रामकृष्ण घिमिरे
चितवन फेरि एक पटक राजनीतिको चर्चाको केन्द्रमा छ । आगामी असार ८ गते यहाँको क्षेत्र नं ४ मा संविधानसभाको उपनिर्वाचन हुँदैछ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले विजयी झन्डा फहराउनुभएको यस क्षेत्रमा पुनः हुन लागेको उपनिर्वाचनमा प्रधानमन्त्री कोइरालाको प्रतिनिधिका हैसियतले मतदाताको घरघरमा पुगी मत माग्दा आफूलाई गर्वको महसुस भइरहेको छ । मतदातासामु नेपाली कांग्रेसको नीति– कार्यक्रम र मैले जिल्लामा विगतमा निर्वाह गरेको भूमिका र आगामी दिनमा मेरो दायित्वका बारे मतदातासामु प्रतिबद्वता व्यक्त गरेको छु । यस बखत मतदाताहरुले दिनुभएको प्रतिक्रिया र देखाउनुभएको सहानुभूतिले हाम्रो विजय सुनिश्चित भएको आभाष मिलेको छ । त्यसलाई औपचारिकता र वैधानिकता दिनका लागि मात्रै असार ८ गतेसम्म कुर्नु परेको छ जस्तो मलाई अनुभूत भएको छ ।
नेपाली कांग्रेस र मेरा विरूद्व विपक्षी दलका उम्मेदवार साथीहरुले अनेक किसिमका भ्रम छर्नुभएको छ । इतिहासलाई बङ्ग्याउन खोज्नु भएको छ । तर, मैले विगतमा नेपाली कांग्रेसको सिपाहीको हैसियतले खेलेको भूमिका आदरणीय सचेत मतदाताहरुले भुल्नुभएको छैन भन्ने मलाई लागेको छ । इतिहास साक्षी छ ः नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै लोकतन्त्र, विधिको शासन, मानवअधिकार, राष्ट्रिय एकता, समावेशी र न्यायपूर्ण समाज स्थापनार्थ अनवरत सङ्घर्ष गर्दै आयो । विगतमा भएका जनक्रान्तिहरु २००७ साल, २०१८ साल, २०३६ साल, २०४२ साल, २०४६ साल र २०६२÷६३ सालमा भएका हरेक जनआन्दोलनहरुमा नेपाली कांग्रेसले निर्वाह गरेको नेतृत्वदायी भूमिका इतिहासमा स्वर्णाक्षरमा अङ्कित छ ।
नेपाली कांग्रेस संघीय लोकतान्त्रिक संविधानको घोषणा नहुँदासम्म देशमा शान्ति, स्थायित्व र विकासले गति लिन सक्दैन भन्ने मान्यतामा पूर्ण विश्वास राख्दछ । अतः सबै राजनीतिक दलहरुबीच समन्वय कायम गरी सामथ्र्य र पहिचानका आधारमा संघीय लोकतान्त्रिक संविधान बनाउनु परेको छ । राज्यको पुनःसंरचना गर्दै संघीयतामा जाँदा जातीय द्वन्द्व मेटिने र पहिचान भेटिने खालको संविधान बनाउन नेपाली कांग्रेस प्रतिबद्ध छ । यसका साथै शान्ति, सुव्यवस्था र विकास निर्माणका काम अगाडि बढाउनु पर्ने अभिभारा वर्तमान समयमा नेपाली कांग्रेसकै काँधमा आएको छ ।
गत निर्वाचनमा यस चितवन क्षेत्र नं. ४ बाट निर्वाचित हुनुभएका हाम्रा श्रद्धेय नेता एवम् पार्टी सभापति सुशील कोइराला प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँले चितवनको विकास निर्माणको काममा पूरापूर समय दिन नसक्ने भएका कारण मलाई पार्टीका तर्फबाट प्रतिनिधि बनाई यस क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार चयन गरिएको हो । अहिले म प्रधानमन्त्री कोइरालाकै वारेस–पात्रका रुपमा मतदातासामु उपस्थित भएको छु । गत निर्वाचनमा जसरी हाम्रा नेता कोइरालालाई विजयी गराउनुभयो, प्रधानमन्त्री बनाउनुभयो, त्यसरी नै मलाई पनि नेपाली कांग्रेस पार्टी तथा उहाँको एक प्रतिनिधि सम्झेर मतदान गर्नुहुने छ भन्ने मैंले पूर्ण विश्वास लिएको छु । हाम्रा श्रद्धेय नेता श्री सुशील कोइराला प्रधानमन्त्री बन्नु भएपछि चितवन जिल्लाको विकास निर्माणसम्बन्धी कामका लागि अरबौँको रकम निकासा भइसकेको छ र कयौँ योजनाहरु पास हुने प्रक्रियामा रहेको जानकारी गराउन पाउँदा गौरवान्वित भइरहेका छौँ ।
