महोत्तरीसहितका मध्यपूर्वी तराईमा अत्यधिक बढेको चिसो र शीतलहरका कारण त्यहाँको जनजीवन निकै कष्टकर हुँदै गएको छ । विगत केही दिनदेखि जारी रहेको चिसोले त्यहाँको जनजीवनलाई अस्तव्यस्त नै बनाएको छ, जसको कुप्रभावका कारण स्थिति सामान्य हुन अझै केही दिन लाग्ने जनाइएको छ । देशका अरु भागहरु सामान्यतर्फ उन्मुख हुँदै गैरहेका छन्, तर तराईमा बढेको चिसो र शीतलहरले त्यहाँका बालबच्चा, महिला र वृद्धवृद्धाहरुको जीवन जोखिमपूर्ण हुन पुगेको छ । चिसोको मारबाट विशेषगरी बालबालिका र वृद्धवृद्धा निकै प्रताडित पनि देखिन्छन् । चिसोले पशुचौपाया र बालीनालीमा थप क्षति पुगिरहेको छ । बारीमै तरकारीसमेत नष्ट हुँदै गैरहेको हुँदा खेतीपाती गर्ने किसानहरु थप बिचल्लीमा पर्न पुगेका छन् ।
जाडोका कारण अहिले तराईका प्रायः स्कुलहरुमा पठनपाठनसमेत अवरूद्ध भैरहेको छ । खुलेका स्कुलहरुमा पनि विद्यार्थीहरुको सङ्ख्या निकै पातलिएको छ । वीरगन्जमा त्यहाँका विद्यालयहरु केही दिनका लागि बन्दसमेत गरिएका छन् । लगातार बढेको चिसोले त्यहाँका बस्तीबस्तीमा बिरामी हुनेको सङ्ख्या बढ्दो क्रममा छ । विशेषगरी दम, खोकी र हाडजोर्नीका बिरामी बढ्दै गएका छन् भने अझ गरिब बस्तीका वृद्धवृद्धा, ससाना दुधेनानी र सुत्केरीहरु अत्यधिक जोखिममा रहेका देखिन्छन् । अस्पतालहरुमा बिरामीहरुको चाप पनि उत्तिकै बढ्न पुग्दा सर्वसाधारणले पाउने उपचार प्रभावित हुन पुगेको छ । प्रायः अस्तव्यस्त रहने अस्पताल क्षेत्र थप चिसोका बिरामीहरुको सङ्ख्या बढ्नाले अव्यवस्थितसमेत बन्न पुगेको देखिन्छ । यस्तो अवस्थालाई तुरून्तै सम्बन्धित पक्षले ध्यान नदिने हो भने बिरामीहरुले उचित उपचार पाउँछन् भन्ने कुरामा शङ्का गर्नुपर्ने हुन्छ ।
चिसोमा सडक बालबालिका तथा मागेर जीवन निर्वाह गर्नेहरु बढी प्रभावित हुने गर्छन् । सडकलाई नै ओढ्ने र ओछ्याउने बनाएका यिनीहरुमा प्रायः यस्तो समयमा कोल्ड डायरिया, निमोनिया, भाइरल ज्वरोलगायतका समस्याहरु देखा पर्ने गर्छन् । उनीहरुको उचित व्यवस्थापन अपरिहार्य भैसकेको छ । त्यस्तै, चिसो बढ्दै जाँदा घरका परिवारहरुको रेखदेख गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । यस्तो अवस्थामा प्रशस्त मात्रामा झोलिलो पदार्थको प्रयोग बढी लाभदायक हुन सक्छ । बारम्बार तातोपानीको सेवन गर्दै आफूलाई न्यानोरुपमा सुरक्षित राख्न सक्ने हो भने चिसोलाई सहजै जित्न सकिन्छ । चिसोमा विशेषगरी वृद्धवृद्धा, महिला र बालबच्चाहरुको स्वास्थ्य अवस्था नाजुक हुन सक्ने हुनाले उनीहरुप्रति विशेष ध्यान दिन आवश्यक छ, जसका लागि स्थानीय निकाय र संघसंस्थाहरुले न्याना कपडा, औषधि, खाद्य सामग्रीहरु सहयोग गरेर राहत प्रदान गर्न सक्छन् । उनीहरुलाई तत्काल राहतको व्यवस्था गर्नु राज्यको पनि दायित्व हो । प्रकृतिको नियमको विरूद्धमा जान नसकिए पनि त्यसबाट सुरक्षित रहनुपर्ने आवश्यकता भने अहिलेको खाँचो हो । अत्यधिक चिसो र शीतलहरबाट प्रभावित हुनेहरुलाई सम्बन्धित निकायहरुबाट तत्कालै प्रभावकारी राहतको व्यवस्था होस्, ताकि आगामी दिनमा चिसोका कारण बढ्दोरुपमा मानवीय क्षति भोग्न नपरोस् ।
Discussion about this post