कोरोना कहरले गाँजेपछि विश्वमा हात मिलाउने चलन रोकियो । अमेरिकी राष्ट्रपतिदेखि बेलायती राजकुमारसम्मले नमस्कार गरेका तस्बिरहरु गत वर्ष भाइरल भए । सन् २०२० सँगै कोरोना सुरू भएर विश्वमा फैलँदा अनेक–अनेक नयाँ कुराहरु देख्न र सुन्न पाइयो । मान्छे पूरै मास्कको शरणमा प¥यो । सार्वजनिक स्थलमा मान्छे कम देखिन्थे, देखिएकाहरुको मुखमा मास्क हुन्थ्यो । सन् २०२० मै आएका समाचारका हेडिङ हुन्– ‘तपाईंसँग हात मिलाउँदैनौँ’ र ‘लाखौँ मास्क वितरण’ । तर, ती समाचार कोरोना भाइरसको प्रकोपसँग सम्बन्धित थिएनन् । कोरोनाका सुरूवाती अवस्थाका धेरै विषयसँग हामी अनभिज्ञ छौँ । चीनको वुहानबाट सुरू भएर संसारभर फैलिएको कोरोना भाइरसका बारेमा धेरै विषयहरु वर्षदिन नबित्दै बिर्सन पनि थालेका छौँ ।
जब कोरोना कहर बढ्यो र विश्वका धेरै मुलुक प्रभावित भए मैले डायरी लेख्ने निधो गरेँ । नेपालमा लकडाउन हुनुभन्दा चार दिनअघि चैत्र ७ गतेबाट मैले डायरी लेख्न सुरू गरेको हुँ । त्यो बेलाका धेरै कुराहरु सकेसम्म डायरीमा लेखेको छु । त्यसैमध्येबाट केही विषयहरु अब मैले चितवन पोष्ट दैनिकमा पस्कँदै जानेछु । मेरो डायरीमा जे छन् छन्, तर नभएका कुराहरु पनि राखौँ न भन्ने लाग्यो । कोरोना सन् २०१९ को अन्त्यसँगै चीनबाट सुरू भएर विश्वभर फैलिएको हो । ७६ सालको मध्य पुसपछि नै कोरोनाको चर्चा सुरू भएको होला भन्ने लाग्यो । चीनबाट विश्वमा फैलँदै नेपालसम्म आउँदा त्यो बेला के–के भयो होला ? मैले खोज्न थालेँ ।
म कार्यरत कान्तिपुर दैनिकमा गत वर्ष जनवरी १ अर्थात् पुस १६ गतेयता प्रकाशित भएका समाचारहरु हेर्न सुरू गरेँ । त्यो दिनको कान्तिपुर दैनिकको पहिलो पेजमा नेपालका लागि चीनका राजदूतको सुन्दर तस्बिर एयर प्यानलमा छापिएको रहेछ । भित्र कला र शैली पेजमा ‘चिनियाँ राजदूतको टुरिजम मोडलिङ’ भन्ने तस्बिरसहितको समाचार थियो । राजदूत हाउ यान्छीले कालो र रातो रंगको समायोजन भएको पोसाक लगाएर पाटन दरबार क्षेत्रमा मन्दिरलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाएकी रहिछन् । उनी सन् २०२० पर्यटन वर्ष नेपालका लागि सुखद होस् भन्ने सन्देश दिन यसो गर्दै थिइन् । तर, सारा संसार चीनबाट सुरू भएको कोरोना भाइरसबारे बेखबर नै थियो यो बेलासम्म । विदेशबाट आउने समाचारमा पनि कोरोनाको केही चर्चा थिएन ।
हङ्कङमा लोकतन्त्र समर्थकहरुले गरेको विशाल प्रदर्शनहरु, उत्तर कोरियाले गरेको परमाणु परीक्षण, इराकमा अमेरिकी दूतावासमा भएको आक्रमणजस्ता विषयहरु नै समाचारमा आइरहेका थिए । त्यो बेला अस्ट्रेलियाको जंगलमा भयङ्कर आगलागी भएको थियो । जनवरी ५ अर्थात् पुस २० को कान्तिपुर पत्रिकामा विदेश समाचारमा छापिएको थियो– ‘अस्ट्रेलियाका प्रमलाई डढेलोपीडितले भने, तपाईंसँग हात मिलाउँदैनौँ’ । करिब चार महिनादेखि जंगलमा आगलागी सुरू भएको थियो । समाचारअनुसार त्यो बेलासम्म २० जना मानिस मरेका थिए । १२ सय घर खरानी भएका थिए । दसौँ लाख हेक्टर वन सखाप भएको समाचारमा उल्लेख थियो । ५० लाखभन्दा बढी वन्यजन्तु मरेका थिए । भोलिपल्ट पनि यो आगलागीसम्बन्धी समाचार थियो । जसको शीर्षक थियो ‘डढेलोले प्रदूषण १० गुणा बढ्यो, लाखौँ मास्क वितरण’ ।
