इच्छा र चाहनाहरु हामीभित्र बर्गेल्ती पैदा हुन्छन् तर व्यवहारका तहमा तिनको छनोट अनिवार्य हुन्छ । सबै इच्छा र चाहनाहरुका पछि लाग्ने हो भने जीवन छुट्न सक्छ । संसारका भौतिक विषयहरु अत्यन्त आकर्षक छन्, मनमोहक छन् । यिनलाई नै सबैथोक ठान्ने गर्दा भित्रको सौन्दर्य र सत्य छायामा पर्दछ ।
सानामसिना विषयको राग हामीभित्र यति बलवान् भएर बसेको हुन्छ कि हामी तिनै विषयका नेराघेरामा अल्झिएर समाप्त हुन्छौँ । हामी चियाउनुपर्ने हो आकाशतिर तर तल जमिनतिर हेर्दाहर्दै जीवन बितेर जान्छ, अनि यो जीवनका सम्पूर्ण कामहरु अर्को जन्मका लागि साँचेर हामी संसारबाट बिदा लिन्छौँ ।
जीवनयात्रामा अनेक मोडहरु हुन्छन्, गल्ली र गल्छेडाहरु हुन्छन् । ती सबै मोड, गल्ली र गल्छेडाहरुबाट गुज्रनु हाम्रो शाश्वत नियति हो । ती मोड, खोँच र घुम्तीहरुबाट गुज्रिएर नै हामीले जीवन सिक्न सक्छौँ, जीवन बुझ्न सक्छौँ । हाम्रा लागि जीवन अप्ठ्याराहरुसँग सङ्घर्ष गरेर बाँच्नका लागि उपलब्ध भएको हो । हाम्रा समस्त दुःख, ताप र तनावहरु जीवन हुनुका लक्षणहरु हुन् ।
भोगलाई केन्द्रमा राख्नेहरु पशुको स्तरभन्दा कदाचित्माथि जान सक्दैनन् । एक वर्ष मात्र पनि धेरै बाँचियो भने यो जगत्का लागि धेरै गर्न सकिन्छ । जगत्का लागि मात्रै होइन, जीवनका लागि धेरै गर्न सकिन्छ । भोगले हामीलाई समयभन्दा धेरै अघि मृत्युको मुखमा पु¥याउँदछ ।
जीवन बाँच्ने क्रममा शरीरका लागि भोगलाई सामान्य मान्न सकिन्छ, तर प्राकृतिक मृत्युका समयमा भने भोग होइन त्याग मह¤वपूर्ण हुन्छ, इन्द्रिय होइन विवेक मह¤वपूर्ण हुन्छ । तर, प्रस्तुत दृष्टान्तका पात्र भने मृत्युका समयमा पनि जिब्रोका तुच्छ दास भएका छन्, सस्तो भोगका लागि होस गुमाई इन्द्रियका गुलाम भएका छन् । मर्ने बेलामा त विवेकको सहारा लिनुपर्ने ठाउँमा, ज्रिब्रोको साथ ? इन्द्रियको गुलामी ?
रमाइलो र सजिलोको बेलामा मान्छेले भोग दिने कुरा सहज होला, तर जीवन र मृत्युका बीच कठिन सङ्घर्ष चलिरहेका बेलामा पनि भोगका लागि आसक्त हुने कुरा त्यति सहज लाग्दैन । यो भोगको सिलसिला नरोक्ने हो भने कहिल्यै रोकिनेवाला छैन । यसको कुनै सीमा, बन्धन, क्षेत्र र मर्यादा छैन । भोगको धर्मलाई बुझौँ । बाँच्दा पनि अर्थपूर्ण जीवन बाँच्ने र मर्दा पनि अर्थपूर्ण जीवन मर्ने सङ्कल्प गरौँ । अन्यथा, हीरा पाउन निस्किएको एउटा कथाको मानिसभैmँ हामी पनि भोगमा फँसेर अकालमै मृत्युवरण गर्ने अवस्था आउन सक्छ ।
