देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ भित्र रहेको गोपिटर बाल बिकास केन्द्रका ९ जना र चेतना बाल विकास केन्द्र बसेनिटारका २९ जनासहित ३८ जना आर्थिक अवस्था कमजोर विद्यार्थीहरुलाई देवघाट गाउँपालिका शिक्षा शाखाको आयोजनामा सुइटर र शैक्षिक सामग्री वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले कार्यक्रममा बोल्दै कुनै पनि बालबालिकाहरु शिक्षाको ज्योतिबाट वञ्चित हुन नदिनको लागि बाल विकास केन्द्रहरु सञ्चालनमा ल्याएको र बिस्तारै बाल विकास केन्द्रहरुलाई विद्यार्थीहरुको संख्या हेरी आधारभूत विद्यालय बनाउने उनले बताए । साथै अध्यक्ष थापाले देवघाट गाउँ पालिकाको विकास र शैक्षिक क्षेत्र गुणस्तरको लागि आफू निरन्तर लागिपर्ने बताए ।
कार्यक्रममा देवघाट गाउँपालिकाका शिक्षा शाखा अधिकृत होमनाथ लामिछानेले बाल विकास केन्द्रसँगै देवघाट गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुको अनुगमन भई रहेको र शैक्षिक सुधार क्रमिकरुपमा अगाडि बढेको बताए । त्यस्तै, कार्यक्रममा सरसफाइसम्बन्धी जानकारी भने देवघाट सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रका अध्यक्ष होमबहादुर भारतीले दिएका थिए ।
कार्यक्रममा देवघाट गाउँ कार्यपालिका सदस्य चन्द्रप्रकाश वि.क, देवघाट १ नं वडा सदस्य सुन्दर भुजेललगायतको उपस्थिति रहेको थियो । देवघाट वडा नं १ का वडाध्यक्ष भीमबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post