हो त, गत वर्ष अस्ट्रेलियाको डढेलो त्यहाँको वनमा मात्रै नभएर संसार छाएको थियो । डढेलो बढेसँगै घोषणा भएको हात मिलाउँदैनौँ भन्ने असन्तुष्टि र मास्क लगाउने बाध्यता पछि अस्ट्रेलियामा मात्रै सीमित भएन । संसारमा नै नयाँ संस्कार जन्म भयो । अस्ट्रेलियाको डढेलोसरी यो कोरोना संसारभर कहिले फैलियो होला ? मैले समाचारमा खोज्न थालेँ । माघ दुईमा कान्तिपुरमा अस्ट्रेलियाली डढेलोको धूवाँ संसार घुम्दै भन्ने समाचार छापिएको रहेछ । धूवाँ संसारभर डुल्दा कोरोनाको बाछिटा बल्ल आएको रहेछ । कान्तिपुरको १३ नम्बर पेजमा अतुल मिश्रले लेखेको समाचारको शीर्षक थियो– ‘नोबेल कोरोनाको शङ्कामा निगरानी’ । पाँच कोलमको यो समाचार कान्तिपुरमा छापिएपछि बल्ल नेपालमा कोरोना भाइरसबारे चासो र उत्सुकता बाक्लियो कि ? सायद, त्योभन्दाअघि अरु मिडियामा पनि आए होलान् यस्ता समाचार ।
चीनमा नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका एक जना नेपाली विद्यार्थीलाई सरूवा रोगसम्बन्धी सरकारी अस्पतालमा अलग (आइसोलेसन) राखी निगरानी गरेको समाचारमा विवरण थियो । उनी १० दिनअघि आएका रहेछन् । सो समाचारमा चिनियाँ अधिकारीले डब्लुएचओलाई हुवई प्रान्तमा नोबेल कोरोना भाइरसबाट ४१ जना बिरामी भएको, एक जनाको मृत्यु भएको र सात जना गम्भीर भएको भन्ने जानकारी दिएको उल्लेख छ ।
सन् २०१९ को डिसेम्बर ३१ मा रोगीहरु भेटिए पनि जनवरी ७ अर्थात् पुस २२ मा उनीहरुलाई नोबेल कोरोनाको सङ्क्रमण भएको पहिचान भएको समाचारमा लेखिएको छ । यसरी चीनमा देखिएको नयाँ भाइरसले नेपाली मिडियामा पनि ठाउँ पायो । अनि यसबारेमा नेपाली समाजमा पनि चर्चा बढ्दै गयो होला, हैन त ? कान्तिपुरमा त्यसपछि पनि फाट्टफुट्ट समाचार देखिन्छ । जनवरी २१ अर्थात् माघ ७ मा ‘के भइरहेको छ अस्ट्रेलियाली जंगलमा’ भन्ने लगभग आधा पेजको समाचार छ । त्यसको देब्रेतिर कोरोना भाइरसको सङ्क्रमण बढ्दै भन्ने एक कोलमको समाचार छ । तर, पेज १३ मा अतुल मिश्रले लेखेको पाँच कोलमको समाचार छ । जसको शीर्षक ‘शङ्कास्पद बिरामीको नमुना विदेश पठाइने’ भन्ने छ । चीनको कोरोनाले नेपाली समाजलाई छुन छुन थालेको बेला यही होला । नेपालमा प्रयोगशाला नभएपछि भारतको पुने वा हङ्कङ पठाउने भन्ने निधो भएको रहेछ ।