हीराको खोजीमा एकपटक कतै जङ्गलमा एक जना मानिस घुमिरहेको थियो । घना जङ्गलका बीचबाट गुज्रिइरहेका बेला अकस्मात् एउटा सिंहसँग उनको जम्काभेट भयो । जीवन सुरक्षाका लागि के गर्ने, कसो गर्ने भन्ने समस्यामा उनी परे । उनका खुट्टाले जति दौडन सक्थे, उनी सिंहबाट बच्नका लागि त्यति नै तीव्र गतिमा प्राण रक्षार्थ दौडिए । दौडँदादौडँदै उनी अचानक एउटा ठूलो खाडलमा पुगे । खाडलबाट बाहिर निस्केर अब प्राण बचाउने कुनै विकल्प बाँकी रहेन, उनी ठूलो समस्यामा परे ।
यदि अगाडि बढ्ने हो भने खाडलमा खसेर उनले प्राण गुमाउनुपर्छ, पछाडिपट्टि फर्कने हो भने लखेट्दै आइपुगेको डरलाग्दो सिंहको भोजन बन्नुपर्छ । समस्याको कुनै समाधान नदेखेर असहाय र हतप्रभ अवस्थामा एउटा मान्छेले के गर्नसक्छ उनले पनि त्यही गरे । खाडलनजिकै रहेको रुखको जरा जोडले समाती झुन्डिएर उनले प्राणरक्षाको अन्तिम प्रयत्न गरे । उनले सोचे, ‘जब सिंह फर्किएर जानेछ, त्यसपछि म पनि यहाँबाट माथि आउने छु र जीवन बचाउने छु ।’
तर, सिंह आफ्नो मुखैनजिकको आहारालाई के छोड्न सक्थ्यो र ! ऊ त अझ दृढ भएर एउटा छेउमा तिनको प्रतीक्षा गरेर बसिरह्यो । हीराको खोजीमा निस्किएका ती मानिसले रुखको त्यो जरोबाहेक अर्को कुनै सहारा देखेनन् । रुखको एउटा जरामा दुवै हातले समातेका छन्, शरीर तल खाडलतिर झुन्डिइरहेको छ । खाडलमा खसेपछि बाँचिने कुनै सम्भावना छैन । छेउमा अजङ्गको सिंह मुख मिठ्याउँदै बसिरहेको छ ।
यसैबीच, अन्तिम सहाराका रुपमा रहेको रुखको जरोलाई पनि एउटा छेउबाट मुसाले काट्दै गरेको दृश्य एकाएक उनले देख्न पुगे । यसपछि त उनी थप चिन्तित भए । अब जीवनको आश मार्नुबाहेक उनीसँग कुनै विकल्प शेष थिएन । जुन रुखको जरालाई समाती अन्तिमपटक जीवनका लागि सङ्घर्ष गरिरहेका थिए, त्यही रुखको माथिपट्टि हाँगामा उनले मौरीको रसिलो घार देखे । त्यो घारबाट तप्प तप्प महका थोपा पनि चुहिरहेका थिए । माथिबाट बिस्तारै चुहिएका महका केही थोपा आफ्नो मुखमा पनि पार्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्यो । दुवै हातहरु फतक्क गलिरहेका छन्, कतिखेर तल खस्ने हो थाहा छैन, तापनि महको थोपाका लागि उनले यसो टाउको घुमाएर थोपा खसेतिर मुख खोले । महको एउटा थोपो तप्प उनको मुखमा प¥यो । मुख बन्द गर्दै महको गहिरो स्वाद लिँदै त्यतिखेर उनले मनमनै भने— ‘ओहो, म कति भाग्यमानी रहेछु । महको थोपो कति गुलियो ! कति मीठो !!’
