भरतपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री डा.प्रकाशशरण महतले देशमा रहेका विद्यमान सबै समस्याको हल नेपाली काँग्रेसले मात्र गर्न सक्ने बताएका छन् ।
सबैका नाडी मतदाले छामी सकेकोले भ्रमको खेती गर्नेहरुमा रुवावासी सुरु भइसकेको महतले बताए । देशको समस्या पहिचान र त्यसको समाधान गर्न सक्ने खुबी जनताले काँग्रेसमा देखिसकेकोले काँग्रेसप्रति जनताको विश्वास बडेको उनको भनाइ थियो ।
यही असार ८ गते हुने चारैवटा उप–निर्वाचन नेपाली काँग्रेसका उम्मेदवारले भारी मतले जित्ने बताउँदै भ्रमको खेती गर्नेहरुलाई मतदाताले मत नदिने उनको दावी थियो । भ्रमको खेती गर्नेलाई जनताले पाता कसिसकेको बताउँदै नेपाली काँग्रेसले मतदातालाई दिएको वचन पूरा गरी छाड्ने प्रतिबद्धता जनाए ।
देशमा रहेको सुकुबासी समस्याको हल, महिला, आदिवासी, जनजातिको उत्थान र विकास, रोजगारीको श्रृजना, स्वास्थ्यमा सबैको पहुच, निःशुल्क शिक्षाको प्रबन्धका लागि नेपाली काँग्रेस दीर्घकालीन योजनामा लागिसकेकोले सबैले महसुस गर्ने गरी कार्यक्रमहरु चाडै नै आउने बताए ।
नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङले नेपाली काँग्रेसले सधैँ महिलालाई उच्च सम्मान गर्ने बताउनुभयो । नेता गुरुङले चितवन क्षेत्र नं ४ बाट दलित र जनजाति महिलालाई संविधानसभा सदस्य बनाउनु के महिलाप्रतिको सम्मान होइन भन्दै प्रश्न गर्नुभयो ।
नेपाली काँग्रेसका अर्का युवा नेता प्रदीप पौडेलले चितवनका मतदाले विकास निर्माण चाहेको र त्यसको लागि रामकृष्ण घिमिरेभन्दा अर्को उपयुक्त उम्मेदवार कोही हुनै नसक्ने जिकिर गरे । नेता पौडेलले रामकृष्ण घिमिरे प्रधानमन्त्री सुशील कोइरालाका सहयोगी भएको र उनले लगेका प्रस्तावहरु सजिलै बजेटमा पर्ने भएकाले पनि लोभ लाग्ने गरी विकास निमार्णका संरचनाहरु अगाडि बढ्ने दावी गरे ।
यो क्षेत्रका मतदातको अब भाग्य चम्कने बताउदै मतदातासँग बिगतमा जस्तै सुख दुःखमा सँगै रहन घिमिरेलाई आग्रहसमेत गरे । नेपाली काँग्रेसले आयोजना गरेको सभामा सभासद रामचन्द्र पोखरेल, पूर्व सभासद उमा रेग्मी, जिल्ला सभापति टेकप्रसाद गुरुङले सम्बोधन गरेको कार्यक्रमको सभातित्व नेपाली काँग्रेस शिवनगरका सभापति भीमबहादुर थापाले गर्नुभएको थियो ।
सो चुनावी सभामा कलाकारहरु सरिता गुरूङ श्रेष्ठ, उपेन्द्र देवकोटालगायतले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
Discussion about this post