माघ ९ मा कान्तिपुरको पहिलो पेजमा कोरोना उल्लेख छ, तर समाचार हैन । शीर्षक पहिलो पेजमा राखेर समाचार भित्र छ । नमुना हङ्कङ पठाइएछ । त्यसदिन कान्तिपुरमा चितवनसम्बन्धी समाचार पनि छन् । बेल्जियमकी राजकुमारी चितवन आएको र साउनयता पुससम्म ९७ हजार पर्यटकले चितवन निकुञ्ज घुमे भन्ने समाचार थियो त्यो । त्यो बेला हाम्रो समाज कति मस्त थियो भन्ने छनक यसले दिन्छ । त्यसैदिन विदेश समाचारमा तीन कोलमको अल्लि ठूलो समाचार पनि थियो फोटोसहित । जसमा कोरोना भाइरस पाँच देशमा पुग्यो भन्ने थियो । चीनमा माघ ७ सम्म ४४० जना सङ्क्रमित भएका, थाइल्यान्डमा चार, दक्षिण कोरिया, जापान, अमेरिका र ताइवानमा एक–एक जना सङ्क्रमित भेटिएको समाचारमा उल्लेख थियो ।
माघ १० मा चीनको वुहानसहित तीन सहरमा यातायात बन्द गरिएको, वुहानमा अन्य कारणले मृत्यु भएका नेपाली दोलखाका पुष्कर खड्काको शव ल्याउन सकस भएको जस्ता समाचार भित्री पेजमा छन् । यसपछि कोरोनासँग सम्बन्धित समाचार निरन्तर हुन थालेको छ । ११ माघ २०७६ अर्थात् २५ जनवरी २०२० को शनिबार प्रकाशित कान्तिपुरमा कोरोनासँग सम्बन्धित एङ्कर न्यूज छ । नेपालमा नोबेल कोरोना देखिएको समाचार हो त्यो । चीनको वुहानबाट बिदामा आएका व्यक्ति ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि टेकु शुक्रराज अस्पताल गएका थिए । उनको रगत र ¥यालको नमुना निकालेर परीक्षणका लागि डब्लुएचओको हङ्कङमा रहेको कोलाबरेटिङ सेन्टरमा पठाएकोमा त्यसले सङ्क्रमण पुष्टि गरेको थियो ।
समाचारमा लक्षणका ४ वटा र बच्ने ६ वटा टिप्स पनि विशेष सजावटका साथ राखिएको थियो । भित्र डा. समीरमणि दीक्षितको लेख थियो । थप अतुल मिश्रले नोबेल कोरोनाबारे आधा पेजको विस्तृत आलेख पनि तयार पारेका थिए । माघ १२ मा कान्तिपुरको पहिलो पेजको माथि नै दाहिनेतर्फ दुई कोलमको समाचार ‘सङ्क्रमण पुष्टि नहुँदै डिस्चार्ज’ छापिएको छ । जसमा ती व्यक्ति पुस २० मा घर आएको र पुस २८ मा टेकु अस्पताल आएको भन्ने विवरण छ । यो दिन कान्तिपुरले नयाँ कोरोना भाइरसको जोखिम शीर्षकमा सम्पादकीय छापेको छ । कोरोनाको समाचारको आयतन बढ्न थालेको छ । त्यसपछि माघ १८ गते कान्तिपुरमा ‘स्वास्थ्य सङ्कटकाल घोषणा’ शीर्षकको ब्यानर न्यूज छ ।
दुई दर्जन मुलुकमा कोरोना भाइरस देखिएपछि डब्लुएचओको माघ १६ गते बसेको बैठकले विश्वव्यापी सङ्कटकाल घोषणा गरेको थियो । डब्लुएचओले यो समस्यालाई असाधारण घटनाको रुपमा व्याख्या गर्दै यस्तो निर्णय गरेको रहेछ । ब्यानर न्यूजका साथै विदेश पेजमा ‘सडकमै भेटियो शव’ भन्ने शीर्षकमा वुहानको समाचार थियो । यी र यस्तै खाले समाचारहरुसँगै नेपालमा कोरोनाको चर्चा–परिचर्चा बढ्दै गयो होला । नेपालमा लगभग सुरूवातमा नै कोरोना भित्रिएको रहेछ । तर, चर्चा माघबाटमात्रै पाउन थाल्यो कि ? मिडियामा आएको समाचारलाई हेर्ने हो भने मध्य माघपछि नै नेपालमा कोरोनाको सघन चासो र चर्चा हुन थाल्यो होला, हैन ?
k6ramesh6@gmail.com
Discussion about this post