रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा बसपार्क निर्माणको लागि जग्गा सर्वे गर्न सुरु गरिएको छ ।
रत्ननगर नगरपालिकाले स्थानीयले ओगटेको नदी उकास जग्गामा पर्यटकीय बसपार्क निर्माण गर्दैछ । स्थानीय समुदायको कब्जाबाट फिर्ता गरेर केन्द्र तथा प्रदेश सरकारको लगानीमा रत्ननगरले वडा नं ७ सिसुवारमा बसपार्क निर्माण गर्न लागेको हो ।
स्थानीयवासीले लामो समयसम्म भोगचलन गर्दै आएको जग्गा दिन मानेका छैनन् । तर, रत्ननगरका मेयर नारायण वन र वडाध्यक्ष राजन भट्टले स्थानीयवासीहरुको चित्त बुझाएर सो ठाउँमा बसपार्क निर्माण गर्न लागेका हुन् ।
केन्द्र सरकारअन्तर्गतको पर्यटन मन्त्रालयका प्राविधिकहरुको टोलीले चित्रसारी पुल नजिकको जग्गामा सर्वे सुरु गरेका हुन् । जग्गाको भौगोलिक अवस्थाको रेखाङ्कन गरी डिपिआर तयार गरेपछि बसपार्कको पूर्वाधार निर्माणको काम सुरु हुने मेयर वनले बताए ।
‘हामी स्थानीयवासीलाई चित्त बुझाएर बसपार्क निर्माण गर्ने प्रक्रियामा रहेका छौँ’, मेयर वनले भने, ‘बसपार्क बनेपछि त्यसको फाइदा स्थानीयवासीलाई नै हुनेछ ।’
करिब तीन बिघा नदी उकास जग्गामा नगरपालिकाले बसपार्क बनाउन थालेको हो । स्थानीय ८ देखि १० जनाले तीन विघा जग्गा ओगटेका छन् । उक्त जग्गा ओगटेका स्थानीयवासीको अन्यत्रसमेत निजी जग्गा रहेका कारण लालपूर्जा पाउने सम्भावना छैन ।
‘लालपूर्जा पाउने सम्भावना छैन’, मेयर वनले भने, ‘त्यत्तिकै ओगटेको जग्गामा हामीले बसपार्क बनाउँदै छौँ ।’ पर्यटकीय नगरी सौराहामा एउटा व्यवस्थित बसपार्क छैन । पर्यटनको विकासको लागि सरकारले सौराहामा सभाहल निर्माण गरिरहेको छ ।
सौराहाको विकासको लागि सुविधासम्पन्न बसपार्कको आवश्यकता भएका कारण नदी उकास जग्गामा बसपार्क बनाउन थालिएको वडाध्यक्ष भट्टले बताए । ‘बसपार्क सौराहाको लागि मात्र होइन’, उनले भने, ‘स्थानीयवासीको आयआर्जन र रोजगारीको लागि पनि कोसेढुङ्गा साबित हुनेछ ।’
Discussion about this post