चितवन । दीपज्योति अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाको २७ औँ स्थापना दिवस एवं २६ औँ वाषिकोत्सव बुधबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक तेजेन्द्रबहादुर खड्काले दीपज्योति जिल्लामा नमुना सहकारीको रुपमा विकास भएको उल्लेख गरे ।
सहकारीहरु एकआपसमा गाभिएर ठूला र व्यवस्थित हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा ज्येष्ठ सदस्य गिरीप्रसाद न्यौपाने, भगवती घिमिरे, तुलसीराम आचार्यलगायतले मन्तव्य राखेका थिए । सो अवसरमा २२ जना ज्येष्ठ सदस्य, शेयर सदस्य परिवारको दुई जना विद्यावारिधि गरेका र एसइईमा उत्कृष्ट अंक ल्याउने पाँच जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मुक्तिनगर टोल विकास संस्थालाई १५ थान र सिद्धि विनायक गणेश मन्दिरलाई १० थान कुर्सी वितरण गरिएको थियो । सहकारीको केन्द्रीय कार्यालय रहेको मुक्तिनगर टोल विकास संस्थालाई हरेक वर्ष वार्षिकोत्सवमा सहयोग गरिँदै आएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष भोला शिवाकोटीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यकारी अधिकृत उमेश पौडेलका अनुसार विसं २०५१ साल माघ ७ गते २८ जना शेयर सदस्यले रु १ हजार जम्मा गरेर स्थापना गरिएको यस सहकारीमा हाल पुँजी रु ५३ करोड पुगेको छ । शेयर सदस्य चार हजारभन्दा बढी रहेका छन् ।
Discussion about this post