व्यक्तिगत रुपमा लोकतन्त्रप्रतिको मेरो निष्ठा तथा संघर्षशीलताबारे यहाँहरु स्वयं विज्ञ हुनुहुन्छ । तथापि, पञ्चायती कालरात्रिहरुमा प्रजातान्त्रिक अभ्यासको थलो वीरेन्द्र कलेजमा सदैव साथीहरुका साथ अग्रस्थानमा रहँदै आएँ । अखिलका साथीहरुबाट धेरै पटक मरणासन्न हुनेगरी पिटाइ खाएँ । राष्ट्रिय मेलमिलापको नीति लिएर हाम्रा श्रद्धेय जननायक बीपी कोइरालासहितका नेताहरु स्वदेश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मण्डले गुन्डागर्दीबाट सख्त घाइते हुनुका साथै गिरफ्तारीमा समेत परेँ । लामो कारावासपछि जेलमुक्त भई २०३५÷३६ को विद्यार्थी आन्दोलनमा सरिक हुने अवसर पाएँ । जनमतसंग्रहको घोषणापछि पार्टीको निर्देशनअनुसार बहुदल प्रचारप्रसार समितिमा रहेर बहुदलको प्रचारप्रसारमा जुटेँ । परिणामतः चितवनमा बहुदलको पक्षमा बहुमत जुटाउन हामी समर्थ भयौँ, तर दुर्भाग्य ! कम्युनिस्टको दोहोरो चरित्रका कारण राष्ट्रिय रुपमा बहुदलले विजय प्राप्त गर्न सकेन ।
यसरी नै २०४२ सालको सत्याग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पाएँ । २०४६ सालको जनआन्दोलन परिचालन गर्ने अवसर पाएँ । आन्दोलनरत दलहरुको विश्वासले २०६२÷६३ को जनआन्दोलनको संयोजक भई नेतृत्व गर्ने अवसरसमेत मलाई प्राप्त भयो । हरेक दिनका आन्दोलनहरुमा लाखौँलाख जनताको उपस्थितिले आन्दोलनलाई निष्कर्षमा पु¥यायो । चितवनवासीहरुसँग सदैव हातेमालो गर्दै आएको, सुख–दुःखमा सहभागी भइरहेको मेरो जीवनगाथा यस सहिदभूमिमा प्राणोत्सर्ग गर्ने सहिदहरुको तुलनामा केही होइन, तथापि हाम्रा श्रद्धेय नेता श्री सुशील कोइरालाको प्रतिनिधिका रुपमा नेपाली कांग्रेस चितवनका तर्फबाट क्षेत्र नं. ४ को उम्मेदवार भएको छु ।
प्रधानमन्त्री कोइरालाले चितवनवासीसामु राख्नुभएका प्रतिबद्धताहरु नै मेरा प्रतिबद्धताहरु हुन्, जसमा बृहत्तर नारायणी उपत्यका विकासको अवधारणालाई योजनाबद्ध ढंगले अगाडि बढाई नारायणी र रापती नदीको तटबन्धनका लागि गुरूयोजना तयार पारी कार्यान्वयनमा लानु परेको छ भने चितवनमा रहेका पर्यटकीयस्थल तथा विश्व सिमसार सूचीमा सूचीकृत बिसहजारी तालको संरक्षण गरी चितवनलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा अगाडि बढाउनुछ । