पिठुवा । साक्षर चितवन अभियानअन्तर्गत बिहीबार पूर्वी चितवनको पिठुवा गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ । गाविसका ९७ दशमलव ८८ प्रतिशत नागरिकलाई साक्षर बनाएर पिठुवालाई साक्षर गाविस घोषणा गरिएको हो ।
युनेस्कोको मापदण्डमा ९५ प्रतिशत नागरिकलाई साक्षर बनाएर घोषणा गर्न पाइने व्यवस्था रहेको छ । पिठुवा गाविसमा १४ हजार ५५८ जनसंख्या रहेको र १४ हजार १०४ जनालाई साक्षर बनाएर साक्षर गाविस घोषणा गरिएको पिठुवा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण लम्सालले जानकारी दिनुभयो ।
गाविसमा अझै ४५४ जना निरक्षर छन् । उनीहरुलाई पनि साक्षर बनाउन निरन्तर पहल गर्ने राजनीतिक दल, नागरिक समाज, शैक्षिक संघसंस्थाका प्रतिनिधिहरुबीच सहमति भएपछि गाविसलाई साक्षर घोषणा गरिएको श्रोत व्यक्ति लम्सालले बताउनुभयो ।
चितवनलाई साक्षर जिल्ला बनाउन तीन महिनाअघिबाट जिल्लामा साक्षरता कक्षा सुरु गरिएको थियो । पिठुवा गाविसमा ६७ वटा साक्षरता कक्षा सञ्चालन भएको थियो । एक समारोहका बीच जिल्ला शिक्षा समिति चितवनका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले पिठुवा गाविसलाई साक्षर गाविस घोषणा गर्नुभएको थियो ।
साक्षर घोषणासँगै पिठुवा साक्षर गाविस हुने ११ औं स्थानमा परेको छ । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य साक्षार चितवनलाई सफल पार्ने काममा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले निर्धारित समयमा जिल्लालाई साक्षर घोषणा गर्नेगरी काम भइरहेको र त्यसका लागि कार्यालय प्रयत्नशील रहेको बताउनुभयो ।
गाउँ शिक्षा समितिका विष्णुप्रसाद अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सो कार्यक्रममा पूर्व साँसद एकनाथ रानाभाट, निवर्तमान गाविस अध्यक्ष चन्द्रकान्त न्यौपाने, पूर्व गाविस अध्यक्ष जयन्द्रकुमार श्रेष्ठ, पिठुवा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण लम्साल, नेपाली काँग्रेस पिठुवाका डण्डपाणि लामिछाने, नेकपा एमालेका हरिकुमार श्रेष्ठ, एमाओवादीका राजेन्द्र अधिकारी, नेकपा–माओवादीका लक्ष्मी न्यौपानेलगायतले बोल्नुभएको थियो ।
सो घोषणा कार्यक्रममा साक्षर गाविस बनाउन योगदान गर्नु हुने व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रम गाविस सचिव चन्द्रमणि आचार्यको अध्यक्षतामा भएको थियो ।
चितवनमा ४३ हजार ६ सय जना साक्षरता कक्षामा सहभागी छन् । जिल्ला शिक्षा कार्यालयले भदौको पहिलो हप्तासम्म जिल्लालाई साक्षर घोषणा गर्ने जनाएको छ । यसअघि चितवनका १० वटा गाविस र २ नगरपालिकाका केही वडाहरु साक्षर घोषणा भइसकेका छन् ।
वृद्धवृद्धालाई सम्मान
साक्षरताका कक्षामा सहभागी भएर अक्षर चिनेका ६ जना वृद्धवृद्धाहरु सम्मानित भएका छन् । साक्षरता कक्षामा निरन्तर सहभागी भएर अभियान सफल पार्न अग्रणी भूमिका खेलेको भन्दै ६० वर्षभन्दा माथिका ६ जना वृद्धवृद्धालाई गाउँ शिक्षा समितिले सम्मान गरेको हो ।
सम्मानित हुनेका ८० वर्षीय गाबर्धन घिमिरे, ६० वर्षीया रेवती खनाल, ७८ वर्षकी जिमाकुमारी सिंखडा, पर्मिला वाइवा, डिलकुमारी दुवाडी र हस्तीमाया गुरुङ रहनुभएको छ ।
सम्मानित भएपछि खुसी व्यक्त गर्दै रेवती खनालले सक्षरता कक्षाबाट अक्षर चिन्न सफल भएको र आगामी दिनमा निरन्तर रुपमा पढ्ने बताउनुभयो । उहाँले गाउँका अन्यलाई पनि पढ्नलाई प्रेरणा मिल्ने काम गर्ने बताउनुभयो ।
पिठुवा गाविसलाई साक्षर घोषणा गर्ने कार्यक्रममा साक्षरता कक्षामा सहयोग गर्ने ६७ जना सहयोगी कार्यकर्ता, ७ जना स्थानीय निरीक्षक र ९ जना वडा संयोजकलाई सम्मान गरिएको गाउँ शिक्षा समितिका संयोजक चन्द्रमणि आचार्यले जानकारी दिनुभयो ।
Discussion about this post