमा रहेर अतिरिक्त कक्षा संचालन गरी उत्कृष्ट नतिजा दिन सफल यस कलेजमा अनुभवि शिक्षकहरुबाट पढाइ हुने गरेको छ ।
जिल्लामा उत्कृष्ट नतिजा दिन सफल अन्य निजी कलेजहरुमा एपेक्स एकेडेमी, मिलेनियम मोडल कलेज, इन्टरनेशनल कलेज, क्वेष्ट मोडल कलेज, शान्ति एकेडेमी, नारायणी पब्लिक कलेज रहेका छन् । केही कलेजले शिक्षा र मानविकि संकाय पनि संचालन गरेका छन् ।
Discussion about this post