कामचलाउ सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीनदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन गएका परराष्ट्रमन्त्रीको भ्रमणलाई नेपाल र भारतमा अर्थपूर्णरुपमा हेरिए पनि उनको भ्रमणबाट त्यति ठूलो अपेक्षा भने गरिएको थिएन । यद्यपि, उनको भ्रमणलाई भारतसँग संवादहीनता तोडिएको अर्थमा भने लिइएको छ । नेकपा विभाजनको संघारमा रहेको अवस्थामा भएको परराष्ट्रमन्त्रीको भारत भ्रमणले ठोस कुराहरुमा प्रगति भएको नदेखिए पनि केही विषयवस्तुहरु सकारात्मकरुपमा अघि बढेको प्रत्याभूति भने गराएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशबीच रहेको बहुआयामिक सम्बन्धलाई थप सशक्त तुल्याउन सफल रहेको भन्दै रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण कार्यको सर्वेका लागि एमओयू अन्तिम चरणमा पुगेकाले शीघ्र काम सुरू हुनसक्ने बताउनुले भविष्यमा यसप्रति काम हुने सम्भावना बढेको छ । त्यस्तै, महाकालीमा निर्माणाधीन रहेको ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको कुराको पनि विशेष अर्थ रहन्छ । त्यसरी नै भूकम्पपछिको पुनर्निमाणमा भारतले दिएको अनुदान तथा ऋणको उपयोग गर्ने एवं परियोजनालाई अन्तिमरुप दिने विषय पनि छलफलका क्रममा उठेको बताइएको छ । अनि, नेपाल–भारतबीचको पारवहन र रेलसम्बन्धी सन्धि तथा सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने विषयमा भएको निर्णयगत अवस्था पनि एक हदसम्म अर्थपूर्ण नै रहेको देखिन्छ ।
भ्रमणका क्रममा कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका हवाई तथा स्थलमार्गहरु बिस्तारै खोल्दै जाने विषयमा भएको सहमति, हुलाकी सडकको निर्माण भैसकेका खण्डहरुको हस्तान्तरण प्रक्रियासमेत अगाडि बढाउने निर्णय र बाँकी रहेका कामहरु छिटो सक्ने विषयमा भएको छलफलले दुई देशबीच रहेको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई बढवा दिनसक्ने अपेक्षा गर्न सकिन्छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना भारतीय समकक्षी एस जसशंकरसँग दुई देशबीच रहेको सीमा विवादको समस्या समाधान गर्न तत्काल वार्ताको थालनी गर्न गरेको अनुरोध आफैँमा सकारात्मक छ । तर, नेपाल–भारत संयुक्त आयोगको बैठकअघि भएको वार्ताको क्रममा मन्त्री ज्ञवालीले सो प्रस्ताव अघि बढाए पनि आयोगको औपचारिक बैठकमा भने उक्त विषयमा सामान्य छलफलमात्रै हुनु, तर खास एजेन्डा बन्न नसक्नुले त्यो प्रक्रिया अघि बढ्ला भन्नेमा भने आशङ्का प्रकट गर्न सकिन्छ । नेपाल र भारतको बीचमा कालापानी, लिपुलेक र लिम्यियाधुराबाहेक पनि अरु सीमासम्बन्धी समस्याहरुको समाधान नभइसकेको अवस्थाले दुई देशको बीचमा बेलाबेलामा सीमामा तनावको अवस्था सिर्जना भइरहेको छ, जसलाई आगामी दिनमा सुझबुझपूर्ण तरिकाले हल गर्नुपर्ने देखिन्छ ।
Discussion about this post