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको उचित व्यवस्थापन गर्दै स्तरोन्नतिका साथ सेवा विस्तारमा जोड दिनु आवश्यक छ । पश्चिम चितवनको विकास योजनामा अत्यन्त प्रभाव पार्ने चक्रपथ निर्माण योजनालाई प्राथमिकताका साथ अगाडि बढाई सडक सञ्जाल विस्तार गरी आवश्यक स्थानहरुमा नयाँ सडक खोल्ने, धूले सडकहरुलाई क्रमशः योजनाबद्ध रुपमा ग्रावेल गर्दै लगिने, ग्रावेल सडकहरुलाई कालोपत्र र कालोपत्रे भएका सडकहरुको स्तरोन्नति गर्दै लगिने प्रतिबद्धताहरु कार्यान्वयन गर्ने अभिभारा पनि हाम्रो सामु आएको छ । यसैगरी, कृषि तथा वन विज्ञान विश्वविद्यालयको योजना र कार्यक्रमहरुलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता टड्कारो छ ।
जंगलको किनारमा, नहरको डिलमा तथा विभिन्न सार्वजनिक जमिनमा बसोबास गरिरहेका सुकुमबासीहरुलाई स्थायी बसोबासको व्यवस्था गर्नु आवश्यक छ । यसका लागि जनप्रतिनिधिका रुपमा सशक्त तथा दबाबमूलक ढङ्गले अगाडि बढाउने प्रतिबद्धता पुनः दोहो¥याउँछु । त्यस्तै, निकुञ्ज क्षेत्रबाट हुने वन्यजन्तु अतिक्रमणलाई रोक्न र पीडितलाई उचित क्षतिपूर्ति दिन कानुनी व्यवस्थालाई प्रभावकारी बनाइने छ । आदिवासी, जनजाति, दलित, वोटे र पिछडा वर्गको हकहितका लागि छुट्टै प्याकेज कार्यक्रम ल्याइने छ । कृषि विकासका लागि अत्यावश्यक मलखाद, बीउविजन र उपकरणको समुचित व्यवस्था गरिने छ, साथै सहुलियत र समुचित रुपमा कृषि ऋण उपलब्ध गराउन जोड दिइने छ, साथै कृषि उत्पादनलाई बजार व्यवस्थापन गरिने छ । यसैगरी, खगेरी सिंचाइ र नारायणी लिफ्ट सिंचाइ प्रविधिलाई संयुक्त परियोजनामा परिणत गरी बृहत्तर सिंचाइ आयोजनामार्फत स्तरीय सिंचाइ सुविधा उपलब्ध गराउन निरन्तर लागिपर्ने छु । यस्तै, उद्योग र कलकारखाना सञ्चालनका लागि अनुकूल वातावरण सृजना गरी जिल्लाभित्रै रोजगारका अवसरहरु सृजना गर्न विशेष प्रयास गरिने छ ।
मुलुक संघीय संरचनामा जाँदा चितवनलाई खण्डीकरण हुनबाट बचाइने छ । स्वास्थ्यका क्षेत्रमा सहिद गणेश पौडेल स्वास्थ्य चौकीको भवन निर्माणलगायत विभिन्न उपस्वास्थ्य चौकीहरुको व्यवस्थापनमा सुधार गरिने छ । साथै, भर्खर घोषणा भएको चित्रवन नगरपालिकाभित्र कम्तीमा एक सय शैयायुक्त अस्पताल निर्माणमा विशेष जोड दिनेछु । यस क्षेत्रका ऐतिहासिक, सांस्कृतिक मह¤वका मठ–मन्दिर, गुम्बा, मस्जिद, गिर्जाघर तथा धर्मशाला एवम् सत्तल, पाटी–पौवाहरुको यथोचित संरक्षण र सम्वद्र्धन गरिने छ । साथै, विभिन्न जनजातिका भेषभूषा तथा पहिचान झल्कने सांस्कृतिक संग्रहालय स्थापना गर्नु प्रमुख दायित्व ठानेको छु ।
स्थानीय विकास निर्माणका कार्यक्रमहरुका साथै नेपाली कांग्रेसका मूलभूत मान्यतालाई सही रुपमा लागू गर्न र सर्वोपरि चासोको विषय बनेको संघीय लोकतान्त्रिक संविधान निर्माणमा सक्रिय रहने मेरो प्रतिज्ञालाई साकार रुप दिनका लागि आगामी असार ८ गते हुने चितवन क्षेत्र नं ४ को संविधानसभा उपनिर्वाचनमा मेरो प्रतीक चिन्ह ‘रुख’ मा मतदान गरी तपाईंहरुकै सेवक जनप्रतिनिधि बनाउनुहुने छ भन्ने विश्वास लिएको छु ।
(घिमिरे, चितवन क्षेत्र नं ४ को संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुन् ।)
Discussion about this post