भरतपुर । चितवन निर्वाचन क्षेत्र नः ४ की युवा महिला उम्मेदवार पार्वती रावलले काँग्रेसको सरकारले स्थगित गरेको गोलाघाट नारायणी नदीमाथिको पुललाई पुनः निर्माण गर्न आफूले पहल गर्ने बताउनुभएको छ ।
जनताको भावनाविपरीत पुल निर्माणको काम स्थगित गरिएको भन्दै घरवाला उम्मेदवारलाई जस्तो डेरावाला उम्मेदवारलाई आफ्नो क्षेत्रको माया नहुने बताउनुभयो । गुञ्जनगरको गाजीपुरस्थित मदन चौतारीमा आयोजित कोणसभा बोल्दै रावलले गाजीपुरलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गदै गाजीपुर गोब्रेनी आसपासको क्षेत्रलाई समेटेर एकीकृत विकास कार्यक्रम लागू गरिने बताउनुभयो ।
नारायणगढबाट गाजीपुर हँुदै गोलाघाट जाने सडकलाई मदनमार्ग नामाकरण गरी निर्माण गर्ने र भविश्यमा पितौजीघाट नारायणीमा नयाँ पुल निर्माणका लागि पहल गरिने बताउनुभयो ।
यसैबीच नेकपा एमालेले असार ८ गते चितवन क्षेत्र नम्बर ४ मा हुने उपनिर्वाचनमा पार्टीले अघि सारेको उम्मेदवार पार्वती रावलको जीत सुनिश्चित भएको निस्कर्ष निकालेको छ ।
बुधबार पार्टी कार्यालय भरतपुरमा जिल्लामा उपलब्ध केन्द्रीय नेताहरु, जिल्ला कमिटीका पदाधिकारी र क्षेत्र नम्बर ४का एमाले नेताहरुको संयुक्त बैठकले यस पटकको निर्वाचनमा उम्मेदवार रावलको जीत सुनिश्चित भएको निस्कर्ष निकालेको हो ।
बैठकमा पार्टीले क्षेत्रमा खटाएको मत सर्वेक्षण टोलीले प्राप्त गर्न सक्ने मतको आंकलनसहितको प्रतिवेदन पेस गरेको थियो । जिल्ला प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारीका अनुसार मत सर्वेक्षण टोलीले एमाले उम्मेदवार पार्वती रावलले २१ हजारभन्दा बढी मत प्राप्त गरी विजयी हासिल गर्ने प्रतिवेदन पेस गरेको हो ।
बैठकमा एमाले पोलिट्ब्युरो सदस्य काशिनाथ अधिकारीले चितवन ४मा भारतमा नरेन्द्र मोदीको झैं पार्वती रावलको पक्षमा माहोल सिर्जना भएको धारणा राख्नुभयो । अरु पार्टीले गढका रुपमा प्रचारबाजी गरेको अवस्थामा त्यसलाई भत्काउन र जनमत बटुल्ने प्रभावकारी अभियान सञ्चालन गरेकोमा अधिकारीले पार्टीका नेता कार्यकर्ता, क्षेत्र नम्बर चारका आम शुभेच्छुक र मतदातामा धन्यवाद पनि व्यक्त गर्नुभयो ।
त्यस्तै बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, एमाले उपाध्यक्ष तथा सभासद कृष्णभक्त पोख्रेलले अब पार्वती रावलको जीत हुन नसक्नु भनेको सूर्यलाई हत्केलाले छेक्छु भन्नुजस्तै भएको बताउनुभयो ।
साथै क्षेत्रमा उम्मेदवार पार्वती रावलको पक्षमा देखापरेको परिस्थितिलाई केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला उपाध्यक्ष कृष्णभक्त पोख्रेल, प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारी, सल्लाहकार सदस्य केशव देककोटासहित जिल्लाका नेताहरुको क्षेत्रमा स्थलगत अनुगमन गरेको एमालेले जनाएको छ ।
Discussion about this post