उपरदाङगढी । चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पुग्न यसवर्षदेखि थप सहज भएको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट चौकीडाँडा, दाहाखानी, नयाँगाउँ, कापेगाउँ हुँदै जाने ३६ किलोमिटर, पृथ्वी राजमार्गको फिस्लिङबाट इच्छाकामना मन्दिर हुँदै जाने ३२ किलोमिटर र कालिका नगरपालिकाको शक्तिखोरबाट करिब ११ किलोमिटरको बाटोले जोडेपछि गढी पुग्न थप सहज भएको हो । हालसम्म सबैभन्दा धेरै प्रयोग हुने भनेको शक्तिखोरबाट माथि उक्लिने बाटो नै हो । हालको सदरमुकाम भरतपुरबाट शक्तिखोरसम्म बाटो राम्रो हुनु र शक्तिखोरबाट माथि उक्लिँदा छोटो पर्ने भएकोले अधिकांशले यही बाटोको प्रयोग गर्ने गरेका छन् ।
यसै वर्षबाट जोडेको नयाँ बाटो दूरीको हिसाबले टाढा पर्ने भएकोले तत्काल प्रयोगमा नआएको हो । तर, फिस्लिङ र भोर्लेबाट बाटो जोडिएपछि इच्छाकामना गाउँपालिकावासीलाई गढी जानका लागि भरतपुरबाट शक्तिखोर हुँदै घुमेर जानुपर्ने बाध्यता भने अन्त्य भएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङले बताइन् । स्थानीय सरकार आउनुभन्दा पहिले बाटोको खासै विकास नभए पनि हाल धेरैजसो बजेट बाटोकै विकासमा खर्च गर्दै आएको उनले बताइन् । ‘हरेक क्षेत्रको विकासमा बाटोको विकल्प नभएकोले हामीले बर्सेनि बाटोमा बढी बजेट खर्चिएका छौँ’, उनले भनिन्, ‘स्थानीयको माग र आवश्यकता पनि बाटो खुलाउने नै भएकोले बाटोको विकासपछि अन्य पूर्वाधारको विकासमा सजिलो हुने देखियो ।’
त्यतिमात्र नभई मुग्लिनबाट तामिन हुँदै इच्छाकामना मन्दिर छोएर तोलाङ हुँदै मायाटारको बाटो पनि गढी पुग्न सकिने उनले बताइन् । जिल्लाकै पुरानो र ऐतिहासिक क्षेत्रको विकास र यात्रामा सहजताका लागि पनि इच्छाकामना मन्दिर र गढी क्षेत्रलाई एउटै बाटोले समेट्ने प्रयास गरिएको उनको भनाइ छ । ‘दुईवटै स्थानमा पुग्न सकिने गरी बाटो निर्माण गर्दा पर्यटन प्रवद्र्धनसँगै ऐतिहासिक क्षेत्रको विकास गर्न सकिन्छ भन्ने गाउँपालिकाको योजना हो’, उनले थपिन् ।
चितवनका यी बाटोबाट मात्र नभई धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको हुग्दीखोलाबाट चितवनको काउले हुँदै हात्तीवाङ, सिराइचुली पुगेर पनि गढी फर्किन सकिने गरी बाटो खुलिसकेकोले यात्राका लागि हाललाई पिचको विकास नभए पनि कच्ची बाटो बनिसकेको अध्यक्ष गुरूङले बताइन् । चारैतिरबाट बाटो खुलेपछि वर्षाको समयबाहेक कुनै पनि बेला आफ्नै सवारीसाधन लिएर जुनसुकै बाटो पनि जान सकिन्छ । स्थानीय बालकुमारी युवा क्लबका अध्यक्ष सविन गुरूङका अनुसार गढी घुम्न हाल दैनिक सरदर ५० देखि ३०० जनासम्म पुग्ने गरेका छन् । गढीमा हाल सातवटा होमस्टे र एउटा कटेज गरी एक रातमा एक सय जना राख्न सकिने क्षमता रहेको उनले बताए ।
पछिल्लो समय गढीमा बस्नेहरुले भने खानपान र बसोवासका लागि महँगो भएको गुनासो गर्दै आएका छन् । तर, स्थानीयले भने बस्नेबाहेक सबैजसो खानपानका लागि बजारबाटै ढुवानी गर्नुपर्ने भएकोले औसतमा महँगो पर्न गएको उनले बताए । बसोवासको व्यवस्था महँगो भए पनि आगन्तुकलाई आवश्यकताअनुसारको सुविधा दिन गाउँपालिकाले पहल गरिदिनुपर्ने उनको भनाइ छ । गाउँमा सार्वजनिक शौचालय, बिजुली बत्ती, प्रतीक्षालय र टिकट काउन्टरलगायतका संरचना निर्माण गरिदिने हो भने पर्यटकको चाप अझै बढ्न सक्ने उनको अनुमान छ । गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङले भने बाटोको विकास भएपछि अन्य भौतिक पूर्वाधारको विकास हुँदै जाने हुँदा सबै आवश्यकता बिस्तारै पूरा हुने बताइन् ।
Discussion about this post