काठमाडौं ९ माघ (रासस) । विगतका वर्षमा झैँ यसवर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलिदेखि सप्ताहव्यापी सहिद दिवस कार्यक्रम गर्ने भएको छ। माघ १६ गतेसम्म हुने कार्यक्रमको तालिकाअनुसार माघ १० गते बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभा कार्यक्रम गरेर दिसवको थालनी हुनेछ। त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने छ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र सहिदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ। त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहने सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवम् काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।
विसं २०१२ देखि काठमाडौँ नगरको संयोजकत्वमा सहिद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ। प्रजातन्त्र प्राप्तिका लागि विसं १९९७ मा काठमाडौंको विभिन्न स्थानमा सहादत प्राप्त गरेका चार सहिदको सम्झनामा काठमाडौं महानगरपालिकाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ। त्यसैगरी महानगरपालिकाले गतवर्ष गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरिसकेको छ।
संयोजक शाक्यका अनुसार सप्ताहव्यापी कार्यक्रमका लागि सरसफाइको जिम्मेवारी वातावरण व्यवस्थापन विभागलाई दिइएको छ भने सभा हुने स्थानको मर्मत सम्भार तथा रङरोगन गर्ने कामको जिम्मेवारी भौतिक पूर्वाधार विकास विभागलाई दिइएको छ। कार्यक्रमस्थल तथा प्रभातफेरीको रुट व्यवस्थापनको जिम्मा नगर प्रहरी महाशाखालाई दिइएको छ।
Discussion about this post