महको एक थोपा रसको आनन्दमा उनले खाडल, समातिरहेको हाँगो र नजिकै रहेको भयङ्कर सिंहलाई भुसुक्कै बिर्सन पुगे । अन्ततः समातिरहेको रुखको जराबाट फुत्किएर खाडलमा खसे र निमेषभरमा मृत्युको मुखमा पुगे । यसरी हीराको खोजीमा निस्किएका मानिसको प्राण पखेरू असमयमै उडेर गयो ।
ती मानिस मृत्युका बारेमा बेखबर थिएनन् । जीवनको अन्तिम सत्यका बारेमा उनी जानकार थिए । आपूm अत्यन्त अप्ठ्यारो अवस्थामा छु भन्ने कुराको हेक्का उनलाई राम्रै थियो । तर, एउटा महको थोपाले उनको ज्यान लियो । यद्यपि, उनी जीवनको अत्यन्त कठिन मोडमा थिए । त्यो अवस्थाबाट उम्कने कुरा सजिलो त थिएन, तर असम्भव पनि थिएन । सायद, महको स्वादको पछाडि नलागेका भए अन्य विकल्पहरु देखा पर्ने थिए र उनको जीवनको रक्षासमेत हुनेथियो ।
तर, हामी आनन्दरुपी हीरा खोज्न निस्केका मनुष्य हौँ । हीरा खोज्ने कुरा सजिलो छैन । जङ्गलका खाडलहरु भएर गुज्रनुपर्दछ । सिंहहरुसँग पौठेजोरी खेल्न सक्नुपर्दछ । यसबीचमा खुसीका सानातिना क्षणहरु पनि आउन सक्छन्, उमङ्गका थोपाथोपी पनि खस्न सुरू गर्दछन् । तर, तिनमै भुलेर स्थिर सुखलाई गुमाउन हुँदैन । हामी सांसारिक खुसीका यस्तै सानामसिना तरङ्गहरुमा सीमित भइरहेका छौँ । मृत्युको मुखमा परिसक्दा पनि सुखभोगको लालसा मर्दैन ।
मानिसको शरीर मर्दा पनि मर्न नसकेका इच्छा र आकाङ्क्षाहरु बोकेर हामी मृत्युको यात्रा गर्दछौँ । अतृप्ति र असन्तुष्टिका पोका बोकेर धर्तीबाट बिदा हुन्छौँ र फेरि सायद यसैले जन्ममृत्युको नश्वर चक्रमा फँसिरहन्छौँ । हामीले संसारलाई यहीँ छोडेर जानुछ, जान सक्नुपर्दछ । हाम्रो मृत्यु भोगमा नहोस्, प्रयोगमा नहोस् । संसारका कुरा संसारमै त्यागेर हामी मर्नसक्नुपर्छ । जीवनको प्राकृतिक मृत्युका समयमा व्यक्ति सम्पूर्णरुपमा रित्तो भइसकेको हुन्छ । उसको घर, परिवार, धनसम्पत्ति, इष्टमित्र, मान, सम्मान सबैलाई उसले त्यागिसकेको हुन्छ । शरीरमा पनि आँखाले संसारबाट प्राप्त गरेको ज्योति फिर्ता गरिदिन्छन्, कानले आवाज फिर्ता गरिदिन्छ अनि शरीरका प्रत्येक अङ्गप्रत्यङ्गले आआफ्ना वैभव त्याग गरिदिएका हुन्छन् र त्यसपछि मात्र जीवन समाप्त भएको हुन्छ ।
शरीरले सबै कुरा छोडिसक्दा पनि मनले भने अभैm चाहिरहेको हुन सक्छ । जसरी हीरा खोज्ने मान्छेले मृत्यु लगभग निश्चित छ भन्ने जान्दाजान्दै पनि महको थोपामा आफ्नो चित्तलाई अल्झाइरहे । मान्छे जबसम्म जागृत हुन सक्दैन तबसम्म त्याग्न पनि सक्दैन । जागेको अवस्थामा मात्र ऊ भोगबाट मुक्त हुन सक्दछ, बन्धनबाट मुक्त हुन सक्दछ । वासनाका दासहरुलाई भोगको अवसर नै सबैथोक हो जस्तो लाग्दछ । नैतिकता, मर्यादा, अनुशासनको कुनै डर हुँदैन । मृत्युको सामना गर्ने साहस पनि हुँदैन । मृत्युबाट भागिरहन्छन् । तर भोगको अवस्था आयो कि सबै कुृरा बिर्सन्छन् ।
कति मानिसहरु छन् जो जीवन त्याग्न तयार छन् तर रक्सी, चुरोट, मासु, मसला आदि त्याग्न तयार छैनन् । उनीहरु भन्छन्— ‘ह्या, जेसुकै होस् । खाएर मरिएछ भने मरिएछ त । आखिर जतिसुकै खानपानमा ध्यान दिए पनि एकदिन मर्नु नै छ भने खाएर किन नमर्ने ? हेरेर मर्नुभन्दा त खाएरै मर्ने नि !’ यस्तो विचार भएका मान्छेले जीवनको वास्तविकता बोध गर्न सक्दैनन् । जीवनको आनन्द त यस्ता सस्ता उपभोगका सामग्रीहरुमा कहाँ हुन्छ र ! भोगेरै मर्नुपर्दछ भन्नु त निकृष्ट चेतनाको प्रतिफल हो ।
[acharyalb@gmail.com]
Discussion about this post