भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार पत्रकार भेटघाट कार्यक्रम राखी असार ८ गतेको उपनिर्वाचनका लागि चितवनका सुरक्षा व्यवस्था मजबुद बनाएको जनाएको छ ।
जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले चुनावमा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइएको बताए ।
‘मतदानपूर्वको सुरक्षा, मतदानको दिनको सुरक्षा, मतदान सकिएपछि मतपेटिका भरतपुरसम्म ल्याउने सुरक्षा र मतगणना गर्दाको सुरक्षा सवै सुरक्षा व्यवस्था मिलाएका छौँ’, प्रजिअ शर्माले भने । उनले अहिलेको उपनिर्वाचनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले मात्रै मतदान केन्द्रको सुरक्षा गर्ने पनि उनले जनाए । जसका लागि सशस्त्र प्रहरीको एक टुकडी अहिलेदेखि नै क्षेत्र नं. ४ को शारदानगरमा सशस्त्र प्रहरीको एक टुकडी बसोबास गर्न थालिसकेको छ ।
सशस्त्र र नेपाल प्रहरीले विशेष गस्ती तथा पेट्रोलिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ । कुनै पनि निर्वाचन केन्द्रमा समस्या आए पाँच देखि १० मिनेटभित्रै थप सुरक्षाकर्मी पुग्ने व्यवस्थासमेत मिलाइएको बताइएको छ ।
चितवनमा निर्वाचन हुने क्षेत्र नं. ४ लाई सीमाङ्कन गरी निर्वाचनको अघिल्लो दिन साँझ ७ बजेबाट निर्वाचनको दिन साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचनका लागि अनुमति लिइएका उम्मेद्वार तथा सञ्चारकर्मी र अनुगमनकर्ताहरुको सवारी साधनलाई भने पासको व्यवस्था मिलाइएको छ । प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले सो दिन क्षेत्रभरि नै सवारी साधन सञ्चालनमा रोक लगाइए पनि दमकल, एम्बुलेन्स, बिरामी बोकेका साधन र मलामीका सवारी साधनलाई भने छोडिने पनि बताए ।
Discussion about this post